म हिंडेको बाटो

सफलताको बाटो जहिल्यै पनि बन्दै गरेको अवस्थामा हुन्छ, जुन कहिल्यै पूरा हुँदैन भनिन्छ । जिन्दगी भन्नू पनि त्यस्तै हो कि, हामी सधै सपनाहरुकै बाटो पच्छ्याईरहेका हुन्छौं । भनिन्छ, हामी सधै बाँच्ने तयारीकालागि काम गरिरहेका हुन्छौ तर आरामसङ्ग बाँच्न भने कहिल्यै पाउदैनौं । सुख, समृद्वी र खुशी जम्मा गर्ने ध्याउन्नमा हामिले वर्तमानका खुशिहरु कुल्चिएका हुँदा रहेछौं । भबिष्यमा आराम पाउने आशमा वर्तमानमा एक पल विश्राम नगरी निरन्तर कुदिरहेका छौं । भोलि पाउने सुखकालागि वर्तमानका सुखहरु गुमाउनु जायज हो र ? कोरोना लकडाउनमा एकोहोरो घरभित्रै बसिरहँदा यस्तै-यस्तै प्रश्नहरु खेल्छन मनभित्र । सोच्छु, दैनिक रुपमा हिंडिरहेका स-साना बाटोहरु नै जीवन हुन । जहाँ बाटो छ त्यहाँ जीवन छ । मान्छेको जिबनकालमा अनेक खालका बाटोहरु स्वागतमा बसेका हुन्छन । बाटोहरु पनि दुई थरिका हुन्छन, राम्रो बाटो र नराम्रो बाटो । देखिएका सबै बाटोहरु राम्रा हुन्छन भन्ने पनि हुँदैन । नरामा ठानिएका सबै बाटोहरु, नराम्रै हुन्छन भन्ने पनि हुँदैन । बाटो भनेको बाटो हो । बाटोमा हिंड्ने बटुवाहरुको सचेतता, निरन्तरता र चनाखो पनले मात्र उ हिंडेको बाटोले एउटा ठोस परिणाम दिन सक्छ । हरेकको जिन्दगिमा थोरै बाटोहरु मात्र यस्ता आउँछन, जो कठिन हुन्छन र पनि यात्रीहरुलाई गन्तब्यमा पुग्न सहयोग गर्दछन । धेरै जसो बाटोहरु अल्मल्याउने खालका हुन्छन । जिन्दगिको सहि बाटो चिन्नु पनि जिन्दगी चिन्नु रहेछ । आजको लकडाउन डायरिमा बाटोकै बारेमा घोत्लिन मन लाग्यो । मेरो जिन्दगी साढे चार दशकको उमेर यात्रामा छ । कुनै महामारी अथवा दुर्घटना र अप्रत्याशित रुपमा स्वास्थ्यमा अवरोध नआएमा अझै केही वर्ष बाँचिएला पनि । हिंड्नु पर्ने बाटोहरु अझै धेरै नै बाँकी छन । जिन्दगिका बाटाहरु प्रती मेरा आफ्नै अनुभव छन । अक्सर अप्ठेरा र जटिल बाटोहरुले मात्रै जो कोहिलाई सहज तरिकाले गन्तब्यमा पुग्न मद्दत गर्दछन । कहिलेकाँही यस्तो पनि लाग्छ हामी जिन्दगिभर निकै बाटोहरु हिड्यौं भन्छौ तर वास्तविकतामा कहिँ पनि पुगेका हुदैन रहेछौं । बिगतमा म हिडेको बाटोलाई सम्झिने प्रयास गर्दै छु । कथा मेरो बाल्यकाल ब्यतित भएको ककौराबाटै शुरु हुन्छ ।

