नेपालगन्जमा बाक्लो हुस्सु, उडेनन बिमान

बाँकेको नेपालगन्ज र आसपास क्षेत्रमा शुक्रवार बिहानैदेखी बाक्लो हुस्सु लाग्नुका साथै चिसो समेत बढेको छ । हुस्सुका कारण नेपालगन्जबाट हुने नियमित उडानहरु हुनसकेका छैनन ।

बाक्लो हुस्सुका कारण यातायात संचालनमा समेत कठिनाई देखिएको छ । नेपालगन्ज कोहलपुर चल्ने सवारी साधनहरुले हेडलाईट बालेर यातायात संचालन गरिरहेका छन ।

पुस र माघ महिनाका केही दिन बेस्सरी चिसो भोगेका यहाँका बासिन्दा फागुन महिनामा समेत हुस्सु र चिसो एक्कासी बढ्दा अचम्म मानिरहेका छन ।

जल तथा मौसम बिज्ञान बिभाग हावापानी फिल्ड कार्यालय राँझाका नायव मौसम बिज्ञ सहायक योजना बस्ताकोटीका अनुसार शुक्रवार बिहान नेपालगन्ज बिमानस्थलबाट हुने कुनैपनी उडान हुन नसकेको बताईन । उनका अनुसार उडान गर्नका लागि १६ सय भन्दा माथी भिजिबिलिटी हुनुपर्नेमा अहिले बिमानस्थलको भिजिबिलिटी सय भन्दा पनि कम छ । दिउँसो १२/१ बजेसम्मलाई उडानको सम्भावना नरहेको उनले बताईन ।