कथा : जुत्ता प्रहार !

कक्षा सातमा पढ्ने शैलेस अत्यन्त चिन्तित थियो । सधैँ लगनशील, र अनुशासित रहेर कक्षामा उपस्थित हुन्थ्यो । कक्षामा सधैँ प्रथम हुने हुँदा ऊ सबैको प्यारो पनि थियो । कसैसँग झैझगडा नगर्ने मिलनसार थियो ।

उसका बुबा पनि पढेलेखेका हुनाले गाउँमा शिक्षक थिए । बाबु पनि मिहिनेती र इमान्दार थिए । कसैको बन्धन र झुकावमा बस्न नचाहने । मानिसले सधैँ आफ्नो कर्म गर्नुपर्छ भन्ने स्वभावका थिए ।

देशमा राजनीतिक स्थिरता देखिएको थिएन । जसलेगर्दा गाउँघरमा झन अस्थिर थियो । जताततै चन्दा आतंक मच्चिएको थियो । आफ्नो संगठन विस्तार र विभिन्न विरोधका कार्यक्रमहरु गर्नु छ भन्दै केही युवा जमात गाउँघरमा चन्दा संकलन गर्नका लागि परिचालित थिए । उनीहरुले आफूलाई निकै क्रान्तिकारी ठान्थे ।

एकदिन, बिहानको समय थियो । गौतम सरको घरमा चन्दा संकलन गर्ने भन्दै दुईजना केटा उनको घरमा पसे । उनी स्कुल जानभन्दै निस्कन खोज्दै थिए । सरलाई देख्ने वित्तिकै ठाडै भन्यो तपाई नै हो, गौतम सर ?

हो, के थियो होला ? ल, भन्नुहोस् ! मै हो गौतम सर ।

हामी त यसरी संगठन विस्तारका लागि चन्दा संकलन गर्दै हिँडेका छौँ । तपाईंको नाममा ? पन्ध्र हजार मात्र राखेका छौँ, ल यो चिठी पढ्नुहोस् ।

अनि, उनले चिठी समाए र तुरुन्त पढे । अनि, आफ्नो प्रतिक्रिया उनले तुरुन्तै दिए, ‘भाइ म अहिले यत्रो पैसा तिर्न सक्दिन ? मैले पनि त आफ्नो जहान परिवार पाल्नुपर्छ । तर, दुई चार सयले हुने भए भोलि आउनु । ल, म अहिले हतारमा छु’ भन्दै उनी स्कुलतर्फ गए ।

अर्कोदिन गाउँमा व्यापक चन्दा संकलन भएको भन्ने हल्ला भएपछि पुलिसहरु घुम्न थाले । अनि, एक दुईजना शंकास्पद व्यक्तिलाई पुलिसले समातेर लगेको थियो । त्यो घटनाले गाउँ नै सुनसान भएको थियो ।

त्यसपछि कसले कहाँ के चुक्ली लगायो कुन्नि ! एक हप्तापछि दुईजना केटा साझपख उनको घरमा आए र सर हजुरसँग एकछिन गफ गर्नुछ भन्दै उनलाई घरबाट लगे । रात पनि छिप्पिदै गयो । घरमा बसेका आमाछोरा अत्तालिए । उनका लागि कही कतै खबर गर्ने साधन पनि थिएन । तर, त्यो रात उनी आएनन् ।

अर्कोदिन बिहान भयो । स्कुल जाने बेलासम्म पनि उनी आएनन् । अनि, के भयो ? किन आएनन् ? कहाँ गएका हुन् ? भनेर जताततै उनको खोजी हुन थाल्यो ? गाउँघरमा जताततै उनको खोजी रह्यो । गाउँमा कहिल्यै कसैसँग झैझगडा नभएका मिलनसार र सबैका सहयोगी थिए, गौतम सर ।

खाना खाएपछि दिउसो मध्यान्नमा घाँस, दाउरा गर्न भनेर गाउँदेखि पारिको जंगलमा गएका गाउँलेहरुले रुखमा झुण्डिएको अवस्थामा रहेको देखे । ओहो ! यी त तिनै गौतम सर होइनन् ? उनलाई चिनेपछि तुरुन्त गाउँमा खबर गरे । पुलिस प्रशासन पनि आयो । उनीहरुले खोलेर हेर्दा उनको शरीरभर चोटैचोट रहेको देखियो । उनलाई पिटेर मारेपछि रुखमा झुण्ड्याएको जस्तो थियो ।

अब, यस्तो घटना कसरी भयो ? कसले घटायो ? वास्तविकता केही थाहा पाउन सकिएन । शंका आशंकामा हरेकले आआफ्नो अड्कल मात्र गरिरहेका थिए । उनलाई घरबाट चन्दा संकलन गर्ने व्यक्तिहरुको समूहबाट नै लिएर गएको जानकारी शैलेसले गरेको थियो । यो घटनाले शैलेसमा निकै चोट पुर्यायो ।

