मृत्यु संवेदना !

म जन्मिदा
मसङ्गै जन्मियो
मेरो मृत्यु पनि

म सदृश्य छु
उ अदृश्य छ
म भागेको छैन
उ थाकेको छैन

बर्षौ बर्ष देखि
हाम्रो लुकामारी
चलिरहेकै छ ।

कहिले ज्वरो बनेर
कहिले खोकी बनेर
उसले ईशारा गर्छ
म मुस्कुराई दिन्छु

हामी बिच झगडा छैन
हामी बिच लफडा छैन
हामी दुबैलाई थाहा छ
अन्तिम बिजेता उ हुनेछ ।

– जगत हमाल

 

जति-जति मनमा मृत्युको बारेमा कुराहरु खेल्न थाल्छन जगत जिको यो कबिता झल्झली सम्झिन्छु । प्रत्येक मान्छेको जन्मसङ्गै मृत्यु पनि जन्मिएको हुन्छ र जिबनमा पटक-पटक मान्छेलाई उसले मृत्युको भय र आहट दिईरहेको हुन्छ । मान्छेहरु सबैलाई एकपटक मर्नुपर्छ भन्ने थाहा छ । तर उ सहजै र सजिलै मर्न चाहदैन । मर्नै पर्छ भने हरेक मान्छे सकेसम्म आफ्नो ठाउँमा, आफन्तहरु भएको ठाउँमा मर्न चाहन्छ । आफू मरेपछी आफ्नो दाहसंस्कार राम्रोसङ्ग होस, धेरै भन्दा धेरै मानिस मलामी आउन भन्ने चाहना र अपेक्षा राखेको हुन्छ । तर कोरोनाबाट मरेकाहरुको शब न आफन्तले छुन सक्नेछन न त अङ्गालो हालेरै रुन सक्नेछन । पुरै देश लकडाउनमा घर भित्र बसेको बेलामा सहज मृत्यु भएकाहरुले पनि यो समयमा मलामी पाउँछन् पाउदैनन् यसै भन्न नसकिने अवस्था छ । कोरोना त्रासले विश्वको नियमिततालाई पुरै खल्बल्याईदिएको छ । सपनामा पनि कल्पना नगरेको जटिल मोडमा उभ्याईदिएको छ कोरोनाले हामीलाई ।

यतिबेला मृत्यु रुघा-खोकी, टाईफाईड, जन्डिस, क्यान्सर भन्दा पनि निकै डरलाग्दो स्वरुपमा विश्वयात्रामा निक्लिएको छ । कुनै भुगोल कुनै देश कुनै सहर नछोडेर उ फुक्काफाल घुमिरहेको छ र हामी घरभित्र छौ लकडाउनमा । उसको तान्डब नृत्य कहिले रोकिन्छ र पृथ्बिका सबैभन्दा बुद्विमानी प्राणी मान्छेले कहिले राहतको श्वास फेर्न पाउनेछन भनेर अहिलेसम्म कसैले केही भन्न सकेको छैन ।

कसैले चाहेर पनि यो समस्या छु मन्तर हुन सक्दैन । यो विश्वब्यापी समस्या हो । प्रकृतिले कुनै पनि प्राणिलाई आफ्नो सिमा भन्दा बाहिर जाने अधिकार दिएको छैन । मान्छे पनि प्रकृतिको एउटा हिस्सा हो । तर मान्छेले आफ्नो सिमा र मर्यादा उल्लंघन गरेको सजाय भोग्दैछ भन्ने तर्क अघि सार्दैछन वातावरण बिदहरु । अवस्य पनि मान्छेले आफुलाई सुधार्नेछ भनेर विश्वास गरौ । विश्वास भन्दा ठूलो केही छैन यो संसारमा ।

कुनै पनि सरुवा रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्न माध्यम चाहिन्छ । तर कोरोना फैलिन कुनै माध्यम चाहिदैन यो त संक्रमीत मान्छेबाट स्वस्थ्य मान्छेमा सर्दछ । र यसको संक्रमण दर अकल्पनीय छ । कोरोना संक्रमीत मान्छेको फोक्सोले काम गर्न छोडेपछि मान्छेको मृत्यु हुने चिकित्सक को भनाई छ । कोरोनाले सिर्जित मृत्यु भन्दा पनि यसले विश्व भर पारेको मनोबैज्ञानिक त्रास बढी छ । मानिसहरु डिप्रेसन र मानसिक रोगी हुने खतरा बढाईदिएको छ । मृत्युसङ्ग डराएर भाग्ने ठाउँ कतै छैन । मृत्युबाट बचाउन कोहिले सक्छ कि भनी मान्छेले ईश्वर र धर्मको आविस्कार गरे । तर आज ती पनि मान्छे नजाँदा निरीह खंडहर भएका छन । अहिलेसम्म मानिसलाई मृत्युको मुखबाट कसैले जोगाउन सकेको छैन । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र बैज्ञानिकहरु आ-आफ्नो क्षेत्रमा जुटेका छन । संचारकर्मीहरु निरन्तर सुचना सम्प्रेषण गर्दैछन ।

