पानीले चुटेको त्यो पैदल यात्रा !

सरकारले यहि जेठ २० गतेसम्मको लागि लकडाउनको समयावधि थप गरेको छ । यसको मतलब जेठ २० गतेपछी फेरि लकडाउन अवधी थपिएन भने अझै १५ दिनसम्म घरभित्रै बस्नु पर्ने हुन्छ । बिगत दिनहरुमा यो समयलाई सदुपयोग गरेर मैले थुप्रै लेखहरु लेखिसकेको छु । लकडाउन डायरिको रुपमा मैले ट्रम्प देखि पशु पन्क्षिका कुरा, बनस्पतिका कुरा, स्कुलका कुरा, बाल्ययकालिन साथिहरुका कुरा शिक्षकहरुका कुरा लेखिसकेको छु । आउँदा दिनमा पनि लेखिरहने छु । यसपटक मैले दैलेख यात्राको एउटा छोटो प्रसङ्ग उठाउन खोजेको छु । यसलाई लकडाउन डायरी भन्दा पनि नियात्राको बिषय भएकाले नियात्राको रुप दिनु पर्ने हो । एकदमै छोटो यात्राको प्रसङ्ग भएकाले पनि नियात्रा भन्दा एउटा लेखकै आकार दिन चाहें । झन्डै अढाई दशक अगाडिको त्यो यात्रा मेरो जिन्दगिकै सबैभन्दा लामो यात्रा थियो । झन्डै ५६ किमि बाटो मैले एक दिनमै पैदल यात्रा गरेरै पार गरेको थिएँ । त्यसपछिका दिनमा पुरै एकदिन लाग्ने यात्रा अहिलेसम्म गर्नु परेको छैन । मैले मेरा पाठक मित्रहरुलाई सिधै मेरो सम्झनाबाट झन्डै बिस्मृत हुन थालेको त्यही घटनातिर तपाईंहरुलाई डोर्याउने अनुमती चाहें ।

सुलोचना कोईराला र सन्जु रिजाल नातामा मेरो भान्जीहरु हुनुहुन्छ । र यो त्यतिबेलाको प्रसङ्ग हो जतिबेला वहाँहरु दुबै जना दैलेखको अस्पतालमा नर्सको रुपमा कार्यरत हुनुहुन्थ्यो । कोहलपुरबाट दैलेख सदरमुकामसम्म गाडी पुग्दैनथ्यो । कहिलेकाहीं वर्षात भैईहाल्यो भने गुराँसेबाटै पैदल हिंड्नु पर्थ्यो । मौसमले साथ दिए गाडिहरु तालपोखरीसम्म पुग्दथे । दुई जना युवतीहरु मात्रै पहाड त्यो पनि अपरिचित ठाउँमा एक्लै जानू भन्दा साथमा अरु कोहि भैईदिए अनुकुल हुने ठानेरै वहाँले कसैलाई साथी पठाउन खोज्नुभएको हुन सक्छ । वहाँहरुको साथी भएर दैलेख जान भिनाजुले मलाई भन्नूभयो । यसरी मेरो निम्ति दैलेख जाने अवसर जुटेको थियो । यात्रा भनेपछी हुरुक्क हुने मान्छे म । यस लेखमा त्यहि यात्राको बिस्तृत बिवरण भन्दा पनि फर्किने बेलामा मैले जिबनमै नझेलेको प्राकृतिक बिपत्ति झेलेको थिएँ । त्यही बिपत्तिको कथा यो लेखमा उठाउन खोजेको हुँ ।

