कोहलपुर भोलीदेखी लकडाउन, बजार पूर्ण रुपमा बन्द

कोहलपुर नगरक्षेत्रलाई भोली सोमबारदेखी ‘लकडाउन’ गरिने भएको छ । आईतबार कोहलपुर नगरपालिकाको समन्वयमा बसेको सर्वपक्षिय बैठकले कोहलपुरलाई लकडाउन गर्ने निर्णय गरेको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले जानकारी दिएका छन ।

विश्वब्यापी रुपमा फेलिएको कोरोना भाईरसको संक्रमणलाई रोक्न सोमबारदेखी १ महिना कोहलपुरलाई लकडाउन गर्ने निर्णय भएको रावतले बताए । लकडाउन अवधिभर कोहलपुर नगरक्षेत्रभित्रका सम्पूर्ण पसल ब्यवसाय बन्द हुने भएका छन । नगरवासीको सुविधाकालागि हरेक दिन बेलुका ४ बजेदेखी ६ बजेसम्म खाद्यान्नका पसलहरु भने संचालन गरीने भएको छ । यसबाहेक मेडिकल, अस्पताल र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरु पनि संचालनमा आउने छन ।

नगरपालिकाले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरेको छ ।

यद्यपी लकडाउनको समयमा छोटो दुरीका सवारी साधन संचालनमा आउने भएका छन ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको विपद ब्यवस्थापन समितिको बैठकमा नगर स्वास्थ्य शाखा प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि, मेडिकल कलेजका प्रतिनिधि, ईलाका प्रशासन कार्यालयका प्रमुख तथा ईप्रका कोहलपुरका प्रमुख लगायत सहभागी भएका थिए ।