ककौरामा धेरै किसिमका बाटाहरु थिए । एउटा बाटो जङ्गल तिर जान्थ्यो । गाई बस्तु चराउन जाने, दाउरा र घाँसपात गर्ने अनि सुत्ने खाट, सामान राख्ने दराज र घर बनाउने काठ (गिन्डा) ल्याउन जङ्गल जाने बाटो त्यही थियो । एउटा बाटो स्कुलको गेटमा ठोक्किएको थियो । हाम्रो घर देखिको सबैभन्दा छोटो बाटो त्यही थियो । अध्ययन क्रममा मैले ककौरामा सबैभन्दा बढी हिंडेको बाटो पनि यहि हो । गाउँको दक्षिणी सिमाबाट एउटा बाटो दमौली कन्ठपुर रानिपुर हुँदै बलैईगाउ पुग्थ्यो । हाम्रा घरायसी आवश्यकताका नुन, तेल, चिनी, भेलिहरु त्यहीँबाट आउथ्यो । एउटा बाटो गाउँको उत्तरी सिमा हुँदै चुरे पहाडतिर तन्किन्थ्यो जहाँबाट घर छाउने खर र हत्यौरी बाट्ने बनकस आउँथ्यो । औषधि उपचार गर्न जानकालागि दुई वटा बाटा थिए । एउटा बाँसगढी हुँदै हाउपुर तिर र अर्को संखरिया हुँदै झुडिया तिर लाग्थ्यो । ज्वरो, टाईफाईड, झाडापखाला लाग्दा बुवाले हामिलाई हाउपुर लैजानुहुन्थ्यो भने घाउ खटिराको चिरफार गर्दा झुडिया लैजानुहुन्थ्यो । ककौरामा पक्की बाटो आएपछी भने त्यसले ककौराका मानिसलाई सहज रुपमा नेपालगन्जसङ्ग जोडिदिने काम गर्यो । ककौरामा अनेक बाटाहरु थिए । सानाठुला हरेक बाटोहरु कहिं न कहिं मुल बाटोसङ्ग जोडिएकै हुन्छन । एउटा बाटो लक्ष्मना कटेर भादा नदि तरेपछी गुलरिया पुग्थ्यो । गुलरिया बर्दियाको जिल्ला सदरमुकाम भएकाले पनि धेरैजसो प्रशाशनिक काम गर्न गुलरिया पुग्नै पर्ने हुन्थ्यो । हाम्रो घर अगाडिको बाटो हुँदै धान कुटाउने मिल पनि पुग्न सकिन्थ्यो । साप्ताहिक हाटबजारहरु बैदी, लक्ष्मना, बेलवा दमौली समेत त्यही बाटोबाट पुगिन्थ्यो ।

जहिले पनि मलाई आरक्षको बाटो लुकेर कटिहाल्नु पर्छ भन्ने लाग्थ्यो । हामिलाई अग्रज गोठालाहरुले त्यही भनेर सिकाएका थिए । उनिहरुले फारलाईमा आर्मिहरु लुकेर बसेका हुन्छन र आरक्ष भित्र प्रबेश गर्ना साथ गोलि हानेर मार्न सक्छन भन्ने डर मनमा भरिदिएका थिए । त्यसैले पनि होला आरक्ष भित्र पस्न सधै डर लाग्थ्यो । बालसुलभ डर या कौतुहलता भनौ फारलाईन कट्दा यताउता हेरेर हामी चार हात खुट्टा टेकेर पार गर्थ्यौ ।

गाउँ घरमै पनि अनेक थरिका बाटाहरु देखियो र हिंडियो पनि । खेतका आलि माथी बनेका बाटोहरु, कुनै हिल्लाम्मे बाटाहरु, सफा र सिन्नित्तका बाटाहरु, थारु गाउँका ती फोहोर बाटाहरु, उकाला-ओराला बाटाहरु, तेर्सा बाटाहरु, लामा बाटाहरु, ग्र्याभिल हालिएका अप्ठेरा बाटाहरु, चिप्ला बाटाहरु, जङ्गलका डरलाग्दा बाटाहरु, खोला नदि किनारका बाटाहरु, ढुङ्गेनी बाटाहरु, छोटा बाटाहरु, चिप्ला बाटाहरु । जिन्दगिमा धेरै बाटोहरु देखियो, धेरै बाटोहरु हिंडियो ।

माथिल्ला कक्षाहरुमा चढ्दै गएपछी स्कुलका सरहरुले जिबनको लक्ष्यमा पुग्ने बाटो आफैले बनाउनु पर्छ भन्दै सिकाउनुभयो । हामिले गाउँघरमा अनेक थरिका बाटोहरु देखेका र हिंडेका पनि हौं तर सरहरुले भनेको जिन्दगिको लक्ष्यमा पुग्ने बाटो केसलाई भनेको होला भनेर अचम्म लाग्थ्यो । तब यो बाटोको परिभाषा झन झन जटिल र अमुर्त लाग्न थाल्यो ।

