सेवा बन्द गरेसँगै सुनसान बन्यो मालपोत कार्यालय

कोरोना भाइरसको संक्रमण बढेसँगै जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरुले आफ्ना सबै सेवाहरु बन्द गरेका छन । केन्द्रिय सरकारले जारी गरेको निर्देशन अनुसार अत्यावश्यक बाहेकका सबै सेवा बन्द भएपछि कर्मचारीहरु फुर्सदिला भएका छन । दिनहुँ सयौंको भीड हुने कार्यालयहरु आजभोली सुनसान बनेका छन ।

जिल्लाकै सबैभन्दा बढि भिडभाड हुने भुमिसुधार तथा मालपोत कार्यालयमा आउने सेवाग्राहीको सँख्या ह्वात्तै घटेको छ । सरकारले एकै ठाउँमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएसँगै अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवाहरु बन्द गरिएको मालपोत कार्यालय बाँकेका प्रमुख मालपोत अधिकृत प्रेम दौल्यालले जानकारी दिए । अधिकृत दौल्यालका अनुसार चैत २१ गतेसम्म अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द गरिएको हो ।

थप जानकारी तथा सेवाहरु सूचारु हुने सम्बन्धमा कार्यालयको आधिकारिक सूचनाको प्रतिक्षामा रहन अधिकृत दौल्यालले आग्रह गरेका छन् । दौल्यालका अनुसार कार्यालयका बाह्य सेवा बन्द भएपनि आन्तरिक गतिविधि भने संचालन गरीने भएकाले कर्मचारीहरु कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने छ ।

दौल्यालले सेवाग्राहीहरुमा संयमित रहन अनुरोध गर्दै स्वस्थ र सुरक्षित जीवनशैलीको कामना गर्दै कोरोना भाइरसविरुद्ध एकजुट हुन आग्रह समेत गरेका छन ।