क्युवाको क्रान्तिले सिकाएको शिक्षा

संयुक्त राज्य अमेरिकाको नाकैमुनी रहेको क्युबामा सन् १९५९ जनवरी १ तारीखमा क्रान्ति सम्पन्न भएको थियो । क्युवाली क्रान्तिको नेतृत्व फिडेल क्यास्ट्रो र चे ग्वेभाराले गरेका थिए । फोकोवादमा आधारित सशस्त्र संघर्षद्वारा गाउँदेखि सहरको सत्ता कब्जा गर्ने नीति अनुसार क्युवाली क्रान्ति सम्पन्न भएको थियो । यस क्रान्तिले विश्वमा दादागिरी मच्चाई रहेको अमेरिकी साम्राज्यवादलाई गतिलो थप्पड दिएको थियो भने विश्वभरका कम्युनिस्ट सर्वहारा क्रान्तिकारीहरुका बिचमा क्रान्तिको आशामा रक्तसंचार गरेको छ ।

क्युवा मध्यअमेरिकाको क्यारेवियन द्वीप समूह मध्येको एक ल्याटिन अमेरिकी राज्य हो । यो राज्य क्यारेवियन र उत्तर एटलान्टिक महासागरमा अवस्थित टापुको रूपमा रहेको छ । क्युवाको राजधानी हवाना हो । यसको क्षेत्रफल १,१०,८६० वर्गकिलोमिटर रहेको छ । क्युवा अमेरिकाको फ्लोरिडा राज्यभन्दा मात्रै ८० किलोमिटर टाढा छ । सन् २००८ जुलाइमा भएको जनगणना अनुसार क्युवाको जनसंख्या १,१४,२३,९५२ रहेको छ । क्युवा सन् १९०२ मे २० मा स्पेनको उपनिवेशबाट स्वतन्त्र भएको थियो ।

अमेरिकाको अत्यन्तै निकट रहेको क्युवाली क्रान्ति विश्वका लागि अत्यन्त महत्वपूर्ण घटना मानिन्छ । यो क्रान्तिको सुरु ८२ जना क्रान्तिकारीहरुले तानाशाह बाटिस्टाको सु-सज्जित सेनासँग लड्न सुरु गरेर सफलता हासिल गरेको थियो । मौलिक कार्य-रणनीतिमा आधारित क्युवाली क्रान्ति सुरु गरिएको तीन वर्ष भित्रै सफल भएको थियो । यस क्रान्तिमा किसानहरुले महत्वपूर्ण भूमिका निभाएका थिए । स्मरण रहोस्, सन् १९५६ मा मध्यल्याटिन अमेरिकी देश क्युवा तानाशाह बाटिस्टाको अमेरिकी समर्थित सरकारको कुशासन, जनघात, हत्या र राष्ट्रघातका विरुद्ध यो क्रान्ति प्रारम्भ गरिएको थियो । विरोधिहरुलाई निर्मम दमन गरेको हुँदा बाटिस्टा तानाशाही सरकारप्रति जनता आक्रोसित थिए । यसै अवस्थामा फिडेल क्यास्ट्रो र चेग्वभाराद्वारा गुरिल्ला प्रशिक्षण सुरु गरि क्रान्तिको योजना लागु गर्ने काम भएको थियो । यो काममा अल्वाटोयाबोले उल्लेख्य सहयोग गरेका थिए । यी विद्रोही गुरिल्ला नेतृत्वलाई सरकारले पक्राउ गरेको थियो तर जेलमुक्त भएपछि पुनः सक्रिय भै आन्दोलनलाई अगाडि बढाउन थालियो । यसै क्रममा सरकार र गुरिल्लाहरुबीच सन् १९५७ देखि देशका विभिन्न ठाउँमा मुडभेड सुरु भयो । एकपछि अर्को सफलता प्राप्त हुँदै गयो । ग्रामीण इलाकाहरुमा आधार इलाकाहरु निर्माण गरेर जनसत्ता सञ्चालन गरिएको थियो । ग्रामीण इलाकाहरुबाट क्रान्तिकारी वैकल्पिक सरकार निर्माण गरेर मुलुकलाई जनसत्ताले चारैतिरबाट घेर्ने र सत्रुलाई गाउँबाट निकालेर सहरतिर खेद्ने अभियानलाई तीब्र रुपमा अगाडि बढाइएको थियो । मुलुकका सम्पूर्ण गाउँहरु शत्रुबिहीन बनाउदै लगियो । यस क्रममा लाखौं युवाहरुलाई गुरिल्लामा भर्ती गराइयो । अन्तमा भीषण गुरिल्ला युद्ध सुरु गरि सन् १९५८ को अगस्ट देखि अन्तिम युद्ध सुरु गरियो । सन् १९५९ जनवरी १ तारिखका दिन राजधानी हवाना कब्जा गरेपछि क्युवाको क्रान्ति सफल भएको थियो ।

