खेलकुदको भविश्य के होला ?

कसैले अनुमान नगरेको भाईरस जसलाई कोरोना नामाकरण गरियो, यसको असरबाट यतिबेला पुरै विश्व स्तब्ध छ । यतिखेर सबैतिर अनेक चिन्ता आशंका र छट्पटीहरु बढेका छन । विश्वको अर्थतन्त्र नराम्ररी धराशयी हुने क्रम जारी छ । व्यवसायिहरुले फिल्म हल भत्काउन खोजिरहेका छन, रिलिज भएर दर्शकको माझमा जान ठिक्क तयार भएका करोडौं अरबौं लगानिका फिल्महरुको भविष्य चौपट भएको छ । लाखौ करोडौं पुस्तकहरु छापिएर पनि बजारमा जान पाएका छैनन् । वायु सेवा कम्पनिहरु पार्किङ्ग शुल्क समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन । पर्यटन ब्यवसायिहरु, होटेल रेस्टुरेन्ट ब्यवसायिहरु सम्हालिनै नसक्ने गरि धराशायी हुँदैछन । कृषकका तरकारी, कुखुरा र दूध बारिमा र गोठमै मिल्किएका छन । अहिलेको समयमा विश्वमा त्यस्तो कुनै क्षेत्र बाँकी छैन जो वर्तमान स्थितिमा सुधार भएको होस ।

विश्वकै सबैभन्दा बढी हेरिने क्रीकेट खेलको भारतीय प्रीमियर लिग आई.पि.एल, बिश्वका चर्चित फुटबल लिगहरु ब्याडमिन्टन र बास्केट बल, रग्बी प्रतियोगिताहरु स्थगित भएका छन । लाखौ करोडौं खर्च गरेर अनुबन्ध गरेका खेलाडिहरु पाल्नु कैयौ क्ल्बहरुका लागि टाउको दुखाईको विषय बनिरहेको होला रु रातदिन क्रीकेट फुटबल हेर्ने र त्यसैका कुरा गरेर हुर्किएका पुस्ताहरुका छट्पटीहरुका कुरा त कतै उठाईएकै छैनन् । नियमित ब्यायाम गर्न नपाउँदा कति खेलाडीहरुको तौल बढ्यो होला ? कतिलाई मानसिक तनाब र छटपटीले औषधि सेवन गर्ने बनायो होला ?

साँच्चिकै जापानले ओलम्पिक गेम आयोजना गर्न पाउला कि नाई ? ओलम्पिक तोकिएको समयमा सम्पन्न गर्न नसके प्रतियोगिता नै रद्व हुने कुरा पनि बाहिर आईरहेको छ । ओलम्पिक भएन भने कति वर्ष देखि उसले गरेको तयारी र लगानिको भरपाई कसरी होला ? कथमकदाचित ओलम्पिक आयोजना भैईहालेछ भनेपनि यस्तो जोखिम समयमा दर्शहकहरु आउलान र ? विश्वभरीका खेलाडिहरु एकैपटक एकैठाउमा जम्मा हुँदा कोरोना संक्रमणको संभावना झन बढी हुदैन र ? यस्तो स्थितिमा ओलम्पिक नै रद्व गर्नुपर्यो भने बर्षौको त्याग र पर्खाईपछी ओलम्पिक खेलकुद आयोजना गर्ने मौका पाएको जापानको मन कति कुंडिएला । उसले गरेको अहिलेसम्मको लगानिको भरपाई कसले भरिदेला ? कोरोना प्रकोपले पार्ने असरहरुको गहिराइ कति छ भन्ने कुरा सानोतिनो विश्लेषणबाट मात्रै सम्भब छैन ।

मैले उठाउन खोजेको विषय अझै कतारको हो । फुटबल खेलको सबैभन्दा ठूलो विश्वकप-२०२२ फुटबल प्रतियोगिता आयोजना गर्ने आयोजक राष्ट्रको मौका पाएदेखी नै कतार विवादको भुमरीमा पर्दै आएको हो । पचासौं डिग्री तापक्रम भएको एशियाको सानो देशले विश्वस्तरको यति बिशाल फुटबल प्रतियोगिता सफलता पूर्वक संचालन गर्न सक्दैन भन्ने आलोचनाका बाबजुद उ निरन्तर आफ्नो काममा जुटेको छ । कतारले प्रतियोगितालाई अहिलेसम्म भएका प्रतियोगिता भन्दा पनि बेग्लै र पृथक तरिकाले आयोजना गर्छु भनेरै अत्याधुनिक रंगशाला बनाईरहेको छ । सडक, मेट्रो रेल देखि बिमानस्थलहरुको बिस्तार र स्तरवृद्धिसम्मका काम लगभग सिद्याईसकेको छ । अन्तराष्ट्रिय स्तरका मल, डिपार्टमेन्टल स्टोर्स देखि अनेकौ होटेल र रेस्टुरेन्टहरु संचालनमा ल्याएको छ । कतारलाई प्रतियोगिता आयोजना गर्न दिईएको निर्णय शुरुदेखी नै बिबादित रहेकोमा पछिल्लो पटक उसले रंगशाला निर्माणक्रममा नेपाली श्रमिक माथी गरेको ज्यादतिका मुद्वालाई एम्नेस्टी ईन्टरनेशनलले अन्तराष्ट्रिय स्तरमै उठाएको थियो । कतारको आलोचना र बिरोध व्यापक रुपमा चुलिए पनि विश्वकप प्रतियोगिता हुने दिन नजिकिदै आएको छ र निर्धारित समयमै खेल आयोजना हुने कुरामा कुनै शंका रहेन ।

