शहिदहरुले देखेको सपना साकार हुन्छ : रोका

आज फागुन १ गते, तत्कालिन नेकपा माओवादीले सशस्त्र विद्रोेह (जनयुद्ध) थालेको दिन । विभिन्न पार्टीमा विभाजित नेपालका कम्युनिष्टहरुले औपचारीक कार्यक्रम गरी २५ औं जनयुद्ध दिवस भव्य रुपमा मनाएका छन । सोही अनुसार कोहलपुरमा पनि औपचारीक कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको छ ।

सो अवसरमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य अशोक रोकाले महान सहिदहरुले देखेको सपना साकार पार्नका लागि नेकपा कटिबद्ध भएर लागेको बताए । वि.सं. २०५२ साल फागुन १ गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्नका जनयुद्ध थालेको थियो । जनयुद्धले तयर गरेका केही सपनाहरु पुरा भएपनि अझै धेरै उद्धेश्य पुर्तिकालागि नेकपा लागिपरेको रोकाले जिकिर गरे ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ५ का सचिवालय सदस्य तथा बाँके जिल्ला कमिटिका सचिव अशोक कोइरालाले नेकपाले अझै पूर्ण रुपमा संविधान प्रयोग गर्न नपाएको गुनासो गरे । ‘जनताको आवश्यकता पुरा गर्नका लागि संविधानमा मात्र लेखेर पुरा हुँदैन’ उनले भने ‘संविधानमा उल्लेख गरीएका सबै कुरा नितिगत रुपमै कार्यान्वयन गरेमात्र संविधानको औचित्य पुष्टि हुन्छ ।’

कोईरालालले जनयुद्धबाट नै हालसम्मका सबै उपलब्धी हासिल भएकाले त्यसलाई संस्थागत गर्ने तर्थ नेकपा लागीरहेको बताए ।

कार्यक्रममा उपस्थित नेताहरुले जनयुद्धकै जगमा नेपालमा ठुलाठुला परिवर्तनहरु सम्भव भएको भन्दै जनयुद्ध दिवसलाई भब्यताकासाथ मनाउनुपर्नेमा जोड दिएका थिए ।

सहिद स्मृति केन्द्र कोहलपुरका अध्यक्ष ओमप्रकाश केसी प्रयन्तको अध्यक्षतामा संचालन गरीएको विशेष कार्यक्रममा नेकपा प्रदेश सदस्य नरेन्द्र न्यौपाने, प्रकाश सुवेदी, नेकपा कोहलपुर नगर कमिटिका अध्यक्ष बसन्ती अधिकारी, प्रेम भूषाल, सुर्य ढकाल, अवराज खड्काका साथै नेकपा नगर कमिटिका सदस्य, वडा कमिटिका सदस्य र स्थानिय जनप्रतिनिधिहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।

नेकपा कोहलपुर नगर कमिटी र सहिद स्मृति केन्द्र कोहलपुरको संयुक्त आयोजनामा आयोजित जनयुद्ध दिवस कार्यक्रममा जनयुद्धमा ज्यान गुमाउने ज्ञात अज्ञात शहिदहरुप्रति श्रदाञ्जली समेत व्यक्त गरिएको थियो ।