हामिहरु दैलेख अस्पताल पुग्दा साँझ परिसकेको थियो । तालपोखरीबाट पैदल हिंडेकाले पनि खुट्टा र पुरै शरीर दुखिरहेको थियो । खाना खाने बित्तिकै मैले आराम गर्न चाहेको थिएँ । दैलेखको सदरमुकामसँग मेरो पहिलो साक्षात्कार थियो । वरपर सल्लाका बृक्षहरु केही फरक दुरिमा रहेका भवनहरु, दैलेख जिल्ला अस्पताललाई अँध्यारैमा नियाले सरसरती । एउटा भवन अगाडि पुगेर हामिले आफ्ना झोला बिसायौ । खाना खाईसकेपछी सुलोचना भान्जिले आफुहरुको अफिस स्टाफसङ्ग मेरो लागि बासको प्रबन्धन गरिदिन आग्रह गर्नुभयो । ती स्टाफको पछि-पछि गएँ । उनले एउटा सानो भवन अगाडि पुगेर अडिए । सायद गेस्टरुम हो कि ? ढोका खोलेर कोठा देखाईदिए । कोठा भित्र एउटा पलङ, त्यसैमा बिस्तारा र केही फर्निचर थिए । जाँदा-जाँदै सौचालय पनि देखाईदिए । अलिक पर रहेको घर शब गृह तथा शबको पोस्टमार्टम गर्ने स्थल हो भनेर उनैले भनेका थिए । त्यतिबेला मैले ए, भनेर सामान्य तरिकाले लिए त्यो घरलाई । उनी गैईसकेपछी अफ्नो झोला टेबुलमा बिसाए । दिनभरिको यात्राले गर्दा निकै थाकेको थिएँ । भोलि बिहानै उठेर घुम्नु पर्ला । आफैसङ्ग यात्राको योजना बुन्दै निदाउने प्रयास गरे । नयाँ ठाउँ भएर हो कि, अघिसम्म मलाई झ्याकलझुकल पारेको निद एकाएक म देखि टाढिन थाल्यो ।

हिंडाईको थकानले छिट्टै निद्रा लाग्ला भन्ने मेरो अनुमान बिपरित मनमा कुराहरु खेल्न थालेपछी नजिक पर्नै डरायो निद्रा । कोठामा म एक्लै नहुँदो हुँ त मेरो मन यसरी छट्पटिने थिएन होला ? विशेष गरि अस्पताल कर्मचारिले केही दुरिको त्यो घर शब गृह हो भनेको कुराले नै मेरो निद्रा बिथोलिदिएको हो । शब गृहमा अहिले पनि कुनै शब राखिएका छन कि ? यती मात्रै के सोचेको थिएँ, मेरो निद्रा दस कोष टाढा भाग्यो । यो रातिमा कसलाई भन्ने कि म यहाँ सुत्न सक्दिन भनेर ? झ्यालबाट बाहिर नियालेंर हेरें, सल्लोका पातहरु हावामा सुस्साउदै हल्लिएका थिए । आकाशको जुन घरी बादलले छेकिन्थ्यो, घरी बादललाई झुक्याउदै उ बाहिर झुल्किन्थ्यो । घडिको सुई निरन्तर घुमिरह्यो । दस, एघार, बाह्र, एक, दुई गर्दै समय चिप्लिईरह्यो । तर आँखामा निद पर्दै परेन । त्यही भवनमा कुखुराको भाले डोकोले छोपेर राखिएको रहेछ । शब गृहको भुतले भन्दापनि कुखुराको भालेले बढी तर्सायो । पुरै रात घरी दायाँ, घरी बायाँ कोल्टे फेर्दा-फेर्दै उज्यालो भयो ।

बिहान पख आकाश बादलले डम्म ढाकिएको थियो । यस्तो बेला कुनैपनि क्षण बर्षात हुन सक्छ । सुलोचनाहरु अफिस जानुपर्छ । अनि कोसङ्ग, कता घुम्ने भनेरै मैले भ्रमणको सोच नै त्यागिदिएँ । बरु छिटो हिंडे छिट्टै पुगिएला । म जति सक्दो छिटो फर्किन चाहन्थे । सुलोचना भान्जिलाई बिहानै खाना तयार गर्न भनें । खाना खाएर म बिदा पनि भैईहालें । फेरि कुनै दिन दैलेख टेकौला भनेको अहिलेसम्म त्यो अवसर जुरेको छैन ।