शैलेसलाई सानैदेखि वितृष्णा जागेको थियो चन्दा संकलन गर्ने संगठनसंग । समयको क्रमसँगै क्रान्तिकारी संगठन पनि चुनावमा भाग लिने भयो । जेजसरी भए पनि उसले राम्रै स्थान हासिल गर्यो । अनि, देशको तेस्रो राजनीतिक दलका रुपमा स्थापित भयो ।

त्यो क्रान्तिकारी दलका नेता तिनै ठूल्दाई थिए । उनी निकै चतुर थिए । आफ्नो अनुकूलता भएन भने उनी जेजस्तो हथकण्डा अपनाउन पनि पछि हट्दैनथे । अनि, आफ्नो अनुकूलता देखे भने जोसँग जेजसरी भए पनि साठगाठ गर्थे । उनी मान्छेलाई उचाल्न र पछार्न निकै खप्पिस थिए ।

बिस्तारै उनले आफ्नो संगठनको भविष्य देखेनन् । अब, सधैँ आफू माथि पर्नुपर्ने । आफ्ना कार्यकर्ताको गुण्डा शैलीबाट पनि उनी तर्सिएका थिए । जसलेगर्दा भित्रभित्रै उनी एउटा विकल्प खोजिरहेका थिए ।

यस्तो अवस्थामा देशको सबैभन्दा ठूलो पार्टीसँग अब, मिल्नुपर्छ । जेजसरी भए पनि त्यसभित्र रहेर हनुमान बन्नुपर्छ भन्ने सोच बनाए । उनले आफ्ना कार्यकर्तालाई पनि राम्रा राम्रा आश्वासन दिएर मख्ख पारे ।

एकदिन उनले ठूलो पार्टीका नेतासँग भेट गर्ने निधो गरे । अनि समय पनि मिलाए । जसलाई विगतका दिनमा तर्साउने र धम्क्याउने गरेका केही व्यापारीको सहयोग लिए । उनीहरुको सहयोगमा भेटघाट गरे ।

यसरी पटक पटकको भेटघाटले अलिकति नजिक बनायो । अब, विगतमा पानी बाराबारको अवस्थामा रहेको उनीहरुलाई आउन जान पनि सजिलो भएको थियो ।

एकदिन ठुल्दाईले भने बिर्खमानजी अब त हामी सँगसँगै मिलेर जानुपर्छ । यसो गर्यौँ भने बिरोधीले कहिल्यै टाउको उठाउन सक्दैनन् । अनि, त मजाले सधैंभरि हाम्रो मात्र शासन चल्छ, होइन र ?

कुरा सान्दर्भिक नै थियो । अब, कसरी जाने त ? जान त मन थियो । तरपनि ठुल्दाईको व्यवहार बिर्खमानलाई चित्त बुझेको थिएन । तैपनि ‘लोभले लाभ, लाभले विलाप’ भनेजस्तै बिर्खमानलाई पनि यिनीहरुको साथ लिएपछि आफ्नो कुर्सी अजम्बरी नै हुन्छ किं जस्तो लाग्न थाल्यो ।

त्यसपछि बिर्खमानले पनि ठुल्दाईसँग एकीकरण गर्यो । अनि, जनता दलको नामले पार्टी संगठन विस्तार हुनेभयो ।

हिजो पानी बाराबार भएको अवस्थामा एकले अर्कोलाई दुश्मन ठानेका थिए । कसैले कसैलाई सहयोग गर्दैनथे । बरु तेस्रो व्यक्तिलाईं सहयोग गर्थे । यिनीहरु एक आपसमा कसैले कसैलाईं रुचाउदैनथे । सधैँ शत्रुपूर्ण व्यवहार गर्दथे ।

अब, बिर्खमान र ठुल्दाईको एकीकरण भए पनि त्यो कागजी मात्र थियो । उनका कार्यकर्ताको मन मिलेको थिएन । कार्यकर्ता वीच हानाहान र तानातानको अवस्था नै थियो । लडाईं हुन्छ त कुर्सीकै । यो एकताले बिर्खमानलाई घाटा थियो भने ठुल्दाईलाई फाइदा नै भएको थियो ।

ठूलो पार्ठीको नेता भएपछि ठूल्दाई दलबलका साथ एउटा कार्यक्रममा उपस्थित भएका थिए । सभाहल ठूलो थियो । कार्यकर्ताहरु उनको स्वागतार्थ उभिएका थिए । उनले आफूलाई सबैभन्दा माथिल्लो तहको नेताका रुपमा स्वीकारेका थिए । राजा महाराजाको भन्दा उनको शान कम थिएन ।

