ककौराका मह शिकारी : लाहुरे मगर

‘एक केजि मह मगाउनु न है’ ! भान्छा कोठाबाट श्रीमतीले मह सकिन लागेको जनाउ दिईन । ब्रेड या रोटिमा मह दलेर खान निकै मन पराउँछन छोरा छोरीहरु । त्यसो त मलाई पनि निकै मन पर्छ मह । अस्ति भर्खरै मगाएको मह कति छिटो सकिएछ हँ ? बरन्डामा बसेर मोबाईलमा समाचार हेर्दै थिएँ म । कुनै पनि काम सम्झिएकै बेला गर्नु पर्दछ, पछि बिर्सन पनि सकिन्छ । तत्काल पूर्मल बस्नेतलाई फोन लगाए ! वहाँ मौरी किसान र मौरी पालन महासंघ बाँकेको अध्यक्ष समेत हुनुहुन्छ । मह सकिने बित्तिकै फोन गर्नुपर्छ वहाँले घरमै मह ल्याईदिनुहुन्छ !

देश लकडाउनमा छ र हामी पनि लकडाउनमै छौ । कोरोना जिबाणुहरु विश्वयात्रामा निक्लिएका छन । आँखाले नदेखिने ती जिबाणुले कसलाई कतिबेला निशाना बनाउने हुन थाहा छैन । कोरोना जिवाणुसङ्ग सुरक्षित रहन हामी घरभित्र बसेका छौ । रोग तथा महामारीबाट बच्नको लागि पनि पोषिला र रोग प्रतिरोधात्मक खाद्यान्न तथा फलफूल खानु पर्दछ भनेर बारम्बार स्वास्थ्यकर्मीहरुले सम्झाईरहेका छन । खाद्यान्नमा सबैभन्दा पोषिलो खाद्यपदार्थ मानिन्छ मह । मैले बाल्यकाल देखि नै मह खान सिके । उ बेलामा पनि हाम्रो घरमा कहिल्यै मह टुट्थेन । महसङ्गै एउटा पात्र सम्झनामा उदाए । उनकै कारण ककौरामा धेरैले मह खान पाए । उनी अर्थात लाहुरे मगर । ककौरा गाउँमा मात्रै होईन वरपरका छिमेकी गाउँ पनि उनलाई लाहुरे मगर नै भनेर चिन्दछन । उनको खास नाम राम बहादुर थापा हो ।

उनको नाम लाहुरे किन रह्यो उनलाई पनि थाहा छैन होला ? पहाडी र थारु समुदायको बस्तिमा आएका उनी एक्ला मगर थिए । मैले बाल्यकालदेखी नै उनलाई पृथक ब्यक्तित्वका रुपमा देखे । उनीसङ्ग भएका गुण अद्भुत थिए जुन ककौरा गाउँमा अरु कसैसङ्ग मेल खाँदैनथे । उनी अत्यन्तै सामाजिक थिए । कसैले कुनै पनि कामको लागि बोलाए उनी अत्यन्त सहजतापूर्वक सहयोग गर्दथे । आफुमा कहिल्यै पनि बड्पन र अहंमता आउन दिएनन । जति-जति लाहुरे मगरलाई सम्झिदै गएँ उति-उति म आफ्नो बाल्यकाल तिर फर्किदै थिएँ । उनका जिबनका उकाली ओरालीहरु सम्झिएँ । उनी ककौरामा म कोहलपुरमा छु । उनको बारेमा केही लेख्ने हुटहुटिले सताएपछी पक्की घरको भरतसङ्ग उनको फोन नम्बर मागे । भरतसङ्ग पनि नम्बर रहेनछ । मैले भनेपछी उ लाहुरे मगरको घरै गएर नम्बर ल्याईदियो । फोन गर्दा घरमै रहेछन उनी । मैले सिधै महको प्रसङ्गबाट कुरा उप्काए । लाहुरे दाइ त बाँदर भन्दा पनि छरितो गरि रुख चढ्नु हुन्थ्यो है ! कुन धुनमा थिए उनि खै ? उनि आफैले समेत बिर्सिईसकेको सुदुर अतितको कुरा उप्काउँदा एकछिन त मज्जाले हाँसे । उनको हाँसो फोनमा प्रष्टसङ्ग महसुस गरें मैले ।