हिजो दैलेख आउँदा तीन जना थियौँ फर्किदा एक्लै भएँ। सुर्खेतको गाडी भेट्न तालपोखरी पुग्नु पर्छ । बाटो नबनिसकेको अवस्थामा पैदल हिंड्नुको बिकल्प थिएन । दैलेखबाट ओरालै झरें । चुप्रा, डुङ्गेश्वर हुँदै तालपोखरी आईपुग्दा पानी पर्ला-पर्ला जस्तो भएको थियो । पहाडको मौसमको कुनै भर हुँदैन । जुन सुकै बेला बर्षिन सक्छ । तालपोखरिमा बस देखेपछी मन ढुक्क भयो । केही यात्रुहरु बसमा चढिसकेका रहेछन । पछि सिट नपाईन पनि सक्छ । म पनि बस भित्र उक्लिएर एउटा सिटमा आफैलाई बसालें थुपुक्क । दैलेखबाट तालपोखरीसम्म आईपुग्दा बेस्सरी थाकेको थिएँ । पहाडका उकाली ओरालीहरु सम्झीएँ । अब त कोहलपुरसम्मै गाडी पाईन्छ । समयमै बस हिड्यो भने उज्यालोमै सुर्खेत पुग्न पाइने कुराले ढुक्क थिएँ ।

हेर्दाहेर्दै झमझम्ती पानी पर्न थाल्यो । पानी रोकिने कुनै लक्षण देखिएन । कच्ची बाटो पानी पर्ने बित्तिकै चिप्लो हुन्छ । चिप्लो र साँघुरो बाटोमा गाडी चलाउनु निकै खतरा हुन्छ पहाडमा । दैलेखका धेरै बाटाहरु सेपिला छन । चिप्ला सडकहरु पानी पर्ने बित्तिकै धराप हुन्छन भन्ने यातायातकर्मिहरुले बुझेका छन । यात्रामा जोखिम मोल्न चाहेनन् गाडिवालाले । तपाईहरु कृपा गरेर झरिदिनुहोला ! ड्राईभर आफू पनि गाडिबाट ओर्लिए । के भन्ने के नभन्ने । बस भित्रका प्यासेन्जर ओर्लिन थालेपछी म पनि बाहिर निक्लिएँ । बसबाट ओर्लिएका केही यात्रुहरु हिंड्न थाले केही तालपोखरिमै अल्मलिए । दैलेख तिर फर्किनु र सुर्खेत झर्नु बराबर पर्छ कि ? मैले पछाडी फर्किएर आफू आएको बाटो नियालें । हिड्नुको बिक्ल्प देखिन र अगाडि बढ्ने निर्णय गरे । मान्छेहरु हिंडिरहेका थिए । छिटो-छिटो हिंड्न थालें म पनि । केही पर एकजना अधबैसे मान्छे देखें । उनी पनि म हिंडेकै दिशातिर जाँदै थिए । यत्तिको मान्छे भए यात्रामा मार्गदर्शन र सुरक्षा दुबै मिल्छ, म मनमनै उनिलाई हेरेर गुन्न थालें । मैले आफ्नो बारेमा बताएँ, उनले आफ्नो बारेमा बताए । उनी पनि सुर्खेतै हिंड्दै रहेछन । चिना परिचय भएपछी सङ्ग-सङ्गै हिंडियो । नाम सोधिनछु कि ? हामी जस्तै अरु पनि हिंड्दै थिए । कोहि हामि भन्दा अघि थिए, कोहि हाम्रा पछि-पछि आउँदै थिए ।