उनलाई सभाहलमा उपस्थित हुनेबित्तिकै फूलमालाले स्वागत गरियो । गलाभरि माला लिएका । बडो हर्षका साथ थोरै मुस्कान दिएर उभिएका ठूल्दाईले खुशी हुँदै गलाका मालाहरु एतारेर टेबलमा राख्दै थिए । उताबाट एकजना युवक ठाटिएर आयो । ऊ, जोश र जाँगरका साथ हात हल्लाउँदै आएको थियो, मानौं उसको स्वागतार्थ आएको हो । हातमा अबीर पनि लिएको थियो । माला र अबीरले रंगिन निकै मनपराउने ठूल्दाई पनि खुशी नै थिए ।

त्यो युवकले हातमा ल्याएको अबीर नजिकको टेबलमा राख्यो र पकेटबाट अर्को अबीर झिक्यो । अनि, उनको गलामा बेस्सरी दल्यो । चारैतिरबाट परर ताली बज्यो । मान्छेको ध्यान अर्कैतिर थियो । तर उसले लगाएको अबीर रातो नभएर कालो थियो । उनको मुख पूरै कालो भयो । अनि, उसले आफ्नो जुत्ता फुकाल्यो र उनी माथि प्रहार गर्यो । चारैतिर बेस्सरी होहल्ला भयो । उनी डरले आत्तिए । पछाडिको झ्यालबाट उनी भागे ।

त्यसपछि शैलेसलाई तुरुन्त समातेर पुलिसको जिम्मा लगाइयो । अनि, उसलाई हत्कडी लगाएर लगियो । मान्छेहरुको भागाभाग भयो ।

शैलेसलाई थुनेपछि उसलाई केरकार गरियो । उसबाट बयान लिने काम भयो । त्यसपछि मात्र उसले वास्तविकता बतायो ‘हेर्नुस् यसले मेरो बुबाको हत्या गर्न हुन्छ भने मैले जुत्ता प्रहार गरेर आफ्नो रिस पोख्न किन हुँदैन ? मैले त रिस मात्र पोखेको हूँ ।’

तिमीले यस्तो के भनेको ? वहाँ को हो तिमीले चिनेको छ ?

हो, मैले राम्ररी चिनेको छु । अनि, उसले सबै कुरा बतायो । म सात कक्षामा पढ्थे । मेरो बुबा शिक्षक हुनुहुन्थ्यो । एकदिन चन्दा माग्न केही व्यक्तिहरु मेरो घरमा आए । बुबाले म यत्रो पैसा तिर्न सक्दिन, मेरो पनि केटाकेटी छन्, परिवार धान्नुपर्छ । दुई चारसय मात्र हो भने भोलि आउनु भन्नुभयो ।

त्यसपछि यो कुरा केटाहरुले ठूल्दाईकोमा पुर्याए । अनि, ठूल्दाईले भने ए त्यत्रो ठूलो कुरा गर्दोरैछ । यो अलि जान्ने बुझ्ने छ । अब, यसले अरुलाई पनि भाड्छ । यस्तालाईं नेटो कटाउनु पर्छ भनेपछि एक हप्तापछि मेरो बुबालाई सफायन गरियो ।

तिमी भ्रममा छौ । यसको प्रमाण तिमीसँग के छ भनेर सोध्दा उसले भन्यो ‘दस पास गरेपछि म पनि त्यो पार्टीमा लाग्न बाध्य भए । त्यसपछि त्यहाँ भित्रको व्यवहार, अनैतिक व्यभिचार जस्ता कुराहरु सबै थाहा पाए । एकजना मेरो घनिष्ठ साथी विक्रम थियो । उसबाट मैले मेरो बुबाको हत्या गरिएको पूर्ण जानकारी पाएको थिए । पछि उनलाई पनि पुलिसले कता लग्यो थाहा भएन । म पनि भागेर बाँच्न सफल भए । पछि यिनीहरुले आफ्नो सिद्धान्त छोडे, फोस्रो आदर्शका कुराहरु गर्न थाले । ऐस आराम गर्ने भोगविलासी भए’ ।

त्यसपछि मलाईं भित्रभित्रै यो ठूल्दाईसँग रिस भरिएको थियो । यसैलेगर्दा मेरो बुबालाई मार्यो । त्यो घटनाले मेरो आमा पनि हट्अट्याक भएर बित्नुभयो । अनि, मेरो घरबार बिग्रियो । त्यसैले बिग्रेको मान्छेको भत्केको घर, भत्केपछि केको डर भनेर जुत्ता प्रहार गरेको हूँ । अब, यो जेलमा बस्नु परेपनि मलाई शान्ति मिलेको छ । म खुशी छु ।

 

लेखक परिचय :

नाम : नारायणप्रसाद न्यौपाने

जन्मस्थल : कालीगण्डकी ५, स्याङ्जा

ठेगाना : सुनवल १२ नवलपरासी

हाल : काठमाडौं

सम्पर्क : ९८५१०५८२९९