साइनो भित्रको भाव भित्र हराउँदा !

फरक अर्थानुभुत हुने सात, आठ, नौ वर्णका तीन पद र सबैमिलेर एउटा गहन भाववोध नै साइनोको सौन्दर्य हो । कुनै गहना पित्तलकै भए पनि सुनौलो देखिन्छ । जलप उत्रेपछि त्यो सुन देखिइरहन सक्दैन । सुन भइरहन सुन नै हुनुपर्छ । साइनोलाई आवश्यक बाह्यतत्वको बारेमा धेरै कुरा लेखियो । देखियो । शरीर तन्दुरुस्त देखाउन सकिने भइयो भन्ने लाग्दछ आज सम्ममा । यस आलेखमा साइनोको आन्तरिक पक्ष कसरी बलियो पार्ने भन्ने एउटा धारणा सार्वजनिक गर्ने धृष्टता गर्दैछु ।

साहित्यिक अभिव्यक्तिको अपेक्षा जहिल्यै कलात्मक, बिम्बात्मक, लाक्षणिक र जीवन्त हुन्छ । सोझो र सरल भनाइ एउटा सिर्जना त हुनसक्छ । वर्णबिन्यास र आधारभूत तत्व पनि पुगेकै हुनसक्छ तर पाठकलाई पढ्दा पटकै पिच्छे झङ्कार दिन सके मात्र त्यो शसक्त साहित्य हुन सक्छ भन्ने मेरो बुझाइ हो ।

घटना विवरण, इतिहास र वृतान्त झल्काउने भाषा शैलीले साइनोको आन्तरिक शक्तिमा ह्रास ल्याउँछ । आहा र ओहो को ‘पूजा’ ले लेखनीमा उर्जा त थपिन्छ । सँगसँगै गुरुताभास पनि थपिने सम्भावना उत्तिकै रहन्छ । त्यसैले त्यसको आयु लम्ब्याउन कसि लगाइनु जरुरी देखिन्छ ।

सन्तुलित अभिव्यक्तिको अभिभाज्य विलयन पहिलो शर्त हो साहित्यको । छर्लङ्ग प्रतिबिम्ब देखाउन सक्नु यसको आन्तरिक र बलियो पक्ष हो । श्रीङ्गार, वीर, करुण, हाँस्य, रौद्र, भयानक, बीभत्स, अद्भुत र शान्त मध्ये एक वा अधिक रसको प्रयोग गर्न चुकिनु हुँदैन साइनो भित्र । आधारभूत ज्ञान भइसकेपछी त्यसभित्र भावना भर्न लाग्ने तल्लिनताले नै यसको विशिष्टता कायम गर्न सक्छ ।

साइनो देखिँदा सानो बिधा देखिए पनि यसभित्रको भाव गहिरो हुनाले बिम्ब र अलंकार प्रधान हुनाले यसको आफ्नै महत्व छ । आखिर भाव भनेको के हो त ? यसै भित्र घोत्लिनु सान्दर्भिक होला यस आलेखमा । बिम्ब प्रतीक र अलंकार बारेमा अर्को आलेखमा चर्चा हुने कुरा थाती राख्दै भावको सेरोफेरोमा जान चाहेँ ।

सामान्य अर्थमा पलपल चञ्चल रहने मन र मानसिकतामा आउने बिचार नै भाव हो । तर यसलाई अन्तरदृष्टिले हेर्दा यसको आफ्नै ब्यापकता छ । जुनकुराले बिचारलाई अनुगमन गर्छ त्यो भाव हो । त्यसलाई साहित्यमा अनुभाव भनिन्छ । भावलाई वाह्यरुपमा प्रकाशित जे जस्ता चेस्ठा हुन्छन् तिनलाई अनुभाव भनिन्छ । आँसु, पसिना, रोमाञ्चकता, अनुराग जस्ता भावहरु पनि इच्छित र अनिच्छित गरि दुई प्रकारका हुन्छन् । इच्छित अनुभाव साधारण र वाह्य हुन्छ । अनिच्छित अनुभाव सात्विक र आन्तरिक हुन्छ ।

इच्छित अनुभाव : आँङ्गिक (अङ्ग सम्बन्धि), वाचिक (बोली अनुसार), आहार्य (आहार अनुरुप) र सात्विक (सर्वगुणी) गरि चार प्रकारका हुन्छन् ।