सुर्खेत आवतजावत गर्दा छिन्चु पुग्नु अगावै रोडभन्दा तल बेसिमा मैले सधै देखि रहेको सुन्दर बस्ति हात्ती दमार नै त रहेछ उनको जन्मथलो । हात्ती दमारमा अहिले अदुवा प्रशोधन उद्योग पनि खुलेको छ । लाहुरे मगर यहाँबाट ककौरा पुगेका रहेछन है ? आफैसङ्ग प्रश्न गरे । हात्तिदमारमा अहिले पनि मगर समुदायको बाहुल्यता छ, एकपटक जगत जिले भन्नुभएको थियो । २०३२ सालमा २३ वर्षे लक्का जवान उमेरका उनि श्रीमती र काखकी छोरी च्यापेर घुम्दै फिर्दै बर्दिया ककौरा झरेका रहेछन । २००९ सालमा जन्मिएका रहेछन उनी । आफ्नो पिताका ४ भाइ छोराहरु मध्येका जेठा छोरा राम बहादुर थापा ककौराको बाहुन टोलमा लाहुरे मगरको नामले चिनिए । लाहुरे मगर र ककौरा गाउँ एक अर्काका पर्याय जस्तै बने कालान्तरमा । हुन पनि उनको जिन्दगिका साढे चार दशक ककौरामा ब्यतित भएका छन । उनका तीन भाइ छोरा र तीन बहिनी छोरी छन । तीन वटै छोरि बिवाह पछि काठमाडौमा छन हिजोआज । जेठो छोरा चार वर्ष भयो मलेसिया गएको, न फोन न सम्पर्क । अत्तोपत्तो छैन उसको । बाँकी दुई वटा छोरा नेपाली सेनामा जागिरे छन आफ्नै धुनमा ।

राम बहादुर थापा हिजोआज रामजानकी सामुदायिक बन ककौराका अध्यक्ष छन । मैले आफुले बुझ्ने भएदेखी नै यिनलाई अनेक भुमिकामा देखे । कहिले कोहलपुरबाट पाउरोटी बोकेर गाउँ-गाउँ डुलाएर बेच्दै हिड्थे, कहिले साईकलमै बरफ बेच्दै हिडे, यिनको घरमा मैले थाहा पाउँदा देखि नै स-सानो खिच्रीमिच्री दुकान थियो । पछिला दिनमा स्कुल अगाडि रहेको खरदारको घरमा दुकान सारेका थिए । साईकलमै तरकारी बोकेर बेच्दै हिडे । ककौरा चोकमा चिया पसल र होटेल पनि खोल्न भ्याए । यी सबका बाबजुद पनि उनी सबैभन्दा बढी मह शिकारिको रुपमा चर्चित थिए । उनीसङ्ग जोडिएका अनेक बाल्यकालिन स्मृतिहरुलाई म अर्को लेखमा जोड्ने छु ।

मान्छे पिच्छे अनेक रुचि, बानी ब्यहोरा र प्रतिभा रहेका हुन्छन । मैले जिबनमा अनेक किसिमका मान्छेहरु देखें ती मध्ये सबैभन्दा रमाईला र बिचित्रका पात्र थिए लाहुरे मगर । उनी जस्ता सुकै रुखमा सहजै चढ्न सक्थे । ‘यो मान्छे त हामी जस्तै रुख चढ्न सक्दो रैछ’ सायद बाँदरहरु पनि यस्तै सोच्थे होलान, पक्की घरको भरत लाहुरे मगरको रुख चढ्ने कलाको जबर्जस्त प्रशँशक हो । उनी चढ्न नसक्ने रुख नै हुन्थेनन् जंगलमा । हामी धेरै पटक उनीसंगै जंगल गएका छौं । कुसुम खान, जामुन खान होस अथवा बेल र टाटा खानकै लागि किन नहोस । जस्ता सुकै विशाल र अजङ्गका रुखमा चढेर उनले हाम्रा अगाडि ती फलहरुका रास लगाईदिन्थे ।

गाउँ घरमा कतै बिषालु सर्प देखियो भने मार्न उनैलाई बोलाउनु पर्थ्यो । दशैंताका खसी मार हान्न सितिमिति कसैको आँट हुदैन्थ्यो । एकैदिन मै उनले १०-१२ वटा खसी मार हान्न भ्याउँथे । ककौराको रोटे पिङ्ग उनैले बनाएका थिए । लिङ्गे पिङ्ग हाल्न सधै उनै अग्रसर हुनुपर्थ्यो । कसैका घरका कुवा भित्र छिरेर सफा गर्न होस या मलामी जाँदा बाँसले घोची घोची मुर्दा पोल्न उनै अग्रसर हुन्थे । काठ काट्न, गिंडा ओसार्न उनी जत्तिका सुरा र बलिया मान्छे कोहि थिएनन् ककौरामा । कतिपयका घरमा बसेका मौरिका घारबाट मह झिक्न उनै पुग्नुपर्थ्यो ।

उनलाई पाखुरा जुधाउने खेलमा पनि सितिमिति कसैले जित्दैनथ्यो । एकदमै मिजासिला थिए, जोसङ्ग पनि सहज तरिकाले घुलमिल हुन सक्थे । म हरदम उनलाई आठ दस जना मान्छेहरुको भिडमा हँसिमजाक गरिरहेका, ठट्टा गरिरहेका, गफ लाईरहेका देख्थें । उनी बिशुद्व श्रमिक थिए । कसैले मिलमा धान कुटाउन जाउँ भने पनि गईदिन्थे । मल बोक्न पनि हिंडिदिन्थे । हलो जोत्न, बारी खन्न, घर बनाउन, छानो छाउन, दाउरा चिर्न कुनै काम पनि मैले सक्दिन, मैले गर्दिन भनेनन् । यस्तो लाग्थ्यो कि उनको शब्दकोशमा नाई भन्ने शब्दै थिएन कि ? उनले नजानेको काम पनि केही थिएन ।

उनका कुरा सुनेर मान्छेहरु गलल्ल हाँस्थे । ककौराका सबैभन्दा शाहसिला ब्यक्ती थिए । जङ्गलको बारेमा उनलाई जत्तिको ज्ञान र जानकारी अरु कसलाई होला र ? सम्पत्ती नभएपनि बल र आईडिया लगाउने काममा ककौरामा उनिजत्तिको कोहि थिएन । कोहि बिरामी पर्दा बोकेर स्वास्थ्य केन्द्र पुर्याउन उनै अग्रसर हुन्थे । गाउँलेलाई च्याउ खुवाउने, पहाडबाट बाँसको तामा ल्याएर खुवाउने उनै थिए । जन्तिमा केही बोक्न होस या कोहि मर्दा लास बोक्न उनै अघि सर्थे । गाउँ घरको बिहे भोजमा ढल्किईढल्किई नाच्ने उनै थिए, मादल बजाउन उनी जत्तिको सिपालु अर्को थिएन । भोजभतेरमा पकाउने काममा उनै अघि सर्थे । उनले दस कठ्ठा छुटको जग्गा कमाएका थिए जहाँ रिहारे माटो भएकाले उत्पादन एकदमै कम हुन्थ्यो । हिउँदे बाली त हुँदै हुदैन्थ्यो भन्दा हुन्छ । त्यतिका जहानलाई मजदुरी गरेरै पालेका हुन उनले । कुलाको ढिकको ऐलानी जग्गा ओगटेर घर बनाएका थिए । अहिले पनि उनको बसाई त्यही घरमा छ । जीवन जीउँदै गर्दा अनेक खाले सामाजिक बिभेदका सिकार उनी पनि भए होलान । कहिलेकाँही पिएको बेलामा समाजप्रतिका असन्तोषहरु व्यक्त गर्दथे । भोलिपल्ट भने अन्य दिनमा झै सामान्य देखिन्थे । समाजका अनेक खाले कपट, अपमान, विभेद, तिरस्कारहरु उनले भोगेनन् होला भनेर मैले कसरी भन्न सक्छु र ?

लाहुरेले मह बेचेरै आफ्नो परिवार पालेका हुन, मेरो बुवा लाहुरे मगर जत्तिको मिहिनेती र उनी जत्तिको सिपालु मान्छे ककौरामा अर्को कोहि नभएको अझै पनि बताउनुहुन्छ । उनी परिवार पाल्न सकियोस भनेरै जहिल्यै सानोतिनो खेलोमा रमाईरहे । उनले कहिल्यै कसैलाई पिरने, डस्ने या सताउने काम गरेको मलाई थाहा छैन । आफ्ना पाखुराको बलमा उनले निरन्तर कर्म गरिरहे । उनी निरक्षर थिए । निरक्षर भएकैले केही अवसर गुमाए होलान तर आफू निरक्षर भएकैले पनि उनलाई कहि कतै अनियमितता गर्ने नौबत आएन ।

