चार दिने सुत्केरी बोकेको एम्बुलेन्स खोलामा खस्यो

बाँकेको कोहलपुरमा सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ । बुधबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट ४ दिने सुत्केरी बोकेर राप्तीसोनारीतर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

४ दिने सुत्केरी, बच्चा र अन्य ४ जना बोकेको एम्बुलेन्स कोहलपुर नगरपालिका १२ रोहीणी खोलाको पुलबाट तल खसेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनामा बच्चा र आमालाई कुनै चोट नलागेपनि अन्य ४ जना घाईते भएका छन । घाईते हुनेहरुमा सुत्केरी महिलाका श्रीमान राप्तीसोनारी गाँउपालिका १ का बिनोद परियार, सासु सिता दमाई, एम्बुलेन्स चालक राप्तीसोनारी गाँउपालिका वडा नं. ४ का गोपाल बुढा र सोही ठाँउका एम्बुलेन्सधनि मिनराज खड्का रहेका छन ।

उनिहरुमध्ये सिता दमाईको दाउको र खुट्टामा चोट लागेको भएपनि अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईते सबैको शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।