युद्धद्वारा सत्ता कब्जापछि फिडेल क्यास्ट्रोको नेतृत्वमा जनवादी सरकार गठन भयो । सम्पूर्ण बैंक र वित्तीय संस्थाहरू, जेल, ब्यारेक र एयरपोर्ट तुरुन्तै कब्जा गरिए । दलाल, नोकरशाह, पुँजीपति र सामन्त वर्गसँग रहेको जमिन र सम्पूर्ण सम्पत्ति जफत गरेर राष्ट्रियकरण गरिए। जनता मुक्त गरेर मुलुकको मालिकमा परिणत भए । राजधानी हवानामा कम्युनिस्ट पार्टीको लाल झण्डा फहरायो । राजधानी हवाना कब्जा गर्नु भन्दा पहिले मुलुकका तीनवटा मुख्य सहर सान्ताक्लारा, क्यामागुये र सान्टियागो शहर समेत कब्जा गरिएको थियो । यो साहसी, निडर, देश, जनता र क्रान्तिप्रति प्रतिबद्ध, लडाकू नेतृत्वहरु को थिए ? आज तिनीहरुलाई हामी सबैले चिन्न र जान्न आवश्यक छ र उनीहरुबाट पनि महत्वपूर्ण शिक्षा ग्रहण गर्न जरुरी छ ।

फिडेल क्यास्ट्रो क्युवाली क्रान्तिका महानायक समाजवादी नेता क्युवाको क्रान्ति पछिको जनवादी गणतन्त्र क्युवाको पहिलो राष्ट्रपति भएका थिए । उनको जन्म सन् १९२६ अगस्ट १३ तारिखका दिन बिरन होल्गुइम भन्ने ठाउँमा भएको थियो । सन् १९४८ मा मित्रा डिज बलार्टसँग उनको विवाह भएको थियो । उनले हवाना विश्वविद्यालयमा कानुनको अध्ययन गर्दा खेरी नै वामपन्थी विचारबाट प्रेरित भई क्रान्ति र विद्रोहको राजनीति सुरु गरेका थिए । २० मार्च १९५६ मा अमेरिकाको कठपुतली बाटिस्टाले क्युवाको सत्ता कब्जा गरेपछि यसका विरुद्ध विद्रोह र क्रान्ति सुरु गरेका थिए । चे ग्वेभाराको सहयोगमा र क्रान्तिको नेतृत्वको रुपमा उनी क्रान्ति पश्चात् क्युवाको पहिलो राष्ट्रपति र प्रधानमन्त्री समेत भएका थिए । अमेरिकाको व्यापक दबाब र नाकाबन्दी रहेको अवस्थामा पनि आफ्नो मुलुकको रक्षा गरि समाजवादको निर्माण गर्ने काममा क्यास्ट्रोले जीवनभर संघर्ष गरेका थिए । लामो विरामीपछि २००६ को जुलाईदेखि उनले आफ्नो कार्यभार आफ्ना भाई राहुल क्यास्ट्रोलाई हस्तान्तरण गरेका थिए । अमेरिकी साम्राज्यवादका सामु कहिल्यै नझुकेका क्युवाली क्रान्तिका नायक र समाजवादका निर्माणकर्ता फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा सन् २०१६ नोभेम्बर २५ का दिन मृत्यु भएको थियो ।

