लकडाउनको ५२औं दिन, तस्बिरमा कोहलपुर !

कोहलपुर ११ मा रहेको साझा सहकारीले मल बितरण गरेपछि कृषकको भिड ।

 

बिहिबार, नेपालमा लकडाउन लागु गरिएको ५२ औं दिन । विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीबाट बच्च नेपाल लकडाउनमा छ । तर मोफसलका कतिपय स्थानमा लकडाउन उलङ्घन गर्ने क्रम बढ्दै गएको छ । करिब डेढ महिने लकडाउनले आजित भएका नागरीकहरुकालागि सरकारले लकडाउन केही खुुकुलो बनाउने बताईरहँदा समेत लकडाउन अवेज्ञा गर्नेको सँख्या दिनानुदिन बढिरहेको छ । कतिपय स्थानमा लकडाउनलाई पूर्ण रुपमा पालना गराउन सेना परिचालन गरेका समाचारहरु सार्वजनिक भईरहँदा बाँकेको कोहलपुरमा समेत लकडाउनको प्रभाव कम हुँदै गएको देखिन्छ ।

बिहान बेलुका बढि चलहपहल हुने कोहलपुरमा आजभोली मध्यान्हमा समेत स्थानियको चहलपहल बढेको छ । बैंक तथा अन्य सेवाप्रदायक संस्थाहरुमा स्थानियको घुँईचो लाग्ने गरेको छ । कतिपय ब्यवसायीले आशिंक रुपमा ब्यवसाय समेत संचालन गर्दै आएका छन । लडाउन लागु भएदेखीनै कोहलपुर क्षेत्रमा अत्यावश्यक तथा खाद्यान्नका पसलहरु भने नियमित रुपमा संचालन हुँदै आएका छन । तर अन्य ब्यवसायीहरुले समेत पसल संचालन गर्ने क्रम बढ्न थालेको छ । जसले गर्दा कोहलपुर बजारमा पहिलेको तुलनामा स्थानियको उपस्थिती बाक्लीदैं गएको छ ।

छिमेकी नगरपालिका नेपालगन्जमा दिनप्रतिदिन कोरोना भाईरस संक्रमणको दर बढ्दै जाँदा समेत कोहलपुरमा चहलपहल बढ्नु कोरोनालाई आमन्त्रण गर्नु सरह हो । स्थानिय सरकारले नेपालगन्जसँग सिमा जोडिएका नाका शिल गरेको बताउँदै आएको छ । यद्यपी दिनहुँ सयौं मोटरसाईकल तथा अन्य निजि गाडीहरु नेपालगन्ज-कोहलपुर ओहोरदोहोर गर्ने गरेका छन । जसले गर्दा कोहलपुर कोरोना संक्रमणको उच्च जोखिममा पर्दै गएको छ । यसतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ ।