नेपालगञ्ज उपमहानगरपालिकाका मेयर राणाद्वारा नगरबासीका नाममा गरिएको सम्बोधन

आदरणीय नेपालगञ्जबासी दिदीबहिनी तथा दाजुभाइहरू, कोरोना भाइरस (कोभिड १९) को महामारी यतिबेला विश्वब्यापी स्वास्थ्य समस्याको रुपमा देखिएका छ । छिमेकी मुलुक चीनबाट सुरु भएको कोरोना अहिले विश्वका अधिकांश मुलुकहरूमा फैलिसकेको छ । विश्वका शक्तिशाली र विकसित मुलुकलाई समेत यससंग जुध्न कठिन परिरहेको अवस्था छ ।

नेपालमा हालसम्म यो रोग देखिएको छैन । तर नेपालगञ्जसँग सीमा जोडिएका भारतीय शहरमा यो रोग देखिईसकेको छ । भारतका विभिन्न स्थानबाट दैनिक हजारौं नेपालगञ्ज नाका हुँदै फिर्ता भईरहेका कारण मुलुकका अरु स्थान भन्दा नेपालगञ्ज उच्च जोखिममा छ । अहिलेको विषम परिस्थितीमा रोग देखिएको छैन भनेर ढुक्क भएर बस्ने अवस्था छैन । तसर्थ नगरबासी थप सजग, सचेत र सावधान हुन जरुरी छ । आम नागरिकको स्वास्थ्य सबैभन्दा ठुलो र महत्वपूर्ण हो । स्थानीय सरकारले सधै जनस्वास्थ्यलाई प्रमुख मान्दै आएको छ ।

कोरोना भाईरस विश्वव्यापी स्वास्थ्य समस्या बनिसकेको अवस्थामा नेपालगञ्जमा रोगको संक्रमण हुन नदिन पुर्व तयारीसँगै यसबाट हुन सक्ने प्रभावका बारेमा नेपालगञ्ज उपमहानगरपालिकाले निरन्तर पहलकदमी लिदै आएको छ । संघीय, प्रदेश सरकार र अन्य स्थानीय तहबीच समन्वयमा विभिन्न काम भईरहेको अवस्था छ ।

नेपालगञ्ज उपमहानगरपालिका समेतको अग्रसरतामा नेपालगञ्जको लायन्स डेन्टल अस्पतालमा कोरोना विशेष अस्थायी अस्पताल निर्माण गरिएको छ । महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टान स्थापनाको तयारी भईरहेको छ । भारतबाट मालसामानको नियमित आपुर्ती भईरहेका कारण बजारमा कुनै पनि अत्यावश्यक वस्तुको अभाव हुन नदिन बजर अनूगमनमा तिव्रता दिइएको छ । संकटको घडिमा कालोबजारी गर्नेहरुलाई कानून अनुसार हदैसम्मको सजाय हुनेछ । तसर्थ भविष्यमा वस्तु तथा मालसामानको अभाव हुन्छ कि भनेर एकैसाथ धेरै मालसामान खरिद गरि बजारमा दैनिक उपभोग्य सामानको अभाव हुने अवस्था सिर्जना हुन नदिन सम्पूर्ण नगरबासीमा अनुरोध गर्दछु ।

नेपालगञ्ज उपमहानगरपालिकाको पहलमा कोरोना विरुद्ध संयुक्त तयारीका लागि जिल्ला स्तरीय टास्कफोर्स गठन भएको छ । विभिन्न समितिले तदारुकताका साथ काम गरिरहेको अवस्था छ । उपमहानगरपालिकले जमूनाह नाका, विमानस्थल, बसपार्क र बढि मानिसहरु जम्मा हुने स्थानमा हेल्थडेस्क संचालन गरिरहेको छ ।

आदरणीय नगरबासी दिदिबहिनी तथा दाजुभाईहरु,

विश्वका शक्तिशाली देशहरुले पनि महामारीसंग जुध्न नसकेको अवस्थामा हामीले रोगको संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउन जरुरी छ । तत्कालिन समयमा पक्कै पनि दैनिक जीवनयापनमा पनि केही असहजता हुनेछ । तर महामारीसँग जुध्नका लागि यो अत्यावश्यक पनि छ । यसैगरी विगतमा भन्दा अझ बढि र प्रभावकारी ढंगले ब्यक्तिगत सरसफाईमा ध्यान दिन पनि उत्तिकै आवश्यक छ ।