पहाडबाट एक्लै आएर बसे र यतै रमाएर बसे । एकदम निडर र दह्रो मुटु भएका थिए । रुख चढ्दा दुई वटा पगाहा बोक्थे एउटा अलिक मोटो हुन्थ्यो र अर्को पातलो हुन्थ्यो । मोटो डोरि समातेर रुख चढ्थे । मसिनो डोरिमा मह भरिएका बाल्टी या ग्यालेन बाँधेर तल झार्थे । लाहुरे मगर काँधमा पगाहा बोकेर जंगलतिर लाग्दा कुनै फिल्मी नायक भन्दा कम देखिदैनथे ।

वसन्त ऋतु फुलको याम भएकाले यहि समयमै बढी मह भेटिने उनको अनुभव छ । मह मीठो कार्तिकको हुन्छ तर औषधिको रुपमा भने चैत(बैशाखको मह उपयोगी हुने उनको विश्वास छ । जिन्दगिमा उनले सबै खाले मौरिको मह काढे होलान । एउटा-दुईटा मौरिले चिल्दा दुख्थ्यो तर एकैपटक धेरै मौरिले चिल्दा पीडा नहुने उनको अनुभव रहेको छ । कहिलेकाँही रुखबाट झरेपछी उनी अनुहारमा मौरिले गाडेका खिल निकालेर फालिरहेका भेटिन्थे । तल बस्ने मान्छेले काठका झिंझाझिंजिलाई वरपरबाट हरिया स्याउलाले बेरेर आगो सल्काएर त्यो मुठो उनी समक्ष पुर्याईदिन्थे । उनले त्यही मुठोबाट निक्लिएको धुवाँ मौरिको गोलामा झोसिदिन्थे । धुवाँले लठ्ठिएका मौरिले गोलो छोड्नेबित्तिकै उनले अलिकति बचाएर महको घार झोला या भाँडोमा भरेर तल झारिदिन्थे । फेदमा बसेर लाहुरे मगरका यी सब चर्तिकलाहरु हेर्नू वास्तवमै कुनै रोमाञ्चक फिल्म हेरे जत्तिकै आनन्ददायी क्षण हुन्थ्यो । सिजनमा उनको घरमा कहिल्यै मह टुट्दैनथ्यो । नियमित मह खाएका भएर पनि होला उनका सन्तानहरु गाउँ भरिमै हृस्ट्पुस्ट र निरोगी थिए ।

महको चाका पानीमा उमालेर मैन बनाएर नेपालगन्ज जाँदा बिक्री गर्थे । उनको घरमा कतिपय क्षण मौरिको लार्भाका तरकारी बनेका हुन्थे । उनले घरका नुनतेल चामल वा लत्ताकपडा जस्ता हरेक आवश्यकताहरु मह बेचेरै पूरा गर्दथे । जंगल जाँदा कहिले मह भेटिन्थेन कहिले लगेका भाँडा भरिएर राख्ने ठाउँ हुन्थेन । लाहुरे मगरसङ्ग पनि जिन्दगिका अनेक खाले तितामिठा अनुभूतिहरु छन कुनै रित्ता भाँडा जस्ता कहिले भरिएका भाँडा जस्ता । कहिले जिन्दगी खुशी नै खुशिका पलहरुले भरिन्थ्यो कहिले जताहेर्दा पनि अँध्यारो नै अँध्यारो देखिन्थ्यो । जिन्दगिको सार बाँच्नुमा रहेछ । कुनै बेला आफुले मह खोज्दै चढेका विशाल बृक्षहरु नदेख्दा उनलाई पनि खल्लो लाग्दो हो कहिलेकाँही । प्रकृतिको संरक्षण महत्वपूर्ण कुरा रहेछ मज्जाले बुझेका छन आजकल । मान्छेको जिबनलाई सार्थक बनाउन मौरिले परागसेचनमा पुर्याएको योगदान पनि अब बुझेका छन । अचेल उनी जङ्गल बचाउनु पर्छ भन्ने अभियानका अगुवा छन । भन्छन समय कति बाठो हुँदो रहेछ, हिजो जङ्गलका रुख चाहार्दै हिड्ने मलाई आज रुख बचाउने भुमिका दिएको छ ।

