कोहलपुरमा एन्फाको प्रशिक्षण केन्द्र निर्माण गरिने

बाँकेको कोहलपुरमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गरीने भएको छ । कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको १३ बिघा जग्गा अन्तर्गतको ५ बिघा १० कठ्ठा जग्गामा एन्फा प्रशिक्षण केन्द्र तथा फुटबल सम्बन्धी भौतिक संरचना निर्माण हुने भएको हो ।

कोहलपुर नगरपालिकाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई २५ वर्षका लागि उक्त जग्गा भाडामा दिएर प्रशिक्षण केन्द्र स्थापना गर्न लागेको हो । मध्य तथा सुदुरपश्चिम क्षेत्रमा फुटबल खेलका खेलाडिहरु उत्पादन गर्ने लक्ष्यका साथ कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावत र अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा बिच उक्त जग्गा २५ वर्षका लागि भाडामा दिने र लिने सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । जग्गा भाडामा लिएसँगै अखिल नेपाल फुटबल संघले सन २०२० को डिसेम्बरसम्म आवश्यक भौतिक संरक्षण निर्माण गर्ने प्रतिवद्वता जनाएको छ ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले कोहलपुरमा आधुनिक र व्यवस्थित फुटबल प्रशिक्षण केन्द्र बनाउने प्रतिवद्वता जनाएका छन् । साथै उनले ६ वर्षदेखि १२ वर्षका बालबालिकाहरुलाई प्रत्येक हप्ताको शनिबार प्रशिक्षण दिईने, खेलाडिहरुलाई आवास सहितका भवन निर्माण गरिने र एकै पटक करिब चार सय बालबालिकाहरुले फुटबलको प्रशिक्षण लिनसक्ने गरी भौतिक संरक्षणहरु निर्माण गरिने जानकारी दिए । कोहलपुरमा फुटबल प्रशिक्षण स्थापना भएसँगै पश्चिम नेपालको फुटबल क्षेत्रमा नयाँ आयाम थपिने भन्दै प्रशिक्षण केन्द्रले नेपाली फुटबलमा नयाँ ईट्टा थप्ने विश्वास उनले व्यक्त गरेका छन् ।

कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले कोहलपुरलाई खेलकुदको हब बनाउका लागि फुटबल केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका छन् ।