मेरो सम्झनाका चराहरु !

प्रकृतिको सबैभन्दा उत्कृष्ट रचना मानिने चराहरु जसका यो पृथ्वीमा हजारौं हजार प्रजाती रहेका छन । यो प्रजातिको सबैभन्दा ठूलो विशेषता भुई खोस्रीने देखि खानाकै लागि हजारौं हजार माइलको यात्रा गर्नेसम्मका छन । बैज्ञानिक चार्ल्स डार्बिनको भनाई अनुसार प्रत्येक जिबले आफुलाई जिबित राख्न प्रत्येक पल संघर्ष गर्नुपर्छ र मृत्युबाट जोगिनु नै जीवन हो । विश्वभर फैलिएको कोरोना महामारिका कारण अवान्छित मृत्युबाट जोगिनको लागि हामी मानबहरु कैयौं दिनदेखी घर भित्र थुनिएर बस्नु समेत डार्बिनकै सिद्धान्त अनुसार जीवन बाँचिरहने रहर होला । मृत्युको डर के मान्छे के पन्छी समस्त प्राणिजगत र किटपतङ्गलाई बराबर नै रहन्छ होला । आजको मेरो बिषय भने पन्क्षिहरुकै बारेमा हुनेछ ।

हुन पनि आकाश, पानी, जमिनमा अनेक रुप अनेक रंग र अनेक खालका आवाजहरु निकालेर आफ्नो बंश बिस्तारमा तल्लिन चराहरु हेर्दा कोमल मन भएका जो कोहि मान्छे पनि उत्सुक हुन्छन । यिनिहरुको आफ्नो गुँड बनाउने, भाले पोथिले एक अर्कोलाई आकर्षित गर्ने, आहारा जुटाउने देखि बचेरा हुर्काउनेसम्मका सबै गतिविधिहरु अनौठा र कतिपय मान्छेले कल्पना समेत गर्न नसक्ने हुन्छन ।

मेरो बाल्यकाल बितेको ककौरामा घरका आँगनमा चिरबिर गर्दै मान्छेको नजिक चर्दा पनि खासै नडराउने भँगेरो देखि सडक छेउका रुख, बिरुवा वा बिजुलिको तारमा बसेर कर्कश आवाज निकाल्ने काग देखि गोठालो जाँदा, बनजंगल जाँदा होस वा खेतबारिमा देखिएका अनेक चराहरुको सम्झनाले यो मन ब्याकुल भएको छ ।

कोहलपुरमा मेरो घर नजिकै रहेको एउटा घरको सेप्टिक टेङ्कको चरबाट भकाभक निक्लिएका लामखुट्टेलाई भंगेरो चराले हतार-हतारमा खाईरहेको दृष्यले मेरो ध्यान उनिहरु तिर खिचिएको थियो । ककौरा छँदा परालको टौवा देखि छानाका अन्तर्कुन्तरमा समेत यिनिहरुले गुँड बनाएर बचेरा हुर्काउँथे । कवि माधब घिमिरेले कबितामा उल्लेख गरेझै भङ्गेराहरु यताउती नहेरी कहिल्यै चारो टिप्दैन । हिजोआज मोबाईल फ्रीक्विन्सिको रेडिएसनका कारण सहरी क्षेत्रमा यी फुर्तिलो चराहरु संकटमा छन भन्दा पनि दुःख लाग्दछ ।

बिहानै देखि गाउँ डुल्ने सहज पन्क्षी काग थिए । तुलनात्मक रुपमा चलाख देखिने यी पन्क्षिहरु आफ्नै क्रकश: आवाजका कारण बदनाम मानिन्छन । विशेष गरि सुचनाका बाहक ठानिईने यी पन्क्षिहरु अरु पन्क्षिका गुँड खोज्दै तिनका अन्डा र बचेरा खाएको आफ्नै आँखाले देखेपछी भने यिनिहरुको हिंस्रक स्वभावको बारेमा थाहा पाएको थिएँ ।