नेपाली नागरिकको नाताले भलै हामिले विश्वको सर्वोच्च प्रतियोगिता टिकट काटेर हेर्ने मौका नपाउला त्यो अर्कै पाटो हुनेछ । नेपाली श्रमिकका रगत, पसिना र आँसुबाट बनेका संरचनामा खेलिने हरेक प्रतियोगिताहरु कतारले सोचेजस्तै चमकधमक ले भरिएलान र ?कोरोनाकै कारण कतारले पाएको यति ठूलो मौका फिक्का त हुँदैन ?

यतिधेरै आलोचना र बिबाद झेलेर पनि आफुले आयोजना गर्ने प्रतियोगिता कोरोनाकै कारण प्रभावित होला कि नाई ? प्रतियोगिता भैईहालेपनि लाखौ खेल समर्थहरु मैदान पुग्लान त ? उसले आफुलाई नयाँ पर्यटकीय गन्तव्य बनाउने लक्ष्य भेट्ला त ? अनेक प्रश्नहरु कतारका अगाडि छन र त्यसभन्दा बढी फुटबलको सर्वोच्च संस्था फिफाको चिन्ता अलग्गै होला । विश्वयुद्वका बिकराल दिनहरुमा बाहेक निरन्तर आयोजित विश्वकप प्रतियोगिता ओझेलमा पर्ने त होईन भन्ने चिन्ता सबैलाई हुनु स्वभाबिकै हो ।

विश्वमा खेलकुदको ईतिहास र परम्परा लामो रहिआएको छ । मनोरन्जन, व्यापार, आयआर्जन सबै दृस्टिकोणबाट खेलकुद क्षेत्रले मानिसको ध्यान खिच्न सफल देखिन्छ । आजकल मानिसहरु आफ्नो सम्पूर्ण जीवन खेलकुदमै लगाउन समर्पण गर्न तयार भएका देखिन्छन् । खेलेर पनि कमाउन घर घडेरी जोड्न र आकर्षक र बिलासी जीवन बिताउन सकिन्छ भन्ने सोच युवापुस्तामा वृद्धि हुँदै गएको छ । कतिपय खेलाडिले सरकारबाट तलब समेत पाईरहेका देखिन्छन । मान्छे जन्मेदेखी नै उ आफुलाई अब्बल र श्रेष्ठ साबित गर्न चाहन्छ । त्यसैले पनि उ आफुलाई स्थापित गर्न विभिन्न प्रतियोगिता र प्रतिस्पर्धामा सामेल हुन चाहन्छ । विश्व रंगमन्चमा खेलाडिले आफ्नो देशको नाम चम्काईदिएपछी कतिपय देशले खेलक्षेत्रमा ठूलो लगानी गरेका छन । त्यसो त खेलक्षेत्रमा हुने चरम प्रतिस्पर्धात्मक भावनाले गर्दा नै गाउँ, टोल, नगर, राष्ट्र हुँदै विश्वस्तरिय खेलकुदका प्रतिस्पर्धा भैईरहेका हुन्छन र यस्ता खेलकुदमा मान्छेहरुका जिज्ञासा रुचि र आकर्षण बढ्दै गएको देखिन्छ । अहिले लगानिको दृस्टीले सबैभन्दा धेरै पैसा खेलकुद क्षेत्रमै छ । मान्छेहरुको चासो र रुचि बढेपछि लगानिकर्ताहरुको आकर्षण पनि यतैतिर बढेको देखिन्छ ।

कोरोना प्रकोपले विश्वलाई नै लपेटेपछी भने विश्वभरका मान्छेहरु आफ्ना ब्यवसाय देखि सबैखाली रुचिलाई थाती राखेर घरभित्रै बस्न बिवश छन । विश्वभर रहेका हर प्रकारका व्यापार चौपट भएका छन । हुन लागेका खेल प्रतियोगिता पनि स्थगित भएका छन या तिनलाई पछिको लागि सारिएको छ । कतिपय मिति सार्न नमिल्ने प्रतियोगिता रद्व भएका छन ।

