नेपालमा ४९ जनाले जिते कोरोनालाई

नेपालमा कोरोना भाइरस संक्रमणबाट निको हुनेहरुको संख्या ४९ पुगेको छ ।

बिहीबार काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचाररत चारजना नवौं दिनमा डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डिस्चार्ज हुनेमा २३ वर्षीया महिला, ३७ वर्षीय पुरुष, २५ वर्षीया महिला र २७ वर्षीय पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार यसअघि प्रदेश नम्बर १ को उदयपुरका २२, झापाका तीन र भोजपुरका एकजना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । यस्तै, प्रदेश नम्बर २ को धनुषाका १, पर्साका ३ र रौतहटका १ जना उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, बागमती प्रदेशको काठमाडौंका ३, चितवनका २ र मकवानपुरका एकजना उपचारपछि डिस्चार्ज भएका छन् । गण्डकी प्रदेशको बाग्लुङका २, प्रदेश नम्बर ५ को रुपन्देहीका १ जना बिरामी कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

सुदूरपश्चि प्रदेशको कञ्चनपुरका १ र कैलालीमा ४ जनाले पनि कोरोना भाइरस जितेर निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।