फेरि पानी पर्न थाल्यो । साथमा न बर्सादी छ, न त छाता नै छ । भिज्नुको बिकल्प रहेन हामीसङ्ग । भिजेरै हिडिरह्यौं । वरपर ओतिने कुनै ठाउँ थिएन न त ओत लागेर बस्ने समय नै थियो हामीसङ्ग । सुर्खेत पुग्न निरन्तर हिंडिरहनु को बिकल्प थिएन । हामी छिटो-छिटो हिंडिरहेछौं । पानी पर्न रोकिएको छैन । नयाँ बनाएको बाटो कतिपय ठाउँमा माथिबाट ढुङ्गा खस्दै थिए । सडकबाट भल बगिरहेको थियो । पहाडै खसेर च्यापिने पो हो कि ? घरी डाँडा तिर, घरी सडक तिर हेर्दै हिंडेका छौं । अलिकति तलमाथी भयो भने माथिबाट खसेको ढुङ्गा लागेर टाउको फुट्न पनि त सक्छ नि ? अनेक सोचहरु मनमा आउने जाने क्रम चलिरह्यो । हामी भन्दा अलिक अगाडी एकजना महिला एक-दुई वर्षको बच्चा बोक्दै फताताउदै रुँदै थिइन । हामिहरु जस्तै त्यो बच्चा पनि पानीले भिजेको थियो । महिला बच्चाको स्वास्थ्यको कामना गर्दै घरी-घरी पुकारा गर्थिन । मेरो बच्चा मर्ने भयो, लौन नि के गर्ने होला ? उनि छिटो-छिटो लम्किदै थिईन । त्यहाँ न कुनै सवारी साधन थियो, न त कसैसङ्ग ओढ्ने छाता नै थियो । पानी लगातार दर्किईरहेको थियो । नयाँ बाटो कतै पहिरो आएर पुरिईने पो हो कि ? बारबार मनमा पहिरो कै कुरा खेलिरहेको थियो । झरिमा रुझ्दै हिंडिरहेका बटुवाहरु हाम्रा अघिपछी उत्तिकै थिए । बाटो बिर्सिने हो कि भन्ने कुनै चिन्ता थिएन । मेरा सहयात्री जो यो बाटोमा धेरैपटक हिडेका छन । त्यसैले पनि नहराईने कुरामा म ढुक्क थिएँ ।

बाटोमा पर्ने गुराँसे, गाईबान्न, रातमाटे छिचोल्दै अघि बढ्यौ । कालो बादलका कारण साबिक भन्दा चाँडै अध्याँरिदै गएको थियो वातावरण । हामी कतै नबिसाएर हिंडिरह्यौं । शरिरका सबै कपडा भिजेका थिए । बोकेको झोला भित्रका कपडा पनि भिज्नबाट बचाउन सकिएन । चिसोले दाँत बज्दै थिए । खै कुन ठाउँमा हो, एउटा पसलमा आगो बलिरहेको देखियो । साहुजी चाउचाउ पकाईदिनुहुन्छ नि ? म आफैले सोधेँ । साहुजिले पकाउछौं भनेपछी हामी झुपडिको बाहिर राखिएको बेन्चमा बस्यौं । उनले दुई वटा चाउचाउ पकाईदिए सुप सहितको । ज्यान आयो नि त्यो चाउचाउले त ! होईन र ? मैले सहयात्रीलाई सोधेँ । म भन्दा निकै बढी उमेरका उनी पनि खुशी भए । चाउचाउको पैसा म आफैले तिरें । उनी नभैईदिएको भए मैले एक्लै कसरी यतिका बाटो छिचोल्थें होला ? तिमी त भगवानै भएर आयौ मेरा निम्ति । मनमनै आफैसङ्ग सम्बाद गर्दै हिंडिहें । हेर्दाहेर्दै झमक्कै रात पर्यो । एकाध ठाउँमा जुत्ता चिप्लिएर झन्डै भिरतिर खसिएन । रातिमा जङ्गलको बाटोको यात्रा यस्तो लाग्थ्यो कि म आफ्नो ज्यान हत्केलामा च्यापेर हिंडेको छु । यहि त हो मेरो असली सम्पत्ती ।