अनिच्छित अनुभाव : स्तंभ (खम्बा, आधार), स्वेद (पसिना), रोमांच, स्वरभंग (स्वर सम्बन्धि विमारी), बेपथु (कम्प), वैवर्ण्य (विवरण युक्त), अश्रु र प्रलय गरि आठ प्रकारका हुन्छन् ।

उल्लेखनीय बाहेक साहित्यको संरचना गरिँदा मुख्यतया एघार स्थायी भावहरु प्रक्षेपित हुन्छन् सर्जक द्वारा । रति (काम, प्रेम), हास, शोक, उत्साह, क्रोध, भय, जुगुप्सा (निन्दा, आलोचना), विस्मय, निर्वेद (घृणा, ग्लानी), वात्सल्य र भक्ति (ईश्वरीय प्रेम) को सेरोफेरोमै सबै साहित्यका बिधा लेखिन्छन् ।

यी सम्पूर्ण भावहरु पनि आलम्वनगत र वाह्य हुन्छन् । आलम्वनगत अर्थात विषयगत भावको प्रमुख भूमिका हुन्छ साहित्य लेखनमा । मनमा खेलीरहने अनेक विचारहरु लिपिवद्द हुनु पुर्व हामिमा यस विषयमा हेक्का नभएको हुनसक्छ । यसरी तुलबुल भैरहने भावलाई सञ्चारी भाव भनिन्छ ।

सञ्चारी शब्दको अर्थ हुन्छ, सँगसँगै हिंड्नु व सञ्चरणशील हुनु । सञ्चारी भाव स्थायीभावका साथमा सञ्चरित हुन्छ । सञ्चारी भावलाई व्यभिचारी भाव पनि भन्ने गरिन्छ । अनगिन्ती मनका संवेगहरू जुन क्षणक्षणमा देखिने र लोप हुने प्रवृत्तिका हुन्छन्, तिनीहरूलाई व्यभिचारी अथवा सञ्चारी भाव मानिन्छ, अथवा स्थायीभावलाई परिपुष्ट तुल्याउन थोरै समय उपस्थित भएर तुरुन्त विलुप्त हुने भावलाई व्यभिचारी भाव वा सञ्चारी भाव भन्दछन् । यिनीहरू पानीकातरङ झैं अस्थिर हुने हुनाले यिनले स्थायी भावलाई आस्वादन अवस्थामा पुर्याउन सहयोगमात्र गर्नसक्छन् । यस भावमा प्रत्येक स्थायीभावका साथमा त्यस अनुकूल भई हिंड्ने सामर्थ्य हुन्छ, त्यसैले यसलाई व्यभिचारी भाव समेत भनिएको हो । संचारी अर्थात् व्यभिचारी भाव ३३ किसिमको हुन्छ, निर्वेद, ग्लानि, शङ्का, असूया (अर्काको गुणदोष देखाउने), मद (धनको घमण्ड), श्रम, आलस्य, दीनता, चिन्ता, मोह, स्मृति, धृति (ग्रहण, धारण), व्रीडा (लज्जा), चापल्य (अस्थिरता), हर्ष, आवेग, जडता, गर्व, विषाद, औत्सुक्य (उत्सुकता, जिज्ञासा), निद्रा, अपस्मार (छारेरोग), स्वप्न, प्रबोध (अल्पज्ञता), अमर्ष (असहनशीलता), अवहित्था (भावलाई दमन गर्नु), उग्रता, मति, व्याधि, उन्माद, मरण, त्रास र वितर्क हुन् ।

यीनै भावको परिधिभित्र हामी खेलीरहेका हुन्छौं । एउटा सानो साइनो भित्र विशाल काव्य लुकेको हुन्छ । हुनुपर्छ । यो साइनोको वस्तुगत तथ्य हो । यसलाई साइनो सर्जकले नकार्न सक्दैन । दैनिक साठी हजार भन्दा बढी मनमा खेल्ने सबै भाव कविता हुँदैनन् । हरेक कविको मानसमा सङ्ग्रहित विम्बहरु फरक हुन्छन् । मौलिकताको मुहान भिन्न हुनु स्वभाविक हो । सिर्जनशील तनावमा होमिइ खारिएर आएका रचनाले नै सहि अभिभावक पाउन सक्छ ।

अन्ततः एउटा साइनो
लगत बढाइयो
आदतमा च्यापिएछु
तदर्थ सम्झेर नछोड ।

विष्णु पादुका
कोहलपुर-४, बाँके

त्यो अलिखित ‘प्रेम कथा’

साइनोमा विम्बको प्रयोग !