क्याम्पस पढ्दा मैले पहिलो पटक पढेको अङ्ग्रेजी उपन्यास बूढो माझी र समुन्द्रको मनै देखि छोएको त्यो बूढो माझी स्यान्टियागो जो आफ्नो तागत र बैँस गुमाएर पनि आफ्नो पेशालाई निरन्तरता दिईरहेको हुन्छ । जो म बाँच्छु र आफ्नो युवाकालमा जस्तै फेरि चमत्कार गर्छु भन्ने दृढ आत्मबिश्वास बोकेको छ । त्यही स्यान्टियागोलाई केही दिन अघि फिल्ममा हेर्दै गर्दा स्यान्टियागो भन्दा ककौराका यी लाहुरे मगर कुन अर्थमा कम छ्न र जस्तो लागिरह्यो ? हुन पनि लाहुरे मगरको सम्पूर्ण जीवन कथा कुनै फिल्म भन्दा कहाँ कम थियो र ? लाहुरे मगरमा पनि फिल्मको नायकमा जस्तै उमेरसङ्गै आउने स्वाभिमान रहेको फोन वार्तालापमै महशुस भएको थियो । मेरो जिबनमा ककौराका कहिल्यै नबिर्सने पात्र मध्येका एक हुन उनी । जिबनका प्रत्येक मोडमा उनले गरेका संघर्षहरु र उनको जिबनको सिङ्गो कथा पनि बूढो माझी र समुन्द्रको स्यान्टियागोले भोगेको जिबनको कथा जस्तै लाग्छ । मेरो निम्ति लाहुरे मगर ‘बूढो मह शिकारी र जङ्गल’ को कथाका नायक हुन जसरी ‘द ओल्ड म्यान एन्ड द सि’ का नायक स्यान्टियागो हुन । उनले स्मुन्द्रमा माछासङ्ग संघर्ष गरे लाहुरे मगरले अजङ्गका रुखमा माहुरीहरुसङ्ग भिडे । फरक यत्ती हो स्यान्टियागो र लाहुरे बिचमा ।

गोरो र मङ्गोल अनुहारका लाहुरे मगरलाई अहिले पनि ककौरामा नचिन्ने कोहि छैन । ककौरामा उनको अलग्गै पहिचान र छवि छ । मलाई जस्तै धेरै मान्छेका लागि ककौराका कहिल्यै बिर्सन नसकिने पात्र हुन उनि । उमेरले सात दशकको नजिक पुगिसक्दा पनि उनि अझै पनि फुर्तिला र उस्तै हँसिला देखिन्छन । उनी पनि बिस्तारै बुढा र जिर्ण हुँदै जानेछन । पहिले जसरी अब कहाँ रुख चढ्न सकिएला र ? एक त जङ्गलमा ठुला रुखहरु नै छैनन्, दोस्रो मौरिका घारहरु पनि कतै देखिदैनन् । मौरिका घार कतै भेटिए अझै पनि मह काट्न सक्छु भन्ने कुरामा उनी शत प्रतिशत विश्वस्त छन स्यान्टियागो जस्तै ।

ककौराको समाज जहाँ मेरो बाल्यकाल र किशोरकाल ब्यतित भएको थियो । अनेक मान्छेहरुको भिडमा मैले देखेको सबैभन्दा हिम्मतिला मान्छे थिए लाहुरे मगर । हर कुनै समाजमा जहिले पनि छलकपट, चाटुकार र चाप्लुसी गर्नेहरुको बोलवाला हुन्छ । हिम्मतिला मान्छेहरु दुरिमा बसेर पनि समाजमा अलग्गै र विशिष्ट प्रभाब छोड्न सफल हुन्छन । लाहुरे मगर पनि त्यसका अपबाद थिएनन् ।

 

लेखक गैरे ब्यापारी तथा साहित्यकार हुन ।

 

कोरोना भाईरस संक्रमणको जोखिमसँगै लागु गरिएको लकडाउनका कारण घरभित्रै बस्न बाध्य हुनुभएका सम्पूर्ण पाठकहरुलाई लक्षित गरी हामिले ‘कडाउन विशेष’ कोलम थप गरेका छौं । लकडाउको समयमा तपाईहरुले गर्नुभएको अनुभुती हामीलाई लेखेर पठाउनुहोस । हामी तपाईको सामग्रीलाई उचित स्थान दिनेछौं ।

 

समकालीन स्कुले साथिहरु !