लकडाउनमा दीपक बज्राचार्यको फेसबुक कन्सर्ट

गायक दीपक बज्राचार्यले फेसबुक लाइभबाट कन्सर्ट गरिरहेका छन् । कोभिड-१९ को विस्तार रोक्न सरकारले पूरै देशभर लकडाउनको आदेश जारी गरेपछि घरभित्रै बसिरहेकाहरूका लागि उनले फेसबुक कन्सर्टमार्फत् मनोरञ्जन दिएका हुन् ।

केही अघि कन्सर्टको लागि अष्ट्रेलिया पुगेका गायक बज्राचार्य कोभिड-१९ तीव्र गतिमा फैलिन थालेपछि बीचमै स्वदेश फर्किएका थिए । नेपाल फर्किएपछि उनी पनि ब्याण्डका अन्य सदस्यसँगै सेल्फ क्वारेन्टाइनमा बसेका थिए ।

गायक दीपक बज्राचार्यले अहिले पनि सेल्फ क्वारेन्टाइनमा रहेका आफूसँगै अष्ट्रेलियाबाट फर्केका ब्याण्डका ६ जनासँगै कन्सर्ट गरिरहेका छन् ।

उनले फेसबुक लाइभमा आफ्ना चर्चित गीत गाइरहेका छन् । गायक दीपकले बिचबिचमा दर्शकलाई नाच्न पनि आग्रह गरिरहेका छन् । आफूहरू कन्सर्टमा जाँदा सधैं दर्शकहरू नाचुन् भन्ने चाहना राख्ने गरेको उल्लेख गर्दै उनले यहाँ पनि नाच्न आग्रह गरेका छन् ।

लाइभका क्रममा उनलाई सुझाव पनि प्राप्त भइरहेका छन् । उनले त्यसलाई पनि प्रस्तुत गरिरहेका छन् । अहिले करीब चार हजार जनाले उनको फेसबुक लाइभ कन्सर्ट हेरिरहेका छन् । दर्शक संख्या नघटेसम्म आजको कन्सर्ट जारी राख्ने उनले बताएका छन् ।