खेलकुदमा चर्को प्रतिस्पर्धा, रोमान्चकता र सस्पेन्स हुने भएकाले खेलकुदले सबै उमेर समुहका मान्छेलाई आकर्षित गर्ने हुनाले आम दर्शकले चर्को मूल्य तिरेर भएपनी खेल हेर्न खोज्छ । खेलकुदहरु बन्द हुदैगएपछी दर्शकहरु खेलको मज्जा लिनबाट बन्चित भएका छन । यस्तो अवस्थामा लामो समयदेखिको खेलाडिको तयारी समेत खल्लो हुन पुगेको छ । लगानिकर्ताको लगानी डुबिरहेको छ । लाखौ दर्शक अट्ने रंगशालाहरु कोरोना संक्रमित बस्न र उपचार गर्न क्वारेन्टिनका लागि खाली गराईएका छन । मान्छेको चहलपहल नभएपछि होटेल ब्यवसाय, रेस्टुरेन्ट, मार्केटहरु नराम्ररी प्रभावित भएका छन । यो अवस्थामा तत्काल सुधार हुने कुनै लक्षण देखिदैन ।

खोप बिकास भएर कोरोना प्रकोप निको या कम हुँदै गएपनि खेल हेर्नैका लागि भनेर केही बर्ष दर्शक रंगशाला छिर्दैनन् होला । रोग नियन्त्रण नभएसम्म मान्छे पहिलेजस्तरी बाहिर ननिक्लिन सक्छ । नियमित खेलकुदका कार्यक्रम नहुदा खेलाडिहरुमा जेनेरेसन ग्याप देखिन सक्छ । त्यसै त खेलकुदमा उमेर समुहको ठूलो महत्त्व हुन्छ । कुनै खेलाडी एक दिन एक हप्ता या एक महिनाकै फरक ले गर्दा आफ्नो उमेर हदबन्द्धी पार गरेका हुन्छन । खेलकुदका कार्यक्रम रोकिदा खेलाडीहरुको उमेर जस्तै तौल, मोटाई, उचाई घटबढ हुन सक्छ । एक महिना एक वर्षको फरकले गर्दा धेरै खेलाडीले सन्यास लिन पर्ने स्थिती आउन सक्छ । यस्तो अवस्थस्मा सबैभन्दा ठूलो असर नयाँ खेलाडीले झेल्नु पर्ने हुन सक्छ । उनिहरुले झेलकुद क्षेत्रमा वातावरण, मौका र अवसरहरु गुमाउन बाध्य हुन सक्छन ।

अहिलेको अवस्थामा भिडभाड गर्ने, मान्छे जम्मा भएर खेल्ने कुरा सम्भब नै छैन । खेलकुदलाई पहिले जस्तै ट्र्याकमा ल्याउन सबैभन्दा पहिले कोरोनाको औषधि पत्ता लाग्नु पर्छ । त्यसो त कतिपय विश्लेषकले यसको औषधि बन्न निकै समय लाग्ने बताईरहेका छन । यस्तो अवस्थामा खेलकुदका धेरै लगानिकर्ताहरु पर्ख र हेरको अवस्थामा छन । उनिहरु अब खुलेर लगानी गर्ने अवस्थामा या मुडमा हुने छैनन् । लगानी गरेकाहरु डुब्ने नै भए । खेलकुदलाई प्राथमिकता दिएका देशले समेत खेलकुद भन्दा अन्य क्षेत्रमा लगानी बढाउन थाल्ने छन । बास्तवमै यो समय खेलकुद क्षेत्रका लागि विषम समय हुन सक्छ । आउँदा केही वर्ष नेपालकै खेलकुद क्षेत्र पनि सुस्ताउदै नजाला भन्न सकिने अवस्था कमसेकम अहिलेलाई हामीसँग रहने छैन ।

कोरोना प्रकोपले विश्वलाई आफ्नो चङ्गुलमा नराम्ररी गाँजेको यो समयमा ब्यक्तिका ब्यक्तिगत तथ्यहरु आर्थिक सामाजिक हैसियत प्रभावित भएका छन । राज्य राज्य बिचका सम्बन्धहरु खल्बलिएका छन । एकअर्कामाथी अविश्वास र आशँका बढेका छन । पकृतिलाई मान्छेले जसरी बुझ्नु पर्ने हो, सम्मान गर्नु पर्ने हो त्यसमा गम्भीर चुक भएको छ । लगभग आठ दशक देखि अमेरिकाको विश्व ब्यवस्थाको बिकल्प तुरुन्तै भलै नदेखिएला तर त्यसमा परिवर्तनका संकेतहरु देखिन थालि सकेका छन । मान्छेले आणविक हतियार बनायो, बिकासका अनेक संरचना बनायो तर पनि कोरोनासँग लड्न उसका प्रयास प्रयाप्त देखिएनन् । मान्छेले प्रकृतिसँग गरेको खेलवाडको मूल्य अन्य क्षेत्रहरु झै खेलजगतले पनि लामो समय चुकाउनु पर्नेछ ।

लेखक गैरे ब्यापारी तथा साहित्यकार हुन ।

कोरोना भाईरस संक्रमणको जोखिमसँगै लागु गरिएको लकडाउनका कारण घरभित्रै बस्न बाध्य हुनुभएका सम्पूर्ण पाठकहरुलाई लक्षित गरी हामिले ‘कडाउन विशेष’ कोलम थप गरेका छौं । लकडाउको समयमा तपाईहरुले गर्नुभएको अनुभुती हामीलाई लेखेर पठाउनुहोस । हामी तपाईको सामग्रीलाई उचित स्थान दिनेछौं ।

 

गिद्ध र समय !