अब आएर मैले आफैले हिडेको बाटो पछाडी फर्किएर हेर्दा एसएलसी दिन बुवा आमालाई छोडेर मैनापोखर पुगेको र फेरि मैनापोखरलाई छोडेर कोहलपुर झरेको पल नै मेरो जिबनयात्राको बाटो त्यहीबाट पो शुरु भएको रहेछ भन्ने कुरा बल्ल बुझ्दै छु ।

कोहलपुरमा केही वर्ष पढेपछि भिरमा खोपिएका कहालीलाग्दा बाटो हुँदै म आफ्नो जिबनको बाटो खोज्न भिनाज्युसङ्गको साथ लागेर कालिकोटको भर्ता पनि पुगेको थिएँ । त्यहाँको माहोल देखेपछी मैले त्यहाँदेखि अगाडिको मेरो जिबनको बाटो छ्याङ्ग खुलेको नदेख्दा म फेरि कोहलपुर नै फर्किएको थिएँ । दोस्रो पटक जिन्दगिको बाटो अजमाउन साथिहरुको लहैलहैमा सुर्खेतमा लोकसेवाको परीक्षा दिन पनि गएको थिएँ । लोकसेवा लाई मैले जति सहज रुपमा लिएँ मेरो कापी जाँच्ने जाँचकिले पनि मेरो जिन्दगिको नयाँ बाटो खोलिदिन उत्तिकै कन्जुस्याइँ गरिदिए । त्यसपछि त मैले लोकसेवाको बाटोतिर कर्के नजरले पनि हेरिन भन्दा हुन्छ ।

पढाईमा तुलनात्मक रुपमा कमजोर मेरो भाई जयराम जिन्दगिको बाटो खोज्नैको लागि त नभनौ साथिहरुको लहैलहैमा भारत छिर्यो त्यो पनि एकदमै कलिलो उमेरमा । उ जब बम्बैई (मुम्बई) बाट साहु (मालिक) ले दिएका उपहारहरु सहित दुई तीन वर्षमा घर आउँथ्यो र बम्बैईको झिलिमिलिको कथा सुनाउथ्यो । एक मनले सोच्थ्यो यहि भाईसङ्ग रेलको बाटो हुँदै बम्बैई तिर जाउँ र ५/७ हजारको नोकरी खोजौ । वास्तविकतामा भने कहिल्यै त्यतातिर गैईएन ।

जिबनको बाटो खोज्ने क्रममा थुप्रै चोक, चौराहा, दोबाटोहरुमा अनेक बाटाहरुले लोभ्याए । पत्रकारिता, साहित्य, प्राध्यापन । तर जानेर वा नजानेर अहिले हिडिरहेको बाटो हुँदै यहाँसम्म पुगेको छु । भाईहरु मैले देखाएको बाटोमा हिंडिरहेछन । जयराम भाईले त अझ एक कदम अगाडि बढेर उद्योगको बाटोमा आफ्ना पाईतालाहरु बढाएको छ । किशोरकालमा पत्रमित्रताको बाटो, रेडियोमा गित सङ्गीत फर्माईस गर्ने बाटो, पत्रपत्रिकामा गित गजल र लेख छपाउने बाटो, साहित्यको बाटो, लायन्स क्लबमा हिंडेको बाटो सम्झिंदा यो जिन्दगिमा अनेक बाटोमा हिंडिएको रहेछ भनेर छक्क पर्छु ।

सामाजिक संजालको बाटो हिंडिएकै छ । मोबाईलको आँखिझ्यालबाट पसेर मानिसहरु हिंडिरहेका, मानिसहरु बोलिरहेका, चिच्याईरहेका, स्तुतिगान गाईरहेका र सामाजिक संजालको लतमा फसिरहेका बाटोहरु पनि नियाल्दै छु ।

कुनै पनि गन्तब्यमा पुग्नको लागि प्रयोग गरिने माध्यम नै बाटो हो । बाटोहरु कुनै फराकिला होलान, कुनै साँघुरो होलान, हवाई बाटो, सामुद्रीक बाटो, जङ्गली बाटो, गोरेटो बाटो, घोरेटो बाटो, चिल्ला, घुमाउरा अनेक थरिका बाटाहरु छन यो भुगोलमा । केही वर्षको अन्तरालमा सिमित देश नै सहि बिदेशका जेट बिमानका बाटोहरु, पानीजहाजका बाटोहरु, रोपवेका बाटोहरु पनि देखियो । रेलका बाटोहरु र सबैभन्दा धेरै त चिल्ला, फराकिला र कैयौं लेनका कालोपत्रे बाटोहरु पनि देखियो । जिन्दगिमा अनुभवको बाटो हिड्दै बिगत सम्झिनु पनि रमाईलै हुँदो रहेछ ।