तेश्रो मुलुक तथा भारतका विभिन्न स्थानबाट भित्रिईरहेका नेपालीहरुलाई १४ दिनसम्म घरमै क्वारेन्टाईनमा बस्न आग्रह छ । आम नगरबासीलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध छ । यतिबेला सिंगो विश्व नै महामारीबाट आक्रान्त बनिरहेको अवस्थामा प्रत्येक नागरिक पनि जिम्मेवार भई प्रस्तुत हुनुहुनेछ भन्ने हाम्रो बिश्वास छ ।

अहिले सम्म रोग नदेखिएको अवस्थामा संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज शिक्षण अस्पताल सहितका विभिन्न अस्पतालहरुबाट गर्ने ब्यवस्था मिलाउन समन्वय गरिएको छ । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी सहित सुरक्षाकर्मी एवं उपचार तथा अन्य कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी लगायतका जनशक्तिलाई उचित प्रोत्साहन सहित उच्च मनोबलका साथ काम गर्न अपिल गर्दै उहाँहरुका लागि आवश्यक श्रोत साधन र उपकरण तत्काल ब्यवस्था मिलाइने छ ।

आदरणीय नगरबासी दिदिबहिनी तथा दाजुभाईहरु,

यतिबेला स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने अवस्था आएको छ । यसका लागि नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको मिति २०७६ साल चैत ९ गते बसेको आकस्मिक बैठकले गरेको निर्णय म यहाँ सार्वजनिक गर्न चाहन्छु ।

– अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा २०७६ चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने ।
– उपमहानगरपालिकाका वडाबाट हुने सिफारिसको सम्पूर्ण कार्य बन्द गर्ने ।
– उपमहानगरपालिका र वडा कार्यालयका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरि आन्तरिक कार्य मात्र गर्ने ।
– उपमहानगरपालिकाले नगर बस,सटरभाडा लगायत अन्य भाडा २०७६ चैत २१ गते सम्मका लागि मिनाह गर्ने ।
– स्वास्थ्यकर्मीहरुलाई उपकरण लगायत अत्यावश्यक सामाग्री र उपकरण तत्काल ब्यवस्थापन गर्ने ।
– सम्पूर्ण वडाहरुले थ्रि लेयरको मास्क निर्माण गर्न लगाई वितरण गर्ने ।
– विपन्न समुदायका लागि साबुन वितरण गर्ने ।
– नगर क्षेत्रमा सरसफाईमा ध्यान दिदै ससाना नालाहरु सफा गर्ने, चुना लगाउने र घास हटाउने कार्य गर्ने ।
– कोरोना भाईरसबाट आम नगरबासीलाई सुरक्षित राख्न विभिन्न प्रचारात्मक अभियान चलाउने ।
– सम्पूर्ण वडाहरुमा हेल्थ डेस्क स्थापना गरि स्वास्थ्य परीक्षण गर्ने ।
– नगर बस,महेन्द्र पार्क र रानी तलाउ १५ दिनसम्म बन्द गर्ने ।
– नगर प्रहरी परिचालन गरि खुला मासु तथा खुला तथा फुटपाथमा चाट तथा अन्य विक्रि वितरण बन्द गर्ने ।
– सरसफाईकर्मीहरुले अनिवार्य मास्क र ग्लोव लगाएर मात्र काम गर्ने ब्यवस्था तत्काल मिलाउने ।
– कोरोना भाईरस (कोभिडं १९) पुर्व तयारीका लागि स्थापित कोषमा सहयोगका लागि सम्पूर्ण उद्योगी ब्यवसायी, सहकारी, संघ संस्था तथा सहयोगदातामा हार्दिक अनुरोध गर्ने ।
– अन्त्यमा कोरोना भाईरस विरुद्ध जुध्नका लागि स्थानीय सरकार वा कुनै संघ संस्थाले मात्रै सम्भव नहुने भएकाले आम नगरबासीबाट पूर्ण साथ र सहयोगको अपेक्षा नेपालगञ्ज उपमहानगरपालिकाले गरेको छ ।
धन्यवाद !
९ चैत २०७६