सशस्त्रको डीएसपी बताएर ठगी गर्दै हिंड्ने एक पक्राउ

सशस्त्र प्रहरी बलको डीएसपी बताउँदै स्वास्थ्य मन्त्रलयको विभिन्न पदमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ अभियुक्तमा काठमाडौंको तारकेश्वर नगरपालिका ३ का ४५ वर्षीय राजकुमार चापागाईँ छन् ।

उनले स्वास्थ्य मन्त्रालयको खरिदार, रिपेप्सनिष्ट, सहायक लेखापाल जस्ता पदमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

अभियुक्त चापागाईँले एक लाख ८५ हजार रुपैयाँ ठगेको उजुरी महाशाखामा परेको थियो । सो उजुरीका आधारमा अनुसन्धानका क्रममा पेप्सीकोलाबाट सम्झना केसी भट्टराईसँग एक लाख २० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

अभियुक्तको फोटो टाँसिएको सशस्त्र प्रहरी बलको नायव उपरीक्षकको पदको परिचयपत्र लगायतका सामग्री बरामद भएका छन् ।

उनले यसअघि पनि विभिन्न काम गरिदिने भन्दै ठगी गरेको अनुसन्धानबाट खुलेको छ । नागरिकखबरबाट