चाहे भुगोल जोड्न होस वा एउटा जिन्दगिलाई अर्को जिन्दगी सङ्ग जोड्न पनि बाटै चाहिन्छ । बाटोको धेरै ठूलो महत्व रहेको हुन्छ । एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुनु नै बाटो हो चाहे त्यो भुगोलमा होस वा जागिरमा अथवा मान-सम्मान वा ब्यक्तित्व बिकासमा नै किन नहोस । हरेक गन्तब्यमा पुर्याउने एक मात्र माध्यम बाटो नै हो ।

ब्यवसायिक जीवनको बाटो जहाँ म अहिले पनि हिंडिरहेको छु । मैले रोजेको ब्यवसायिक बाटो भित्रै पनि म अनेक बाटो हिंड्ने प्रयास गर्दैछु । चाहे साहित्यको बाटो होस वा लेखनको । बाटोमा निस्किएर निरन्तर हिंडिरहने हो भने कहिं न कहिं अवस्य पुगिन्छ । मेरो मान्यता पनि यहि हो ।

भारत खोज्न निस्किएका कोलम्बस सर्वशक्तिमान राष्ट्र अमेरिका पुग्दा समुन्द्रको बाटोमा उनले पाएका दुख हन्डरका कथाहरु पढ्दा एकखालको रोमान्चकता र उनको साहस प्रती सम्मान भावको महसुस हुन्छ । भास्कोडिगामा, हुयान साङ्ग, मार्को पोलो, युरि गागरिन, निल आर्मस्ट्रङ्ग देखि लाखौ बैज्ञानिक र लाखौ दार्शनिकहरुले हिंडेको बाटो पच्छ्याएरै यो विश्व आजको अवस्थामा आईपुगेको हो ।

जिन्दगी भन्नू नै जन्मदेखी मृत्युसम्मको बाटो हो । एकदिन सबैजना यहि बाटोबाट हिंड्नै पर्छ । हिंड्दिन भनेर कसैलाई छुट छैन । बाटोहरु हिंड्नैको लागि बनेका हुन, बाटोमा हिड्नैं पर्छ । जुन दिन बाटोमा हिंड्ने मान्छेहरु हुँदैनन्, त्यसैदिन बाटो पनि मर्छ होला । सृष्टिको चक्र पनि रोकिन्छ होला । पृथ्विले सुर्यलाई घुमेन भने, चन्द्रमा पृथ्वीलाई घुम्ने बाटोमा हिंडेन भने ? बाटोहरु छन र मान्छेले सपना देख्न पाएको छ । हिंड्न पाएको छ, दगुर्न पाएको छ । आफू हिंडिरहेको बाटो चित्त नबुझे फर्किएर अर्को बाटो हिंड्न छुट छ उसलाई । समस्या यत्ती हो कि बारम्बार एउटै बाटो हिंडिरहन सधै-सधै उमेरले साथ नदिन सक्छ । समयले साथ नदिन सक्छ ।

हरेक मान्छेमा जीवन प्रतिको मोह र लगाब रहँदासम्म यो धर्तिमा बाटोहरु पनि रहिरहने छन । बाटोहरु रहँदासम्म मान्छेले सपना देख्न छोड्ने छैनन् ।

लेखक गैरे ब्यापारी तथा साहित्यकार हुन ।

कोरोना भाईरस संक्रमणको जोखिमसँगै लागु गरिएको लकडाउनका कारण घरभित्रै बस्न बाध्य हुनुभएका सम्पूर्ण पाठकहरुलाई लक्षित गरी हामिले ‘कडाउन विशेष’ कोलम थप गरेका छौं । लकडाउको समयमा तपाईहरुले गर्नुभएको अनुभुती हामीलाई लेखेर पठाउनुहोस । हामी तपाईको सामग्रीलाई उचित स्थान दिनेछौं ।

 

लकडाउन अघि, लकडाउन पछि !