पहिले र अहिलेको अवस्था पुरै फेरिएको छ । अस्पतालमा चहलपहल घटेको छ । जसै विश्वभर कोरोना संक्रमण बढ्दै गयो त्यही अनुपातमा मृत्युको दर घटदै गएको छ । स्थानीय स्तरका मेडिकलमा समेत उपचार गर्न आउने बिरामीको संख्या मा भारी कमि आएको छ । सडक दुर्घटनाको दर घटेको छ । औसतमा अगैया घाटमा आउने शवको संख्यामा पनि कमि आएको छ । अगैया कोहलपुर क्षेत्रको मसानघाट जहाँ मान्छे मर्दा दाहसंस्कारको लागि लगिन्छ । हरियो जङ्गल, पहाडको स सानो थुम्को अनि राप्ती नदिमा सङ्गलिएको जलाशयको बगरमा यश क्षेत्रका शव दाहसंस्कार गरिन्छन ।

छिमेकी आफन्त वा परिचितहरुको मृत्युमा सहानुभूति ब्यक्त गर्न म पनि धेरै पटक बबई, अगैया, मान खोला, बर्दियाको भादा या नेपालगन्ज पूर्वको सिधनिया घाट पुगेको छु । स्वभाबिक रुपमा मान्छेको मृत्युमा संबेदित भैईन्छ, मौन भैईन्छ । सबैभन्दा धेरै मलामी अगैयाघाट गैईएको छ । कोहलपुर देखि झन्डै ४० किलोमीटर दुरिमा पर्ने अगैया कोहलपुरको लागि पायक पर्ने मसान घाट हो । अगैया जाने बाटोको अधिकाशं हिस्सा बाँके राष्ट्रिय निकुन्जसङ्ग जोडिएको छ । वर्षौदेखी शव जलाउने दाउरा यहि बनबाट आपुर्ती हुँदै आएको छ । जङ्गलमा बस रोकिएपछि सबै मलामी आफुले सकेअनुसारका काठ दाउरा बोकेर बसको हुडमा राखेर अगैया लैजाने यहाँको पुरानो चलन हो । घाटमा चिता बन्दै गर्दा यता मलामिको नाम टिप्ने क्रम चलेको हुन्छ । शव चितामा जलाउनु अघि मृतक राजनीतिक ब्यक्तित्व रहेछन भने उनको जिबनी सुनाउने र उनिप्रती मौन धारण गरि दाग बत्ती दिईने गरिन्छ । चितामा आगो सल्कने बित्तिकै धेरै मान्छे फर्किईहाल्छन । त्यहाँबाट फर्किएकाहरु अगैया पस्ने र टन्न मदिरा र माछा खाने एउटा संस्कार नै भएको छ । धेरै जसो माछा मासु खानकै लागि अगैया पुगेका हुन्थे । एक काम दुई पन्थ । मलामीमा गणना पनि हुन पाईने अर्कोतिर माछा मासु र मदिराको धित मार्न पनि पाईने । जिन्दगिमा धेरै ठाउँमा धेरै पटक मलामी गैईयो । तेह्र दिनमा एक्यवद्धता जनाउन भेटी लिएर गैईयो र उम्कने दिन पितृ प्रसाद ग्रहण गर्न पनि गैईयो । कतिपय ठाउँमा मृतकसङ्ग जिन्दगिका सम्झनाहरु जोडेर शोक पुस्तिकामा सहानुभूति पनि पोखियो होला । मैले केही ब्यक्तिहरुका बारेमा मृत्यु पछि लेखिने एबिच्युरी समेत लेखिदिएको छु स्थानिय मिडियामा ।

राजनितिक ब्यक्तित्व वा ब्यापारिको मृत्युमा पुरै कोहलपुर उल्टिएको पनि देखियो । कतिपटक त अत्यन्तै न्यून मलामिहरुसङ्ग पनि घाट पुगिएको छ । कोहलपुर मात्र होईन सबैतिर मृत्यु पछिका कर्म यसैगरी निर्वाह गरिदै आएका हुन । वर्षौ देखि यसैगरी चल्दै आएको थियो । मुस्लिम, क्रीस्चियन, हिन्दु धर्मावलम्बिका मृत्यु संस्कारका आ-आफ्नै सस्कार भएपनी यसैगरी मृत्यु पछिका कर्महरु चल्दै आएका थिए ।

