चीनसँगको नाका बन्द गर्ने कर्णाली सरकारको निर्णय

कर्णाली प्रदेश सरकारले उत्तरी छिमेकी चीनसँगका सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरसको रोकथामका लागि उत्तरतर्फका सीमा नाका बन्द गर्ने प्रदेश सरकारले निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकारको सामाजिक मन्त्रालयबाट प्रस्तावित नोबेल कोरोना भाइरस प्रतिकार्य सम्बन्धमा गरिएको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जानकारी दिए । उनले हुम्लाको हिल्सा, सल्यानको कपुरकोट, सुर्खेतको बबई, सुर्खेत विमानस्थल र कुइने गरी कर्णाली प्रदेशभित्रका पाँच नाकामा ‘हेल्थडेस्क’ राख्ने र त्यसका लागि आवश्यक जनशक्ति परिचालन तथा बजेट व्यवस्था प्रदेश सरकारले गर्ने निर्णय गरिएको बताए ।

केसीका अनुसार भाइरसको प्रतिकार्य गर्न सरकारले मेला, महोत्सव, आमसभा, भेला तथा सार्वजनिक कार्यक्रम, अनावश्यक आवतजावत, हात तथा गला मिलाउने कार्य नगर्ने र नगराउने, उत्तरी नाकालाई विशेष ढंगले कडाई गर्ने, यो समयमा कालोबजारी गर्नेलाई कडाइपूर्वक कारबाही गर्ने निर्णय गरेको छ । त्यस्तै, कोरोना भाइरसबारे आतंकित नहुन र उच्च सर्तकता अपनाउन सवै पक्षसँग आवश्यक समन्वय गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सन्देशमूलक कार्यक्रमलाई प्रभावकारी ढंगले प्रवाह गर्ने निर्णय भएको उनको भनाई छ ।