संसारको इतिहास बदल्ने पाँच महामारी

कोरोना भाइरसका कारण अहिले संसार आतंकित छ । यसले मानिसको रहनसहनमा नै परिवर्तन ल्याइदिएको छ । संसारको अर्थव्यवस्थामा मन्दी छाएको छ । विश्वमा हुने हरेक महत्वपूर्ण घटनामा अगुवाइ गर्ने अमेरिका यसपटक पछाडि परेको छ भने चीनले यसपटक आफूलाइ अब्बल सावित गर्दै अमेरिका तथा युरोपलाई समेत गुन लगाउन भ्याएको छ ।

विश्वमा यस्ता महामारी बेला बेला देखिने गरेको छ । यसले विश्व अर्थ व्यवस्था तथा नेतृत्वदायी भूमिकामा पनि परिवर्तन ल्याउने गरेको पाइन्छ ।

प्रस्तुत छ, संसारका विभिन्न ५ महामारी जसले एकप्रकारले भन्नुपर्दा संसारको इतिहास नै बदलिदिएको थियो ।

१) ब्ल्याक डेथ र पश्चिमी युरोपको उदय

ब्ल्याक डेथ याने कि प्लेगको महामारीका कारण चौधौ शताब्दीमा युरोपको झण्डै एकतिहाइ जनसंख्या स्वाहा भयो । दशौं लाख मानिसको मृत्यु भएको यस महामारीलाई पश्चिमी युरोपका धेरै देशले एउटा अवसरका रुपमा लिए र आफूलाई समृद्धशाली राष्ट्रको रुपमा उभ्याए । धेरै मानिसको मृत्यु भएका कारण कृषिमा काम गर्ने जनशक्तिको अभाव भयो । जमिन्दारी खत्तम भयो । जमिन्दारको कैदबाट कामदार स्वतन्त्र भए । मजदुरको माग बढी भयो । मोलमोलाइ गर्ने क्षमता बढ्यो । मजदुरी गर्ने प्रचलनको शुरुवात भयो । मानविय जनशक्तिको अभाव भएपछि मेशिन तथा औद्योगिकीकरणको शुरुवात भयो । फलस्वरुप पश्चिम युरोपका धेरै देशले आफूलाई शक्तिशाली राष्ट्रको रुपमा उभ्याए ।

प्लेग संक्रमणको यो दौरपछि लामो समुद्री यात्राको शुरुवात भएको मानिन्छ । यसअघि यस्तो यात्रा जोखिमपूर्ण र महंगो ठानिन्थ्यो । तर, प्लेगको महामारीले लाखौं मृत्यु आफ्नै आँखाअगाडि देखेकाहरुको लागि अब मृत्यु सामान्य रह्यो । अब उनीहरु नयाँ ठाउँ गएर नयाँ खोजमा उत्प्रेरित हुन थाले । जसले गर्दा अर्थव्यवस्था मजबुत भयो र यहिंबाट साम्राज्यवाद र उपनिवेशवादको शुरुवात भएको मानिन्छ ।

समुद्री यात्राको शुरुवातपछि जहाँ-जहाँ उनीहरुले आफ्नो उपनिवेश बनाए त्यहीँको कमाइबाट आर्थिक अवस्था पनि सुदृढ बनाए । नयाँ प्रविधिमा लगानी गरे । नयाँ प्रविधि र मजबुत आर्थिक स्थितिका कारण उनीहरुले आफूलाइ वैभवशाली राष्ट्रको रुपमा उभ्याए । एक प्रकारले भन्नुपर्दा प्लेगले युरोपलाई चुनौती, अवसर र एक प्रकारको नयाँ उर्जा नै प्रदान गर्‍यो भन्दा अत्युक्ति नहोला ।

) बिफर र जलवायु परिवर्तन

पन्ध्रौँ शताब्दीको अन्तमा उपनिवेशवाद विस्तारका क्रममा युरोपियनहरु अमेरिका पुगे । उनीहरु अमेरिका पुगेसँगै धेरै बिमारी पनि सँगै लिएर गए । युनिभर्सिटी अफ लन्डनका वैज्ञानिकहरुको एक अध्ययनका अनुसार त्यसबेला अमेरिकी महाद्विपमा रहेको करीब ६ करोडको जनसंख्या एक शताब्दीमा घटेर साठी लाखमा सीमित हुनपुग्यो । जसको एउटा प्रमुख कारण थियो बिफर । बिफरसँगै, हैजा, मलेरिया र प्लेग पनि यसका अन्यकारण हुन् ।

जनसंख्यामा कमीका कारण एउटा ठूलो हिस्सा स्वतः चरण र जंगलमा परिणत भयो । एक अनुमानका अनुसार करीब ५ लाख ६० हजार वर्ग किमि क्षेत्र जंगलमा परिणत भएको थियो । जंगलको वृद्धिसँगै कार्वनडाइअक्साइडमा कमी भई तापक्रममा समेत कमी आएको थियो । यसका कारण संसारको धेरै भागको तापक्रममा कमी आएको अन्टार्टिकामा पाइएको हिउँको नमूनाको अध्ययनबाट पत्ता लागेको थियो ।

वैज्ञानिकका अनुसार अमेरिकामा वृद्धि भएको हरियालीसँगै तापक्रममा कमी, धेरै संख्यामा ज्वालमुखीको विस्फोट तथा सूर्यको गतिविधिमा आएको कमीका कारण संसारको तापक्रममा नै कमी हुनपुग्यो । जसलाइ ‘लिटल आइस एज’का रुपले पनि चिनिन्छ । युरोपियनले साम्राज्यवादको विस्तारमा जुन वातावरणीय विनाश गरेका थिए त्यसको फलस्वरुप हुन पुगेको जलवायु परिवर्तनका कारण युरोपले खाद्यान्न अभाव तथा खडेरीको सामना गर्नुपरेको थियो ।