मात्र केही महिना अघि कोरोना महामारिमा युरोप तथा अमेरिकामा ठूलो संख्यामा मानिसहरु मरे । आँखाले देख्न नसकिने अत्यन्त सूक्ष्म जिबाणु कोरोना भाईरस पैसाबाट समेत सर्छ भन्ने थाहा पाउँदा आतंकित हुनु स्वभाविकै हो । मरेको शवबाट पनि किटाणु सर्न सक्ने हुनाले मृतकको अन्तेष्टी अत्यन्त सजगताका साथ गर्नु पर्ने, मृतकको लास अफन्तले छुन र आफूसङ्ग लान नपाईने, मलामी जान नपाउने जस्ता कुराहरु युरोप अमेरिकाबाट सामाजिक संजालमा व्यापक रुपमा फैलिएका थिए । युरोप अमेरिकाका मृत्युका नौला-नौला खबर सुनेर आत्तिएको नेपाली समाज जब आफ्नै टोलमा त्यही प्रकारका मृत्यु देखिन शुरु गरेपछी अत्तालिन थालेको छ । नेपालमा पनि दिनप्रतिदिन कोरोना संक्रमीतको संख्या उकालो चढ्दै छ । यहि क्रममा नेपालमा पनि दुई जना कोरोना संक्रमीतको मृत्यु भैईसकेको छ ।

नेपालमा कोरोना संक्रमण भएर ज्यान गुमाउने पहिलो ब्यक्ती सिन्धुपाल्चोककी एक महिला छिन । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ की ती महिला मृत्यु भन्दा आठ दिन पहिला त्रीबी शिक्षण अस्पतालमा शुत्केरी भएकी थिईन । अस्पताल बाट डिस्चार्ज भएर आफ्नो माईती बाह्रबिसे पुगेकी उनी स्वास्थ्यमा जटिलता आएपछी पुन काठमाडौं अस्पतालमा भर्ना भएकी थिईन । चेकजाँचको क्रममा उनिमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । आफ्नो नाबालक बच्चालाई छाडेर उनी यो धर्तिबाट बिदा भईन । बिडम्बना भनौ उनको शव बोक्न कोहि तयार भएनन् । मुस्किलले दुई जना युवा उनको शव उठाउन तयार भए र सोही राति उनको पशुपति आर्यघाटमा रहेको बिद्युतिय शवदाह गृहमा अन्तिम संस्कार भयो ।

त्यसैगरी बाँके जिल्लामा अर्का एक युवकको कोरोना संक्रमण बाटै मृत्यु भयो । नरैनापुर गाउँपालिका ५ नयाँ बस्तिका २५ वर्षिया युवाको मृत्यु भएपछी उनको शवलाई गाउँ नजिकै गाड्न खोज्दा गाउँलेहरुले बिरोध जनाए । त्यसपछी गाउँ देखि झन्डै एक किलोमीटर दुरिमा रहेको राप्ती नदिको किनारामा डोजरको बकेटमा राखेर उनको शव पहिल्यै तयार गरिएको खाडलमा हालेर पुरियो । दाहसंस्कार गर्नुपूर्व चिकित्सकहरुले उनको शव लाई प्लास्टिकले र्‍यापिङ्ग गरेका थिए भने शव हाल्न खनिएको खाडलमा किटाणु मार्ने बिषादी छरिएको थियो । कोरोनाबाट मृत्यु भएका यी दुई मृत्युलाई नजिकबाट नियालिरहेका नेपाली जनता बिदेशको जस्तो बिकराल अवस्था स्वदेशमा नफैलिओस भनेर कामना गर्दैछन ।

