हेलिकप्टरबाट औषधि छर्कने हल्ला मात्र हो: नेपाली सेना

नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी आकाशबाट कोरोना भाइरसविरुद्ध किटनासक औषधि छर्कने हल्ला मात्र भएको सेनाले बताएको छ ।

नेपाली सेनाले आज एक विज्ञप्ति जारी गर्दै सेनाले हेलिकप्टर प्रयोग गरी किटनाशक औषधि छाड्ने कुनै योजना नभएको स्पष्ट पारेको हो ।

विभिन्न सामाजिक सञ्जालमार्फत हेलिकप्टरमार्फत भाइरसविरुद्ध औषधि छर्कने व्यापक हल्ला खल्ला भएपछि सेनाले विज्ञप्तिमार्फत स्पष्ट पारेको हो ।

सेनाको विज्ञप्तिमा भनिएको छ, ‘हाल विश्वभर फैलिदै गएको कोरोना भाईरस (कोभिड-१९) को उच्च‍ जोखिमलाई मध्यनजर राखि नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाईरसको रोकथाम तथा संभावित महामारी विरुद्ध न्युनिकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेको तथ्य प्रेस विज्ञप्तिमार्फत जानकारी गराईएको सर्वविदितै छ । यसको अलावा नेपाली सेनाले हेलिकप्टर प्रयोग गरि किटनासक औषधी छाड्ने कुनै योजना नभएको जानकारी गराईन्छ । तसर्थः हालको संवेदनशिल घडीमा यस प्रकारको भ्रामक, झुटो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गहरुमा हार्दिक अनुरोध गर्दछ ।’

कोरोना भाईरस प्रतिकार्यमा नेपाली सेनाको गतिविधि सम्बन्धमा आम जनमानसमा कुनै दुविधा भएमा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको सम्पर्क नम्बर ९८५१०८३२८८ र ९८५१०७९९१७ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

नेपाली सेनाले कोरोना भाईरसविरुद्ध आवश्यक आन्तरिक तयारी गरी संक्रमणबाट सुरक्षित रहँदै रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारलाई पूर्ण रुपमा सहयोग गर्दै आएको छ । सो भाईरसको उच्च जोखिमविरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न सधैं प्रतिवद्ध रहेको समेत सेनाले स्पष्ट पारेको छ ।