अनौठो पात्र (कबिता)

ऊ आफ्नै सुरमा थियो ।
ऊ आफ्नै तालमा थियो ।
उसलाई न त कोहि आउनुको डर थियो ।
न त कोही जानुको चिन्ता ।
ऊ आफ्नै सुरमा थियो ।
ऊ एकोहोरो भएर केही सोचिरहेको थियो ।
लाग्छ ऊ कुनै कल्पनाको सागरमा डुबेर भावनाको मोती खोज्दै थियो ।
उस्को वरिपरि के भइरहेको छ, के हुँदै छ ।
यी सब कुराबाट उ अन्जान थियो ।
ऊ कहिले एक्लै बरबराऊँथ्यो त कहिले एक्लै हाँस्थ्यो।

ऊ आफ्नै धुन र सुरुमा थियो ।
कुनै बेला ऊ झस्किन्थ्यो र यताउति राम्ररी हेरेर, ऊ अलिक डराएको जस्तो गर्थ्यो ।
अनि फेरि आफ्नै सोँचाईलाई निरन्तरता दिन्थ्यो ।
ऊ आफैं हाँस्थ्यो त कहिले निन्याउरो मुख लाँउथ्यो ।
लाग्छ यो शहरको भिडमा पनि उ एक्लै छ ।
यो प्रचण्ड गर्मीमा पनि उ अँध्यारोको खोजिमा छ ।
यस्तो लाग्थ्यो उ उज्यालो सँग डराउँथ्यो ।

अरे ! यहाँ मानिसहरूले सबैको नाम राख्छन् ।
सायद उस्ले पनि उपाधि पाईसकेको थियो ।
‘पागल’ को तर पनि ऊ खुसि थियो ।
ऊ प्राय मन्दिरको गेट अगाडि बसेको हुन्थ्यो ।
र मन्दिरमा आउने मानिसहरूलाई देखेर बडो मजाले हाँस्थ्यो ।

अनि ठुलो-ठुलो स्वरमा भन्थ्यो…. ‘अरे ढुङ्गा पुजेर केही हुँदैन, यहाँ दैब छैन । यहाँ ढुङ्गा मात्र छ ।’

अनि फेरि निन्याउरो मुख लगाएर भन्थ्यो, ढुङ्गा त मैले पनि धेरै ढोँगे ।
यस्तो लाग्थ्यो ऊ दैबसँग रुष्ट छ ।
तर अचम्मको कुरा उस्को मुखबाट गलत शब्द निस्कदैनथ्यो ।
ऊ बारम्बार यहि भन्थ्यो, म पागल होइन, पागल त्यो हो जस्ले जिन्दगीलाई बुझेको छैन ।
पागल त्यो हो जस्ले मनलाई पुजेको छैन ।

यस्तै कुरा गर्दै ऊ आफ्नो गन्तव्यतर्फ लाग्थ्यो ।
अलिक अगाडि पुगेपछि टक्क अडिन्थ्यो, अनि यताउति राम्रोसँग हेर्थ्यो ।
लाग्छ कसैलाई हेर्दै छ । अनि बरबराऊँदै आफ्नो बाटो लाग्थ्यो ।

साँच्चै ऊ अनौठो पात्र थियो ।
आजसम्म कसैले बुझ्न सकेन,
खै को थियो ऊ थहा छैन,
कहाँ थियो घर थहा छैन,
तर ऊ एउटा अचम्मको पात्र थियो ।

 

रोशन चालिसे