लकडाउनको मौका छोपेर महंगोमा मल बेच्ने व्यापारी पक्राउ

लकडाउनकै मौकामा बढी मूल्यमा मल बेचेको अभियोगमा एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुलीको जय बागबानी कृषि सहकारी संस्थाका सञ्चालक युवराज दाहाललाई सिन्धुली प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुलीका किसानले मल नपाएको गुनासो आइरहेका बेला बढी मूल्यमा मल बिक्री गरेको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् ।

ब्यापारी दाहाललाई एउटा जिल्लामा बेच्न भनेर ल्याएको मल अन्य ठाउँमा बेचबिखन गरेको समेत आरोप छ । उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रञ्जु सिग्देलले बताए ।

केही दिन पहिला यहाँका किसानले सिन्धुलीको जय बागबानी कृषि सहकारी संस्थाले बढी मूल्यमा मल बेचेको भन्दै उजुरी दिएपछि प्रहरीले उनको गोदाममा छापा मारेर ताला लगाएको थियो । कमलामाई नगरपालिका–६ रातमाटाका दुई गोदाममा छापा मारी प्रहरीले ८५० बोरा मल पनि नियन्त्रणमा लिएको थियो ।

यस्तै प्रहरीले उनकै मल बोकेका तीन वटा ट्रक पनि नियन्त्रणमा लिएको छ । बजार मूल्य ८५० भए पनि एक हजार रुपैयाँ प्रतिबोरा बेचेको भन्दै उजुरी परेपछि प्रहरी छापा मारेर मल बेच्ने पसल शिल गरेको थियो । सो मल बिक्रेता युवराज दाहालले भने आफूहरुले बढी मूल्यमा मल नबेचेको बताएका थिए ।

आफूहरुको व्यापारमा रिस गर्नेहरुले यस्तो गरेको भन्दै उनले नागरिक खबरसँग अनुसन्धानमा सघाउने पनि भनेका थिए ।

विगत चार वर्षदेखि दाहालले मल बिक्री गर्दै आएका थिए । युरिया, डीएपी, पोटास लगायतका अनुदानमा साझाले मल बिक्री गर्दै आएको छ भने गैरअनुदानमा सहकारीले मल बिक्री गर्दै आएको छ ।

सिन्धुलीमा मल अभाव बनाउँदै अन्य जिल्लामा पठाउने गरेको गुनासो समेत स्थानीयको छ । स्थानीय कांग्रेस नेता दिपक मिश्रले सिन्धुलीमा मल अपुग हुँदाहुँदै अन्य जिल्लामा पठाउन नहुने बताए ।

सिन्धुलीमा मल हाहाकार बनाएर बढी मूल्यमा कसैले पनि बेच्न नहुने भन्दै सत्यतथ्य बाहिर आउनुपर्ने मिश्रले माग गरेका थिए । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत भिम बस्नेतले आवश्यक छानबिनका लागि मल नियन्त्रणमा लिएको बताएका थिए ।

मुद्दा दर्ता भएर अनुसन्धानको चरणमा रहेको सिन्धुली प्रहरीले जनाएको छ । नागरिक खबरबाट