यात्रारत अन्य यात्रीहरु कोहि निकै अगाडी पुगिसकेका थिए कोहि पछाडि छुटे । ती महिला कहाँ पुगिन र तिनको बच्चाको अवस्था कस्तो थियो, त्यो पनि थाहा भएन । हामी हिडिरह्यौं । उज्यालोकोलागि हामीसङ्ग टर्च थिएन । अन्दाजको भरमा हामी पहाडबाट बेसि झरिसकेका थियौ । रातको ९ भन्दा बढी भैईसकेको थियो समय । चिसो र भोकले रन्थनिदै हिंडिरहे म । जिन्दगिमा सधै यस्ता कठिन पलहरु आउदैनन् । जङ्गलमा अघिसम्म जङ्गली जनावरको डर कायम थियोे । बस्तिको बाटो हिड्न थालेपछी भने कुकुरहरु जोडजोडले भुक्न थाले । बस्ती शुरु भयो अब डर हुँदैन । सायद मेरो छट्पटी र हडबडी देखेरै उनले त्यसो भनेका होलान । खरले छाएको घरमा पुर्याए उनले । साहुजी बास पाईन्छ कि ? सहयात्री आफै अघि सरेर सोधे । एकैदिनमा दैलेख सदरमुकानबाट हिंडेर सुर्खेत आईएको थियो । हिलो र पानीले गर्दा लगाएका जुत्ता हेर्न नहुने गरि फोहर भएका थिए । एउटा किशोर हाम्रा सम्मुख आए र उनले लालटिनको उज्यालोमा हामिलाई घरको माथिल्लो तलामा आउन भने । ककौराको हाम्रो घर पनि ठ्याक्कै यस्तै थियो । खरले छाएको, आँटी माटोले छापेको । लस्करै खाटहरु बिच्छ्याईएका रहेछन । एउटा छेउतिरको खाटमा म सुत्छु भनें मेरा सहयात्री अर्को खाटमा सुत्ने भए । तल झरेर खै के खाइयो याद छैन । सायद भातै खाइयो होला । झोलाका कपडा डोरिमा सुकाएँ । आफुले लगाएको सर्ट पनि सुकाएँ । फेर्ने कपडा भए पो । अघिकै भाईलाई एउटा टाबेल छ भने ल्याईदिनु भनेर अह्राएँ । उनी एकछिन है भनेर तल ओर्लिए र एकैछिनमा हातमा टबेल लिएर आईपुगे । लगाएका सबै कपडा खोलेर सुकाईदिएँ र त्यही टबेल बेरेर सुतें । रातभरी शरीर रन्किईरह्यो । घरी-घरी काम ज्वरोले शरीर नराम्ररी काम्थ्यो । बाटोमा भेटिएकी ती महिला र तिनको बच्चा सकुशल रहुन, मनमनै कामना पनि गरि रहें । यात्राको थकानले हुनुपर्छ, आज भने मज्जाको निद लाग्यो । किनकी आज म एक्लो थिईन । बिहान कुखुराको भालेको डाकले ब्युँझाएपछी उठें ।

उठेर सौचालय गएँ । कपडा पुरै नसुकेका भएतापनि तैबिसेक लगाउन मिल्ने खालका थिए । रात्री बासको ५ हो कि १० रुपैयाँ कति हो तिरियो । म बाटोमा भेटिएका साथिसङ्ग बिदा भएर आफ्नो बाटो लागें । ककौराका थुप्रै बिध्यार्थिहरु सुर्खेत पढ्थे । मेरो मिल्ने साथि कृष्ण अर्यालको डेरा मलाई थाहा थियो । दैलेख जानू भन्दा अगाडि मैले फर्किंदा तेरो डेरामा पस्छु भनेको थिएँ । म सिधै उसैको डेरा ताकेर अघि बढें । बाहिर पानी परेको पर्यै छ । टाउको उस्तै दुखेको थियो । ज्वरो पनि आईरहेको थियो । चिसोले होला । यस्तोबेलामा मासुको तातो झोलसङ्ग भात खान पाए ? बाटोमा हिंड्दै गर्दा मैले फ्रेस हाउस देखें । खसिको आधा किलो मासु किनेर म कृष्णको डेरा खोज्दै हिंडिरहे । पानी परेकोले मेसो नपाएर हो कि ? अथवा पिडाले आतिएर मेसो नपाएको हुँ, आफैलाई थाहा भएन । दुई-दुई पटकसम्म घुम्दै बिरेन्द्र चोक पुग्दा म आफैसङ्ग छक्क परेको थिएँ । बल्लतल्ल कृष्णको डेरा पत्ता लगाउन सफल भएँ । कृष्ण कोठामै भेटिंदा मलाई ढुंगा खोज्दा देउता भेटिए जस्तै खुशी लाग्यो । मलाई देखेर उ पनि निकै खुशी भयो । मैले उसलाई दैलेखबाट सुर्खेत आउँदा हिजो पाएको दुख कस्टको नालिबेली लगाएँ । आफुलाई चिसोले गर्दा टाउको दुखेको र काम ज्वरो आएको समेत बताएँ । उसङ्ग सिटामोल रहेछ कोठामै । तातो पानीसङ्ग औषधि खाएँ र उसैका कपडा लगाएर बिस्तारामा पल्टिएँ । उ खाना पकाउन थाल्यो । दैलेखमा समेत राम्रोसङ्ग निदाउन नपाएको म केही बेरमै निदाएछु । उसले मेरा भिजेका कपडाहरु पनि सुकाईसकेको रहेछ । खाना पाकेपछी उसले मलाई ब्युँझायो । कति मीठो खाना । तातो मासुको झोल र भात कति मज्जासङ्ग खाइयो । त्यसमाथी लामो समय पछि भेट भएकाले पनि निकै आत्मियता महसुस भैईरहेको थियो ।