बसन्तमा जताततै सुनिईने कोईलिको आवाजको प्रशँशा नगर्ने को होलान र ? मनमोहक आवाजका साथ कोहि को हो ? को हो ? गर्दै कोहि कुहु कुहु गर्दै, कोहि काफल पाक्यो ! काफल पाक्यो ! (उनिहरुले के भनेका हुन ईशारा, झगडा या अरु नै केही हामी भने यसरी नै बुझ्छौ) त कोहि अनेक आवाजमा वातावरणलाई नै मन्त्रमुग्ध बनाईरहेका हुन्छन । थुप्रै ग्रन्थहरुमा समेत कोईलिको आवाजको प्रशँशा गरिएको पाईन्छ । काग जस्तै कालो भए पनि मान्छेले माया गर्ने कोईलिले कहिल्यै आफ्नो गुँडमा अन्डा पार्दैनन् भन्ने स्कुल पढ्दा देखि नै थाहा पाएको मैले हिजो राती युट्युबमा कोईलिका गतिविधि नियाल्दा जन्मिनासाथ कोईलिको बच्चाको क्रुरता देखेर एकछिन त स्तब्ध भएँ । आफुलाई कोरल्ने सानो फिस्टे चराका बचेरालाई पखेटाले ठेलेर गुँडबाट खसालिदिएपछी उनिहरुले ल्याएको आहारा एक्लै खान्छ । हुर्किदै जाने क्रममा आफुभन्दा ठूलो कोईलिको बच्चालाई आहारा खुवाउँदा खुवाउँदा थाके पनि ती फिस्टे चराका दम्पत्तिले हार खादैनन् । त्यो बचेरा ठूलो भएपछी यसैगरी आफ्नो सृष्टि धान्ने होला । अचम्मलागि यो जिन भन्ने कुरा कति महत्वपूर्ण रहेछ जसले भालेमा भएका कति पुस्ते गुणहरु बोकेर हिड्दो रहेछ । अन्डा पार्नका लागि बठ्याई गर्दै अर्काको गुँड खोज्दै हिड्ने कोइलीहरु लोपोन्मुख पन्क्षिको सुचिभित्र पर्दैनन् भन्ने थाहा पाउँदा झन अचम्म लाग्यो ।

खेत, नदि-नाला, तलाउ या सिमसार तिर एउटा खुट्टा उचालेर एउटा खुट्टाको भरमा घन्टौ उभिन सक्ने बकुल्लाहरुको उदाहरण दिएर सरहरुले हामिलाई बकुल्ला जस्तै पढाईमा ध्यान केन्द्रीत गर्न सुझाउनु हुन्थ्यो । यिनिहरु खेतहरुमा फट्याङ्ग्रा, भ्यागुता, माछा, गङ्गटा जे भेटिन्छ त्यसैलाई ढुकेर बसिईरहन्थे । गाई बस्तु चरेको ठाउँमा फट्याङ्ग्रा उडेको थाहा पाइने भएकाले यिनिहरु पछि-पछि हिडेको देख्थ्यौ बाल्यकालमा गोठालो जाँदा ।

एउटा लामो खुट्टा भएको निकै हल्ला गर्ने चरो, मान्छे नजिक पुग्दा यताउता दौडिने गर्दथ्यो । सामान्य अवस्थामा हिड्दा क्याटवाक गरेजस्तै लाग्ने ति हुटिट्याउ चराको अन्डामा माटो मुछेर काटेको घाउमा लगाउदा घाउ निको हुन्छ भन्ने सुनेकैले खेततिर ध्यान दिएर अन्डा खोजिन्थ्यो । अन्डा भने कहिल्यै हात परेनन् ।

