काखे बच्चा छाडेर कोरोना संक्रमितको उपचारमा जुटेकी नेपाली नर्स

न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा कोभिड १९ को हेरचाहमा कार्यरत नेपाली नर्स ममता ढकालले अमेरिकामा नेपालीहरु लगायत सबैलाई घरभित्रै बस्न आग्रह गरेकी छिन् ।

न्युयोर्कबाट प्रकाशितरप्रसारित खसोखाससँग कुराकानी गर्दै उनले भनिन्, ‘यदि तपाईलाई सामान्य खालको लक्षण देखिएको छ भने पनि घरभित्रै सेल्फ क्वारेन्टाइनमा बस्नुहोस् । कोरोना भाइरस पोजेटिभ नै भएपनि सामान्य लक्षण भएको अवस्थामा घरभित्रै बस्नु उपयुक्त हुन्छ ।’

कोरोना संक्रमणको जस्तो सामान्य लक्षण देखिएका तर संक्रमण नभएका बिरामीहरु कोरोना परीक्षणका लागि अस्पताल आउँदा भींडभाड र लाइनमा झन् संक्रमणको खतरा हुने भएकाले सामान्य लक्षण देखिनासाथ अस्पताल नआउन उनले सुझाव दिएकी छिन् ।

यदि कसैलाई स्वास फेर्न गाह्रो भएको छ, ज्वरो आएको छ, बान्तामा रगत देखिएको छ, हिड्न नसक्ने अवस्था छ भने अर्थात् अवस्था गम्भिर रहेको छ भने स्वास्थ्य सहयोग खोज्न उनले सुझाव दिएकी छिन् ।

यदि कसैसँग एन ९५ मास्क र पीपीई भएमा एल्महस्र्ट अस्पतालमा डोनेशन गर्न समेत उनले आग्रह गरेकी छिन् । विरामीको हेरचाह गर्नका लागि स्वास्थ्यकर्मीहरुलाई यस्ता मास्क र पीपीईको आवश्यकता रहेको उनको भनाई छ । एउटै मास्क १२ घण्टासम्म प्रयोग गर्नुपर्ने बाध्यता रहेको र पीपीईको समेत अभाव रहेको उनले बताइन् ।

ढकाल तीन महिनाको बच्चालाई घरमा छाडेर कोभिड १९ का बिरामीको हेरचाहमा खटिएकी छिन् । अस्पतालबाट घरमा गइसकेपछि पनि परिवारका अन्य सदस्यलाई नछुने र टाढै बस्ने गरेको उनले बताइन् । उनले भनिन्, ‘घरमा गइसकेपछि म छुट्टै कोठामा बस्दै आएकी छु ।’

२ बर्षदेखि एल्महस्र्ट अस्पतालमा कार्यरत उनले कोभिड १९ का बिरामीको हेरचाह सुरु गरेदेखि घरमा पनि क्वारेन्टाइनमा नै बसेको जानकारी दिइन् । उनले घरमा भाँडाहरु पनि अलग्गै प्रयोग गर्ने गरेको बताइन् । उनले भनिन्, ‘तीनमहिनाको बच्चा, श्रीमान् र सासुससुरा अलग्गै बस्नु भएको छ । मैले बच्चालाई पनि टाढैबाट हेर्छु । स्तनपान समेत गराएको छैन ।’