दिउँसो पख आकाश उघ्रीयो र घाम लाग्यो । उसैले मलाई पहिलोपटक सुर्खेतको बुलबुले ताल देखाईदियो । गित सङ्गितमा ‘माया मै सानो हुनाले छुट्यो माया जाल’ भनेर देश देशावर कहलिएको बुलबुले ताल यति सानो । मैले कृष्णसङ्ग सोधें । उ फिस्स हाँस्यो । पहिलोपटक बुलबुले ताल देख्दा मलाई पनि यस्तै लागेको थियो । आफुले चिनेको फोटोग्राफर त्यतै भेटिएपछी कृष्णले नै फोटो खिचौं भनेपछी म झन खुशी भएँ । उ बेलामा फोटोको महत्व नै बेग्लै थियो । ककौरा आउँदा मेरो फोटो ल्याईदिनु नि कृष्णलाई सझाउँदै भनें । बुलबुलेबाट फर्किएपछी कृष्णले मलाई कोहलपुरको बस चढाईदियो ।

बस हिंडेपछी मात्रै उ डेरातिर फर्कियो । बाल्यकालिन साथिहरुको कुरै अर्को हुन्छ । बसमा ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’ गित बज्दैथियो । मैले दैलेखमा रातभरी डराएर नसुतेको पल सन्झिँए । शब गृह नै भएपनि त्यहाँ मरेका मान्छे न राखिने हुन । ती निर्जीव शबसङ्ग म यतिसाह्रो किन डराएको हुँला ? आफैसंग लज्जित भएँ म । दैलेखबाट हिंडेर सुर्खेत आएको, बाटोभरी पानीले चुटेको र जाडोले कामेको पलहरु सम्झिएँ । जिन्दगिमा धेरै यात्राहरु गरिएका हुन्छन । केही यात्राहरु वास्तवमै बिर्सन नसकिने हुन्छन । तिनै विर्सन नसकिने एउटा यात्रा थियो दैलेख देखि सुर्खेतसम्मको यो पैदल यात्रा ।

म सोच्छु मसङ्ग धेरै भाव छन । मलाई थाहा छ म तिनलाई मिलाएर लेख्न जान्दिन । ताना शर्मा, युवराज नयाँघरे, प्रतीक प्रधानका नियात्राहरु पढ्दा तिनिहरुको लेखन सौन्दर्य देखेर छटपटिन्छु । मैले यस्तो किन लेख्न सक्दिन आफैसङ्ग कुँडिन्छु । फेरि पनि म लेखिरहने छु ।

लेखक गैरे ब्यापारी तथा साहित्यकार हुन ।

कोरोना भाईरस संक्रमणको जोखिमसँगै लागु गरिएको लकडाउनका कारण घरभित्रै बस्न बाध्य हुनुभएका सम्पूर्ण पाठकहरुलाई लक्षित गरी हामिले ‘कडाउन विशेष’ कोलम थप गरेका छौं । लकडाउको समयमा तपाईहरुले गर्नुभएको अनुभुती हामीलाई लेखेर पठाउनुहोस । हामी तपाईको सामग्रीलाई उचित स्थान दिनेछौं ।

मृत्यु संवेदना !