चिनको बुहानमा चमेराको मासुको सुप पिएरै कोरोना भाईरस चमेराबाट मान्छेमा सरेको हो भन्ने एकथरिको विश्वास रहिआएको छ । सानो छँदा रुखमा झुन्डिएका स्तनधारी प्रजातिका यी चमेराहरु निकै घिनलाग्दा भएकैले बुवा-आमाले कहिल्यै तिनका नजिक नजान भन्नुहुन्थ्यो । नेपालगन्ज जिल्ला प्रशासन कार्यालय भित्रका रुखमा तुर्लुङ्ग झुन्डिएका तिनिहरु डरलाग्दा देखिन्थे । कहिलेकाही युट्युबमा यिनिहरुलाई नियाल्ने गर्दछु । विशेष किसिमको ध्वनी तरङ्गबाट सिकार कहाँ छ भन्ने पत्ता लगाउने विश्वास गरिने चमेराहरु मेरो बाल्य सम्झनामा डरलाग्दा पन्क्षिको सुचिमा सुचिकृत छन ।

सधै साँझको समयमा बाँसको झ्याङ्गमा बास बस्दा झगडा गरेर चिच्याउने यिनिहरु बिरालो या सर्पको सम्भाबित आक्रमणबाट जोगिन त्यसो गरेको हुन कि अथवा आफुलाई राम्रो आसनको लागि झगडिएका हुन त्यो थाहा भएन । बास बसिसकेपछी भने यिनिहरु बिहानसम्म शान्त बस्दथे । घर नजिक आएर सधै मान्छेलाई शशँकित भएर नियाल्ने झगडालु यी पन्क्षिको स्वभाव जस्तै हामिहरु कहिलेकाँही खाना खाने बेलामा झगडा गर्दा कस्तो डाङ्ग्रेको जस्तो स्वभाव रैछ भन्दै गाली गर्नुहुन्थ्यो आमाले ।

वातावरणको परिवर्तनसङ्गै आकाशमाथी अनेक थरिका लाईन लागेर हिडेका मालचरा (कर्याङ्ग्कुरुङ्ग) को लस्कर देख्दा निकै आनन्द आउथ्यो । गाउँघरमा मालचरा हिमाली क्षेत्रबाट तराईतिर उड्दै आएको देखेपछी हिउदे बाली लगाउने समय आएछ भनेर विश्वास गरिन्थ्यो । कुनै रुखको ठुटामा बसेर ठ्याउ-ठ्याउ गरेर कराउने निला चराहरु थोरै भएपनी दुर्लभ नै थिएनन् । बनजङ्गल तिर ढुकुर कुर, ढुकुर कुर गर्दै कराउने पन्क्षिहरु सधै परेवा जस्तै लाग्दथे । साह्रै लाटो स्वभावका यी पन्क्षीहरु मान्छे नजिकै पुग्दा भुरुरर आवाज निकाल्दै उड्दथे । चील, बाज या बिरालोले आफ्नो जोडिलाई आक्रमण गर्दा कुनै प्रतिकार गर्न नसकी टुलुटुलु हेरिरहेको जोडीको निरिहता देख्दा कस्को मन नपग्लिएला र ?

पहाड छँदा हाम्रै घर भित्र गौथलिले माटो बोकेर गुँड बनाएको सम्झिन्छु । परेवा त बिगत दस बर्षदेखी पसलमै छन । उनीहरुको गुँड बनाउने तरिका देखि उनिहरुले बचेरालाई खुवाएका हुर्काएका र सबल भैईसकेपछी गुँड छोड्न गरेका बलजफ्तीसम्मका दृष्यहरु लगभग कन्ठै छन मलाई ।

ककौरा स्कुल पढ्दा कराल सुगाको बचेरा खोज्न भोकै प्यासै गर्मी सिजनमा बन जङ्गल हिडेका अनगिन्ती पलहरु कहाँ बिर्सिईदो रहेछ र ? ककौरा गाउँ देखि पर मरेको गाईबस्तुको सिनो खान आएका गिद्वहरुलाई माटोको डल्लाले हान्ने अन्तिम पुस्ताको मान्छे हुँ म । ठुला-ठुला ठोड भएका अग्ला न अग्ला धनेश चराका हुन या बनमा गाईबस्तु चराउन जाँदा सुकेका पत्करमा लुकेका कालिजका नै किन नहुन, बाल्यकालमा सङ्गालिएका सम्झनाहरु झट्टै मेटिईदा रहेनछन ।

