वाणिज्य संघद्धारा ६२० थान पिपिई सहयोग

नेपालगन्ज उद्योग वाणिज्य संघले भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र राँझास्थित नेपाली सेनाको अस्पतालमा प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले तीन वटै स्वास्थ्य निकायलाई ६ सय बढि पिपिई हस्तान्तरण गरेका हुन ।

कोरोना भाईरस संक्रमित मिरामीको उपचारमा संलग्न चिकित्सवले लगाउनुपर्ने पिपिई (प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट) को अभाव देखिएपछि वाणिज्य संघले आफ्नै लगानीमा पिपिई निर्माण थालेको थियो । जसअन्तर्गत भेरी अस्पताललाई ५ सय थान, नेपालगन्ज मेडिकल कलेजलाई १ सय थान र नेपाली सेनालाई २० थान पिपिई उपलब्ध गराईएको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी दिए ।

पिपिई कोरोना संक्रमण भएका बिरामीको स्वास्थ्य उपचार गर्ने स्वास्थ्यकर्मीले आफ्नो सुरक्षाका लागि लगाउनै पर्ने कपडा हो । नेपालगन्जमा यो उपलब्ध नहुँदा स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य परीक्षण गर्नै नसक्ने अवस्था उत्पन्न भएको थियो । स्वास्थ्यकर्मीको मागलाई ध्यानमा राख्दै नेपालगन्ज उद्योग वाणिज्य संघले पिपिईको सहयोग गरेको हो ।

संघका महासचिव चिरञ्जीवी ओलीले चिकित्सकको सल्लाह अनुसार पिपिई तयार गरीएको बताए ।