क्युवाली क्रान्तिका अर्का वीर योद्धा अर्नेस्टो चे ग्वभारा हुन् । उनी अर्जेन्टिनामा जन्मेका थिए । उनी आफ्नो जन्मभूमि त्यागेर जीवनभर क्रान्तिमा नै समर्पित हुने महान् क्रान्तिकारी विचारक, सिद्धान्तकार र त्यागी व्यक्तित्वको रूपमा विश्वमा परिचीत मानिन्छन् । उनको जन्म सन् १९२८ जुन १४ तारिखका दिन शेसारियो अर्जेन्टिनामा भएको हो । गुरिल्ला छापामार युद्ध कार्य-रणनीतिका उत्प्रेरक तथा विश्वका महान क्रान्तिकारी चे ग्वेभाराले ल्याटिन अमेरिकी मुलुकमा छापामार युद्धद्वारा साम्यवादी क्रान्ति सम्पन्न गर्ने नवीनतम धारा सुरु गरेका थिए । उनले युद्ध र क्रान्तिका लागि वस्तुगत परिस्थिति निर्माण नभइसकेको अवस्थामा पनि छापामार युद्धद्वारा साम्यवादी क्रान्ति सम्पन्न कसरी गर्न सकिन्छ भन्ने सिद्धान्त प्रतिपादन गरेका थिए । उनले क्युवामा क्रान्तिद्वारा समाजवादी राज्य स्थापना गर्ने काममा क्युवाली क्रान्तिकारीहरुलाई नेतृत्वदायी योगदान दिएका थिए । क्रान्तिको सफलतापछि क्युवाली सरकारले उनलाई नागरिकता प्रदान गरेको थियो र शिक्षा मन्त्री समेत नियुक्त गरेको थियो । तर विश्व क्रान्तिको सपना बोकेका चे ग्वेभाराले क्युवाको नागरिकता र शिक्षामन्त्रीको पद त्यागेर विश्व क्रान्तिलाई अगाडि बढाउने महान उद्देश्यका साथ उनले बोलिभियामा छापामार युद्ध सुरु गरेका थिए । तर अमेरिकी गुप्तचर विभाग सिआइए का गुप्तचरहरुद्वारा त्यहाँका क्रान्ति विरोधीहरुसँग सम्पर्क कायम गरी सन् १९६७ अक्टुबर ९ तारिखका दिन बोलिभियाको जंगलमा त्यागी र साहसी योद्धा चे ग्वेभाराको हत्या गरिएको थियो ।

चे ग्वभाराले जनताबीच रहेर छापामार युद्ध संचालन गर्दा १, जनयुद्धको तरिका भन्दा भिन्न प्रशिक्षित छापामारहरुबाट क्रान्ति सम्पन्न गर्नु पर्दछ । २, एउटा मुलुकमा मात्र क्रान्ति सीमित नराखी विश्वका विभिन्न मुलुकहरुमा यो युद्ध फैलाउँदै जानुपर्छ, भन्ने दुइटा सिद्धान्त र व्यवहारलाई अनुवाद गरेकाले विश्वमा उनलाई महान् क्रान्तिकारीको रुपमा लिइन्छ । उनको विचारलाई सन् १९६७ मा सेन्टियागो सम्मेलनले स्वीकार गरे पछि क्रान्तिकारी कम्युनिस्टहरुको यो सैद्धान्तिक रणनीतिक सिद्धान्त पनि बनेको छ ।

तिखो बुद्धिका धनी चे ग्वभाराले चिकित्सा शास्त्र अध्ययन गरेर डाक्टर बनेका थिए । उनी विश्वमा पुँजीवाद समाप्त भई साम्यवाद स्थापना हुने कुरामा पुर्णतया विश्वस्त थिए । उनको विचारमा जनताको छापामार सेनाले प्रतिक्रियावादी सरकारको नियमित सेनालाई हराउन सक्छ, क्रान्तिका लागि परिस्थितिको आवश्यकता पर्दैन भन्ने विचार थियो । उनको आफ्नो मौलिक नीतिगत मान्यता भनेको युद्धबाट नै क्रान्तिकारी परिस्थिति उत्पन्न हुन जान्छ भन्ने थियो । क्रान्तिको आधारक्षेत्र दक्षिण अमेरिकामा ग्रामीण क्षेत्र हुनु पर्छ, छापामार सेनालाई विद्रोहको पाठ सिकाउनु पर्छ, जब छापामार सेना पर्यावरणको अंश बन्न पुग्दछ, त्यस अवस्थामा आधार इलाकामा सक्रियता बढाउनु पर्दछ भन्ने उनको छापामार रणनीति रहेको थियो । यति हुँदाहुँदै पनि उनिमाथि केही सैद्धान्तिक आलोचना पनि रहेका छन् । चे ग्वभाराले आफ्नो सिद्धान्तका बारेमा स्पष्ट गर्दै प्रत्येक परिवर्तनको गर्भबाट सिद्धान्तले जन्म लिन्छ भन्दै माक्र्सवादी, लेनिनवादी सिद्धान्तको हुबहु अनुशरण गर्ने कुरालाई अस्वीकार गरेको पाइन्छ । उनीमा नव मार्क्सवादीहरुको प्रभाव परेको देखिन्छ भन्ने मत रहेको छ । आफ्नै विशिष्ट परिस्थिति र परिवर्तनसँग सिद्धान्त स्वयंले जन्म लिने उनको धारणा रहेको पाइन्छ । त्यसैले अर्कोतिर उनले जडसुत्रवादको सट्टा सिर्जनशीलतालाई जोड दिने गरेका थिए भन्नेहरु पनि उत्तिकै छन् ।