३) जण्डिस र अमेरिकाको उदय

फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले हैटीलाई आफ्नो उपनिवेश बनाउनका लागि युद्धमा ठूलो संख्यामा सैनिक पठाए । युद्धको मैदानमा त ती सैनिकले बहादुरी देखाए तर हैटीमा फैलिएको जण्डिसका अगाडि भने उनीहरुको केही चलेन । आप्रवासीका रुपमा गएका उनीहरुले रैथानेले जस्तो जण्डिसको सामना गर्न सकेनन् । एक अनुमानका अनुसार करिब पचास हजार सैनिक, अन्य अधिकारी तथा डाक्टरले जण्डिसका कारण ज्यान गुमाउन पुगे । युद्धका लागि त्यसबेला हैटी गएका फ्रान्सेली सैनिक मध्ये केवल तीन हजार मात्र जिउँदो फर्केका थिए ।

जण्डिससँगको यो हार पछि उत्तरी अमेरिकामा विस्तार गर्न खोजेको आफ्नो उपनिवेशलाई फ्रान्सले स्थगित मात्र गरेन, त्यसको दुई वर्ष पछि २१ लाख वर्ग किमि क्यारेबियन भू-भाग अमेरिकी सरकारलाई बिक्री गर्‍यो । जसलाई लुसियाना पर्चेजको नामले चिनिन्छ । यसपछि अमेरिकाको भौगोलिक सीमा झण्डै दोब्बर भएको थियो । यसले अमेरिकालाई विश्व महाशक्तिको रुपमा उदाउन ठूलो मद्दत गरेको थियो ।

४) राइन्डरपेस्ट र अफ्रिकी उपनिवेश

सन् १८८४/८५ मा जर्मनीको राजधानी बर्लिनमा युरोपियन देशको एउटा सम्मेलन भएको थियो । यसमा १४ राष्ट्र सहभागी भएका थिए । विशेषगरी बेलायत, जर्मन, बेल्जियम, पोर्चुगल र इटालीले त्यसबखत अफ्रिकाका कुन-कुन देशमा कस्ले उपनिवेश कायम गर्ने भन्ने सहमति भएको थियो ।

सन् १८७० को दशकमा अफ्रिकाको करीब १० प्रतिशत भू-भागमा युरोपियन राष्ट्रको उपनिवेश कायम थियो । तर, तीन दशक पछि भने अफ्रिकाको ९० प्रतिशत भू-भाग युरोपको कब्जामा परिसकेको थियो । यसको प्रमुख कारण भनेको १८८८ मा भएको राइन्डरपेष्ट नामक महामारी थियो । यो महामारीले मानिसलाई केही असर नगरे पनि अफ्रिकाका ९० प्रतिशत जनावर सखाप भएको थियो । यसले गर्दा कृषिमा आधारित अफ्रिकी जनताको कृषिको मुख्य हतियार गाई, गोरु सखाप बनायो र भोकमरीको स्थिति पैदा भयो । यो विषम परिस्थितिको फाइदा उठाउँदै करिब ९० प्रतिशत अफ्रिकालाई युरोपले उपनिवेश बनायो ।

संयुक्त राष्ट्रसंघको हिस्ट्री अफ अफ्रिकामा अफ्रिकाको उपनिवेशवादको बारेमा, अफ्रिकामा साम्राज्यवादले त्यसबखत शिर उठायो जब अफ्रिकीहरु ठूलो आर्थिक संकटको सामना गरिरहेका थिए, भन्ने उल्लेख गरिएको छ ।

५) प्लेग तथा मिंग वंशको पतन

चीनमा मिंग राजवंशले करीब तीन शताब्दीसम्म राज गरे । मिंग वंशले पूर्वी एशियाको ठूलो इलाकामा आफ्नो राजनैतिक तथा साँस्कृतिक प्रभाव समेत राम्रै छोडेका थिए । तर प्लेगका कारण मिंग वंशको पतन भयो ।

सन् १६४१ मा उत्तरी चीनमा प्लेगका कारण झण्डै २० देखि ४० प्रतिशत जनसंख्या मृत्युको मुखमा पुगेका थिए । चीनमा उत्तरतिरबाट आएका आक्रमणकारीले यो रोग ल्याएको अनुमान गरिन्छ । यसका कारण शक्तिशाली मिंग राजवंशको अन्त्य भएको थियो ।

प्लेगसँगै संगठित रुपमा त्यहाँ मंचुरियन वंशको उदय भएको थियो । त्यसपछि उनीहरुले चीनमा लामो समय शासन गरे । मिंग वंशको पतन हुनुमा खडेरी तथा भ्रष्टाचार पनि अहं रहेको मानिन्छ । तर पनि प्लेग भने मिंग वंशको पतनको मुख्य कारण बताइन्छ ।

निश्चय पनि महामारीलाई राम्रो मान्न सकिंदैन जसले हजारौं निर्दोषको अकारण ज्यान लिने गर्छ । तर, हरेक नकारात्मक कुराको पछाडि केही सकारात्मकता पनि लुकेको हुन्छ भनिन्छ । अहिले विश्वमा देखा परेको कोरोना भाइरसका कारण थुप्रैले ज्यान गुमाएका छन् । अर्थतन्त्रमा नकारात्मक असर परेको छ । तर, हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैं यस पटकको कोरोना महामारीले वैश्विक नेतृत्व तथा अर्थतन्त्रमा पनि सकारात्मक परिवर्तनको आशा गर्न सकिन्छ । हामीले अहिले गर्न सक्ने कामना भनेको यति नै हो । देशसञ्चारबाट साभार