बाँकेमा प्रभातफेरी सहित प्रजातन्त्र दिवश मनाइयो (तस्वीर गाथासहित)

बाँकेको नेपालगन्जमा बुधबार बिहान प्रभातफेरी सहित प्रजातन्त्र दिवश मनाइएको छ । जिल्ला समन्वय समिती बाँकेको आयोजनामा प्रभातफेरी गरिएको हो ।

नेपाल प्रहरीको व्याण्ड बाजा सहित नेपालगन्जको बिपि चोकबाट शुरु भएको प्रभातफेरी त्रिभुवन चोकमा पुगेर कोण सभामा परिणत भइ समापन भएको जिल्ला समन्वय समिती बाँकेका सदस्य चेत बहादुर घर्तिमगरले जानकारी दिए ।

कोणसभालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले प्रजातन्त्र कुनै पार्टी र व्यक्ती विशेषको नभई नेपाली जनताका लागि एक सय चार वर्षिय जहाँनिया राणाशासन अन्त्य गर्न र प्रजातन्त्र स्थापनाका लागि बलिदानी दिएका शहिदहरु शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठको सम्झनामा प्रजातन्त्र दिवश मनाइएको बताए ।

प्रभातफेरीमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वली, भैरव दल गण राँझाका गणपती नकुल थापा, शसस्त्र प्रहरी वल बागेश्वरी ३० नम्बर गणका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल मन्सुरी तथा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको उपस्थिति रहेको थियो ।