मजदुर कोषमा सोफियाको स्कुलको ३० हजार

दैनिक ज्यालामजदुरी गरी जिविकोपार्जन गर्दै आएका मजदुरहरुलाई सहयोग गर्ने उद्धेश्यले स्थापना गरीएको मजदुर सहायता कोषमा रकम जम्मा गर्नेको सँख्या बढ्दै गएको छ । प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको अग्रसरतामा बुधबार खडा गरीएको “Covid-19 Relief Fund, Banke” कोषमा हालसम्म १ लाख ५० हजार रकम जम्मा भएको छ ।

यसैबिच नेपालगंज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सोफिया रेजिडेन्सियल इङ्लिस स्कूलले उक्त कोषमा ३० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बिहिबार विद्यालयले मजदुर कोषकालागि ३० हजार नगद सहयोग गर्ने निर्णय गरेको स्कुल संञ्चालक सदस्य डक्ट प्रसाद धितालले जानकारी दिए ।

कोषको स्थापना गर्दै प्रदेश सभा सदस्य नमुनाले ५० हजार जम्मा गरेकी थिईन । कोषको घोषणा भएलगत्तै डा. राजन पाण्डेले समेत ५० हजार दिने घोषणा गरेका थिए । त्यसैगरी अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य तथा सहकारी बैंकका संचालक सदस्य बिजया धितालले बिपन्न बर्ग (मजदुर) कोषमा २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरीसकेकी छन ।