कोरोनालाई जितेका युवामा पुन: कोरोना संक्रमण

कोरोना संक्रमण भई १४ दिन अस्पताल बसेर घर फर्किएका एक व्यक्ति पुनः अस्पताल भर्ना भएका छन् । वैशाख ११ गते अस्पतालबाट डिस्चार्ज भई घर गएका ती व्यक्तिमा पुनः कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

रौतहटको इशनाथ नगरपालिकाका ती व्यक्तिमा एक्कासी ज्वरो आएपछि उनको घरमै गई स्वाबको नमुना लिएर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनमा फेरि पनि कोरोना पोजेटिभ देखिएको नारायणी क्षेत्रीय अस्पताल श्रोतले बताएको छ । अहिले उनलाई वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ ।

भारतको दिल्लीबाट करिब ४० दिन पहिले रौतहट आएका ती व्यक्ति सुरुको १४ दिन नगरपालिकाकै क्वारेन्टाइनमा बसेका थिए । त्यही क्रममा उनलाई कोरोना पोजिटिभ देखिएपछि नारायणी क्षेत्रीय अस्पताल वीरगञ्जमा राखी उपचार गरिएको थियो । अस्पतालमै राखेर उपचार गरेपछि उनको टेष्ट गर्दा नेगेटिभ आएको थियो । ३ पटकसम्म नेगेटिभ रिपोर्ट आएपछि ‘कोरोनालाई जितेको’ भन्दै उनलाई वैशाख ११ गते डिस्चार्ज गरिएको थियो ।

निको भएर घर फर्किए पनि त्यसको ४ दिनपछि ती व्यक्तिमा ज्वरो आएपछि उनको घरमै पुगेर पुनः स्वाबको नमुना लिएर आएको अस्पताल श्रोतले बताएको छ । उनीसहित उनको परिवारका सदस्यहरुको स्वाब परीक्षण गर्दा उनमा पुनः पोजेटिभ देखिएपछि वैशाख २० गते राति उनलाई अस्पताल ल्याइएको हो । रातोपाटीबाट