हिउँले ढाकीयो मुस्ताङ (फोटो फिचर)

हिमालपारीको जिल्ला मुस्ताङमा अहिलेसम्मकै भारी हिमपात भएको छ । शनिबार राती परेको हिमपातले स्थानीयको जनजीवन प्रभावित भएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्लाका पाँचवटै स्थानीय तहमा बाक्लो हिमपात भएको जनाएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालका अनुसार हिमपातले मुस्ताङ सदरमुकाम जोमसोममा डेढ दर्जन बढी विद्युत पोल ढलेको जानकारी दिए ।

उनका अनुसार विद्युत पोल ढलेपछि जोमसोमभन्दा माथिका ३ स्थानीय तहमा विद्युत प्रशारण लाइन अवरुद्ध भएको छ । भारी हिमपातले सडक छेउछाउका विद्युत पोलले हिउ थेग्न नसकेपछि विद्युत पोल ढलेको हो ।

पोल ढलेपछि सदरमुकाम जोमसोम बजारक्षेत्रको सवारी तथा पैदलयात्रालाई आउजाउमा समस्या परेको छ । आईतबार मौसम खुलेकाले छरपस्ट विद्युत पोल र वायरहरुको व्यवस्थापन गर्न स्थानीय प्रशासनको पहलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निलगिरी विद्युत उपभोक्ता समितिका प्राविधक खटिएका छन् ।

विद्युत वितरणकेन्द्र निलिगरी उपभोक्ता समितिका कार्यालय प्रमुख सनप्रसाद थकालीले विद्युत आपूर्ति सहज हुने केही दिन लाग्ने जानकारी दिए । उनका अनुसार वितरण केन्द्र समितिसँग पोल स्टक नभएकाले पोल झिकाएर मात्र सेवा सञ्चालनमा ल्याउन सकिने उल्लेख गरे ।

मुस्ताङमा चैत्र महिनामा हिमपात भएको यो पहिलो रेकर्ड भएको जोमसोम गाउँका मुखिया रामप्रसाद थकाली बताए । उनले विगत वर्षहरुमा फागुनको दोश्रो सातासम्म हिउँ पर्ने गरेकोमा यसवर्ष भने नसोचेका भारी हिमपात भएको जनाए । हिमपातले कहि खुसीयाली छाएको छ भने कतै सास्ती भएको छ ।

हिमपातले मुस्ताङको पुरै कच्चि सडक हिलाम्मे भएको छ । हिमपातले पर्यटकलाई हिँडडुलमा समेत समस्या परेको पर्यटन व्यवसायी योगेश शेरचनले बताए ।

मुस्ताङमा जारी सिजनको सातौ पटक परेको हिमपातले मुस्ताङका शैक्षिक संस्था बन्द भएका छन् । हिमपातले विद्यार्थीको उपस्थिति हुन नसकेपछि विद्यालय बन्द गर्नु परेको जनहित मावि जोमसोमका प्राचार्य रामचन्द्र अधिकारीले जानकारी दिए । यस्तै हिमपातले पोखरा-जोमसोम हवाइ सेवा समेत प्रभावित बनेको छ ।

जोमसोम विमानस्थलको धावनमार्गमा २ फिट बढी हिउँ परेकाले हवाई उडान रोकिएको जोमसोम विमानस्थलका कार्यालय प्रमुख दिपक विकले जानकारी दिए । उनले स्थानीय प्रशासनको सहयोगमा सुरक्षा निकाय परिचालन गरेर धावनमार्गको हिउँ पन्छ्याउन पहल गरिने बताए ।

चैत्र महिनामा परेको अकल्पनीय हिमपातले उपल्लो मुस्ताङको जनजीवन प्रभावित बनाएको छ । जोमसोम-लोमान्थाङ जाने सडकको हिउँ २ दिनअघि पन्छ्इएको भएपनि पुन हिमपातले भएकाले उपल्लो मुस्ताङ यातायात सेवा अवरुद्ध भएको यातायात व्यवसायी देव गुरुङले जानकारी दिए । उनका अनुसार उपल्लो मुस्ताङमा ३ फिट बढी हिउँ परेको छ।

अन्नपूर्णपोष्टबाट