कर्णाली तिर सडक किनारामा देखिईने मयुर हुन वा टाउकोमा सिउर भएका जुरेली नै किन नहुन अनगिन्ती चराहरुसङ्ग जोडिएका स्मृतिहरु मनभित्र छन । खेतका मुसा खाने उल्लु हुन या घरमा पालिएका चल्लाहरु जिप्ट्याउने शक्तिशाली बाज हुन । अनगिन्ती पन्क्षिहरुका याद र सम्झना छन यो मनभरी । ती सबै पन्क्षिहरुका नाम र सम्झना लेखेर साध्य पनि हुँदैन । मलाई प्रकृतिका यी सुन्दर पन्क्षिहरु सधैभर प्रिय लाग्दछन जो मेरो बाल्यकाल, किशोर काल र युवाकालमा नजरमा बसे ।

पन्क्षिहरु प्रकृतिका अभिन्न अंग हुन । प्रकृति हाँस्दा चरा हाँस्दछन र चरा हाँस्दा प्रकृति हाँस्दछ । प्राकृतिक प्रकोपले चराको बासस्थान नासिन्छ, हावाहुरि, आँधि र डढेलोले पन्क्षिहरुको बसोबास खल्बलिन्छ । प्रकृति सुरक्षित भयो भने मात्र यिनिहरु खुशी र सुरक्षीत हुन्छन । प्रकृतिसंग सधै नजिक रहेर प्रकृतिको गित गाउने पन्क्षिहरुको संरक्षण हाम्रै लागि पनि फाईदाजनक हुने बिज्ञहरुले बताउँदै आएका छन ।

हेर्दा आकर्षक र रमाईला यी पन्क्षिहरुको चिरबिराहट जोडिएपछि हरियाली वातावरणले कुन मान्छेको हृदय नछोएको होला र ? युट्युबमा अनेक जातिका पन्क्षिहरुका कर्म, मिहिनेत र जीवन सङ्घर्ष हेर्दा छक्क पर्छु । चराहरु उडेको देखेरै त मान्छेले उड्ने जहाज बनायो । आफ्नो सृष्टिलाई निरन्तरता दिन उनीहरुले चालेका हरेक कदमहरु मान्छेलाई सधै रुचिकर र प्रेरक देखिन्छन ।

झन्डै डेढ महिना लामो लकडाउनमा मान्छे घरभित्रै बसेपछी वायुमण्डलको ओजोन तह देखि हावाको गुणस्तरमा सुधार आएको, प्रकृति खुलेको र यसको प्रत्यक्ष लाभ पन्क्षी जगतलाई परेको पढ्दा पनि आनन्द महसुस भएको छ । वर्षा ऋतु अगावै पन्क्षिको वर्तमान पिढिले आफ्ना सन्तान हुर्काईसकेका छन, कुनैले हुर्काउँदै होलान पनि । पृथ्वीमा मान्छे, मुसा, कमिला र अरु केही जिबहरु छन जसले वर्षातको लागि भनेर खाद्यान्न संग्रह गरेर राखेका हुन्छन तर पन्क्षिहरुको न बस्ने घर हुन्छ न खाद्यान्नको सङ्ग्रह नै हुन्छ । फेरि पनि रमाएकै हुन्छन ।

प्रकृतिका सर्वोत्कृष्ट पन्क्षी हो, तिमिहरुले मेरो बाल्यकालमा दिलाएका अनगिन्ती सम्झनाहरु अझै पनि यो मनभरी मुटुभरी साँचेर राखेको छु ।

लेखक गैरे ब्यापारी तथा साहित्यकार हुन ।

कोरोना भाईरस संक्रमणको जोखिमसँगै लागु गरिएको लकडाउनका कारण घरभित्रै बस्न बाध्य हुनुभएका सम्पूर्ण पाठकहरुलाई लक्षित गरी हामिले ‘कडाउन विशेष’ कोलम थप गरेका छौं । लकडाउको समयमा तपाईहरुले गर्नुभएको अनुभुती हामीलाई लेखेर पठाउनुहोस । हामी तपाईको सामग्रीलाई उचित स्थान दिनेछौं ।

नमुना नबनेको ‘नमुना घर’ !