जे होस्, क्युवाली क्रान्ति सम्पन्न भएको आज छ दशक पुरा भइसकेको छ । अमेरिकी साम्राज्यवादको अनेक नाकाबन्दी, धम्कीका बाबजुद अमेरिकाको नाकैमुनि रहेर उसलाई थर्काएर अडिग रहने ल्याटिन अमेरिकी मुलुक क्युवाले आफूलाई विश्वमै अनुपम उदाहरण दिन सफल भएको छ । फिडेल क्यास्ट्रो अमेरिकी साम्राज्यवादका सामु कहिल्यै पनि झुकेनन् । उल्टै शीर ठाडो राखेर गौरवपूर्ण जीवन बिताएर आफूलाई एउटा उदाहरण प्रस्तुत गर्न सफल मात्र भएनन् विश्वका क्रान्तिकारीहरुलाई महत्वपूर्ण शिक्षा प्रदान गरेर यस धर्तीबाट विदा भएका छन् । अमेरिकी साम्राज्यवादले फिडेल क्यास्ट्रोलाई हत्या गर्न उनको जीवनभर अनेक षडयन्त्र रच्यो । उसले सिआइए का हजारौं व्यक्तिहरुलाई क्युवामा खटाएर उनको हत्या गर्न सयौं षडयन्त्रका तानावानाहरु बुनिरह्यो । खरबौँ डलर खर्च गर्‍यो तर यसमा अमेरिकी साम्राज्यवाद असफल भयो । फिडेल क्यास्ट्रोले विजय प्राप्त गरेर अमेरिकालाई निकम्मा सावित गराई छाडे । आज जसका कारण उनी अमर बनेका छन् । स्मरण रहोस्, आज अमेरिकी साम्राज्यवादबाट रत्तिभर नडराउने विश्वमा क्युवा र उत्तर कोरिया गरी यी दुईवटा समाजवादी राष्ट्रहरु मात्र नमूना बनेका छन् । अतः हामी नेपालका क्रान्तिकारी कम्युनिस्टहरुले क्युवाली क्रान्ति र फिडेल क्यास्ट्रो तथा चे ग्वेभाराको क्रान्तिकारी जीवनबाट के पाठ सिक्ने र के शिक्षा लिन सक्छौं तथा यी शिक्षाहरुलाई नेपाली क्रान्तिका लागि उपयोग गर्न सक्छौं रु यो ज्यादै महत्वको सवाल हो ।

आज महान रुसी अक्टुबर क्रान्ति सम्पन्न भएको सय वर्ष पुरा भइसकेको छ । यस क्रममा गतवर्ष संसारभरका क्रान्तिकारी सर्वहाराहरुले अक्टुबर क्रान्तिको शतवार्षिकी धुमधामका साथ मनाएका थिए । हजारौं नौजवानलाई पार्टी र आन्दोलनमा भर्ना गर्नुपर्ने नारा तय गरिएको थियो । हामीले नेपालमा समेत त्यो शतवार्षिकी सम्पन्न गरौं । त्यसको लक्ष सामान्यतया प्राप्ति हुन सकेन । कम्युनिस्ट आन्दोलनमा आज दक्षिणपन्थी संशोधनवादको दबदबा छ । महान अक्टुबर क्रान्ति सम्पन्न भएको यस १०० वर्षका बिचमा क्रान्तिकारीहरुले क्रान्तिकारी पार्टी निर्माणमा के कस्तो अनुभव बटुलेका छन् त ? यसबाट के शिक्षा लिने र आ-आफ्ना देशको क्रान्तिका लागि उपयोग गर्ने प्रश्नहरु पनि उठान भइरहेका छन् । यो सँग विश्वभरका क्रान्तिकारी सर्वहाराहरुले क्युवाली क्रान्तिको शिक्षालाई पनि जोड्न जरुरी छ ।