२०७७ जेठ ५ गते अबेर रातीसम्मको तथ्यांक हेर्दा बाँकेको नरैनापुरमा ६८ र नेपालगन्जमा २५ गरि कुल ९३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये २५ जनाको खजुरामा ८ जनाको दाङ्गमा उपचार हुँदै छ । आज नरैनापुरबाट २३ जनालाई नेपालगन्ज स्थित लायन्स डेन्टल हस्पिटलमा र बाँकी ३६ जनालाई खजुरास्थित क्यान्सर अस्पतालको आईसोलेसन कक्षमा उपचार गर्ने भनिएको छ । अहिलेसम्मको तथ्यांक हेर्दा बाँके जिल्ला कोरोनाको हट स्पट बनेको छ र आउँदा दिनमा बाँके जिल्लाले थप चुनौती बेहोर्ने निश्चित छ । एक त मध्यपश्चिमका पहाडी जिल्लाको प्रवेशद्वार अर्कोतिर घना बस्ती र जनघनत्वका कारण पनि अलिकती लापरबाही हुने बित्तिकै बाँके जिल्लाबाट महामारी फैलिन सक्छ । त्यसैपनी हामीसङ्ग प्रयाप्त रुपमा क्वारेन्टाइन र आईसोलेसन कक्षहरु छैनन्, न त अत्यावश्यक टेस्ट कीट वा पिपिईहरु नै प्रयाप्त छन । कोरोना संक्रमीतको संख्या बढ्दै गयो र मृत्यु दर बढ्न थाल्यो भने बिरामी र मृतकको शव ब्यवस्थापन जटिल हुन सक्छ । त्यसैले पनि जिल्लाका सबै निकायहरुको सहकार्य र आपसी तालमेलबाट समस्या सहजीकरणको प्रयास जारी रहनु पर्दछ ।

सरकारले कोरोना संक्रमीत ब्यक्तिको मृत्यु भएपछी शव ब्यवस्थापन गर्ने सम्बन्धमा पनि नीति नियम बनाएको छ । जसअनुसार संक्रमीत ब्यक्ती जुन सुकै धर्म सम्प्रदायको भए पनि शव जलाएर दाहसंस्कार गरिने छ । शवको प्लास्टिक र्‍यापिङ्ग देखि चिकित्सक र शव दाह संस्कारमा सहभागी हुने जो कोहिले अनिवार्य रुपमा पिपिई मास्क पन्जा र गगल्स लगाउनु पर्ने, आफन्तले शव छुन नपाउने र सरकारले तोकेको ठाउँमा शव जलाउने प्रावधान रहेका छन ।

देशब्यापी रुपमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको अवस्था हेरेर सरकारले जेस्ठ २० गतेसम्मको लागि लकडाउनको समय थप गरेको छ । आज देखि कोहलपुर क्षेत्रमा मेडिकल र दुग्धजन्य ब्यवसाय बाहेकका सबैखाले ब्यवसाय बन्द गर्न र सडकमा मोटरसाइकल लगायत कुनै पनि सवारी साधन नचलाउन प्रशासनले उर्दि जारी गरेको छ । हिजोअस्ती भन्दा आज कोहलपुरको स्थिती धेरैहदसम्म शान्त पनि छ । खजुरा क्षेत्र त पहिल्यै देखि शान्त छ । हिजोअस्तिको तुलनामा नेपालगन्ज पनि आज शान्त रहेको नेपालगन्जका संचारकर्मी झलक गैरेको भनाई रहेको छ । नरैनापुरलाई भने पुरै शिल गरिएको छ । मृत्युको डर त सबैलाई हुन्छ नि । वर्षौ देखि बसिरहेको ठाउँमा महामारीको प्रकोप भित्रीएपछी बाँकेबासी आतंकित बन्नु सवभाबिकै हो ।

कतै पढेको थिएँ, हावा हुरि, आँधी तुफान, अनिकाल, महामारी सहने मान्छेले नै हो । मान्छेलाई मृत्यु हुन्छ भन्ने थाहा छ त्यसैले त आफ्नो जातिलाई पृथ्वीमा टिकाई राख्न उसले अनेक आविस्कार र अन्वेषण गरिरहेको हुन्छ । मान्छे भोलिका लागि आज काम गरिरहेको छ । मान्छेले हिजोको दिनमा पनि महामारी झेलेकै हो । र आफ्नो अस्तित्व टिकाईरहन सफलता पाएको छ ।

मृत्युको अस्तित्व छ, मृत्युले हामिलाई एकदिन परास्त गर्छ र पनि हामी मृत्युसङ्ग नडराएरै भोलिको लागि काम गर्नु छ भोलिको लागि बाँच्नु छ । कोरोनासङ्ग डराउने होईन सुरक्षित बस्ने हो ।

लेखक गैरे ब्यापारी तथा साहित्यकार हुन ।

कोरोना भाईरस संक्रमणको जोखिमसँगै लागु गरिएको लकडाउनका कारण घरभित्रै बस्न बाध्य हुनुभएका सम्पूर्ण पाठकहरुलाई लक्षित गरी हामिले ‘कडाउन विशेष’ कोलम थप गरेका छौं । लकडाउको समयमा तपाईहरुले गर्नुभएको अनुभुती हामीलाई लेखेर पठाउनुहोस । हामी तपाईको सामग्रीलाई उचित स्थान दिनेछौं ।

म हिंडेको बाटो