महान् अक्टुबर क्रान्तिबाट निर्माण गरिएको सोभियत सत्तामाथि प्रतिक्रान्ति भएर त्यहाँ पुँजीवादी शासन चलिरहेको छ । सन् १९४९ मा सम्पन्न गरिएको महान् चिनिया नयाँ जनवादी क्रान्ति र त्यसपछि निर्माण गरिएको समाजवादी व्यवस्थामा पनि प्रतिक्रान्ति भयो र चीनमा पुँजीवादको तिव्र विकास भइरहेको छ । यी परिघटनाहरुले विश्व कम्युनिस्ट आन्दोलनलाई र विश्वसमाजवादी व्यवस्थालाई रक्षात्मक स्थितिमा पुर्‍याइदिएको छ । तर विश्वको क्रान्तिकारी धारा भन्दा संशोधनवादी धारा हाबी भइरहेको अवस्थामा क्युवामा भने आजको २१ औं शताब्दीको विशेषतासहितको समाजवादी राज्यव्यवस्थालाई टिकाएर कुशलतापूर्वक संचालन गरिरहेको यो परिपेक्षमा हामी क्रान्तिकारीले गौरव गर्न जरुरी छ । र यसबाट नयाँ पाठ सिक्न जरुरी छ । मैले यसो भन्दै गर्दा सोभियत संघको महान अक्टोबर क्रान्ति र चीनिया नौलो जनवादी क्रान्ति भन्दा क्युवाली छापामार क्रान्तिलाई मुल्यांकनको उच्च कोटिमा राख्न खोजेको होइन । खाली यति मात्रै हो कि विश्वका सर्वहारा क्रान्तिकारीहरुले क्युवाको क्रान्तिले दिएको सकारात्मक सन्देशको विश्लेषण गरेर त्यसबाट हामीले कुनै न कुनै पाठ सिक्न जरुरी भएको कुरा औल्याउँन मात्रै खोजेको हुँ ।

अर्कोकुरा नेतृत्वको चिन्तन र व्यबहार ठिक नहुदा सिद्धान्तले मात्रै काम गर्दैन तर नेतृत्वको व्यबहार सहि छ भने सिद्धान्तले सार्थकता पाउँछ भन्ने उदाहरण फिडेल क्याष्ट्रो र चे ग्वभाराबाट सिक्न जरुरी छ । यी दुई नेतृत्वबाट सिक्नु पर्ने मुख्य कुरा भनेको त्याग, तपस्या, बलिदान, वीरता, साहस, धैर्यता, निस्वार्थीपन नै हुन् । अर्को कुरा शत्रुका सामु कहिल्यै नझुक्ने, निडरता पनि हो । यसका साथै उनीहरुबाट सिक्नु पर्ने र क्रान्तिकारीहरुले अनुशरण गर्नै पर्ने कुरा के हो भने देश, जनता र क्रान्तिप्रतिको दृढता र वचनबद्धता नै हो । चे ग्वभाराबाट सिक्नु पर्ने अर्को महत्वपूर्ण कुरा अन्तर्राष्ट्रियतावादी विश्वदृष्टिकोण हो । जो उनी अर्जेटिनाको नागरिक भएर क्युवामा गएर क्रान्ति सफल पार्न नेतृत्वदायी भुमिका निभाए । क्युवाली क्रान्तिले सफलता प्राप्त गरे पश्चात क्युवाले प्रदान गरेका सम्पूर्ण मान सम्मान र सुविधाहरु त्यागेर विश्व क्रान्तिलाई अगाडि बढाउने उद्देश्यले उनी बोलिभियामा पुगेर छापामार युद्ध संचालन गरेर युद्ध लड्दा लड्दै जुन ज्यान अर्पण गरे यो सबै क्रान्तिकारीहरुका लागि महत्वपूर्ण प्रेरणाको श्रोत हो । कम्युनिस्टहरुले आँट गरे के गर्न सकिन्न र भन्ने उदाहरण क्युवाली क्रान्तिले प्रस्तुत गरेको छ । जस्तो कि ८२ जनाले सुरु गरेको क्रान्तिको यात्राले ३ वर्ष भित्रै अमेरिकाको नाकमुनी रहेको क्युवामा क्रान्ति सम्पन्न गरेर दुनियाँलाई देखाइ दियो । अहिलेसम्म अमेरिकी साम्राज्यवाद सामु क्युवा झुकेको छैन । यो क्युवाली क्रान्तिबाट प्राप्त गर्नुपर्ने सबैभन्दा ठूलो शिक्षा हो ।