२५सौं जनयुद्ध दिवसको हार्दिक शुभकामना !

आज फागुन १ गते हामी जनयुद्ध र जनआन्दोलनका अमर सहिदहरुको स्मृतिमा २५सौं जनयुद्ध दिवस मनाईरहेका छौं । जनयुद्ध आफैमा शान्तिपुर्ण राजनीतिमा रुपान्तरित भएर पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सहित देश राजनितिक स्थायीत्व तिर गईसकेको छ । सोभियत रुसको पतन र रक्षात्मक रहन पुगेको अन्तराष्ट्रीय कम्युनिष्ट आन्दोलनलाई लक्षित गरेर “द एन्ड ऑफ़ हिस्ट्री ऐंड द लास्ट मैन” (The End of History and the Last Man) भन्दै अट्टहास गर्ने साम्राज्यवादी एजेण्ट फुकियामाको निश्कर्षलाई च्यातचुत पार्दै हामीसँग दुईतिहाई बहुमत सहितको कम्युनिष्ट पार्टीको सरकार छ।

फेरीपनि यसरी रक्तपातपुर्ण आन्दोलनको सम्झना गर्दै दिवसको रुपमा स्मरण गरिरहनुको के औचित्य छ भन्ने सहज प्रश्न रजिज्ञाशाहरु उठ्नु स्वभाविक छ । संगसँगै राजनीतिक चासो पुर्वक गहिरो ध्यान नदिने हो भने खासै यसको औचित्य र अर्थ बुझिंदैन पनि।

– पछिल्लो पटक अन्तराष्ट्रीय कम्युनिष्ट आन्दोलनमा देखा परेका शसस्त्र आन्दोलनहरु सेटब्याक खाएर रक्षात्मक स्थितिमा पुगेको स्थितिका विच जनयुद्धले स्वस्फुर्त नेपालको पुँजीवादी जनवादी आन्दोलन पुरा हुने परिस्थिति कसरी निर्माण गर्यो,

– राजआज्ञा अमान्य गर्ने स्तरसम्मको संयुक्त जनआन्दोलन २ को पृष्ठभुमि कसरि निर्माण भयो,

– राजतन्त्रात्मक बहुदलीय संसदीय ब्यवस्थाका सत्तारुढ पार्टी र शसस्त्र विद्रोह गरेको तत्कालिन माओवादी पार्टी विच अभुतपुर्व कार्यगत एकता हुने स्थिति कसरी पैदा भयो,

– सम्वत १९३३ का प्रथम सहिद लखन थापा नेतृत्वको आन्दोलन देखि सम्वत २०६२ सम्म झण्डै १२० वर्ष कुनै न कुनै रुपमा अनवरत लडिएका र गरिएका शसस्त्र-निशस्त्र संघर्ष (आन्दोलन) हरु किन निर्णायक तहसम्म पुग्न सकेका थिएनन् ?

– जनयुद्धले आफ्ना एजेण्डाहरुलाई शान्तिपुर्ण तरिकाबाट स्थापित गर्दै कार्यान्वयनको तहसम्म पुर्याउन कसरी सफल रह्यो । यि र यस्तै यावत पक्षहरु बारे गहिरो विचार विमर्श र संश्लेषण आजको आवश्यकता हो,

– जनयुद्धको नेतृत्वले सर्वप्रथम नेपालको राजनीतिक संघर्ष निश्कर्षमा पुग्न नसक्नुको मुल कारण ‘पुच्छरवाद’को समस्या हो भन्ने निश्कर्षमा पुग्नु,

– साठिको दसक देखि कम्युनिष्ट पार्टीहरु विच पैदा भएको सैद्धान्तिक मतभिन्नताको शत्रुतापुर्ण बहस र फुटलाई केन्द्रमा राखेर एकताको हात बढाउनु,

– मुलतः युद्ध शुरु गर्नु पुर्व नेपालको राजनीतिक सत्ताको चरित्र, वर्ग विश्लेषण र मुक्तिको बाटो बारे पार्टीमा ठोस वैचारिक राजनीतिक प्रष्टता र एकता हासिल गर्नु,

– ‘विचारले बन्दुकको नेतृत्व गर्छ’ भन्ने सैद्धान्तिक प्रष्टता कायम गर्दै एकपटक बन्दुक उठाई सकेपछि निश्कर्षमा नपुर्याउन्ज्याल पछि नफर्कने प्रणको पालना गर्ने वैचारिक नेतृत्वको दृढअडान र कसिलो कासनले योद्धाहरुमा एउटा ढल्दा अर्को उठ्ने वलिदानी भाव पैदा गर्न सफल हुनु,

– समाजवादी अग्रजहरुका अनुसार ‘शसस्त्र युद्ध रक्तपात पुर्ण राजनीति हो र शान्तिपुर्ण संघर्ष रक्तविहिन युद्ध हो’ भन्ने संश्लेषणलाई पुच्छरवादबाट मुक्त पार्दै स्वतन्त्रतापुर्वक प्र्याक्टिसमा उतार्नु,

– प्रजातन्त्र र राष्ट्रीयता एटै सिक्काका दुई पाटाहुन भन्ने सैद्धान्तिक निश्कर्ष निकाल्दै विगतका आन्दोलनहरु ‘राष्ट्रीयताको मशिहा राजतन्त्र र प्रजातन्त्रको रक्षक साम्राज्यवाद’ को मान्यतामा आधारित रहेकोले उत्कर्षमा पुगेर पनि परिणाम निकाल्न अशमर्थ भए भन्ने संश्लेण गरिनु,

– योजनावद्ध आक्रमण र देशब्यापि राजनीतिक परिचालनद्वारा आक्रमणको आवश्यकता र औचित्य पुष्टि गर्ने जनदिशा लागु गरिनु,

– शान्ति वार्ता, सम्वाद र युद्ध संगसँगै लैजाने रणनीतिक दृढता र कार्यनीतिक लचकता अपनाउनु,

– संसदवादी दलहरुसंग निरन्तर वार्ता र निकटबाट संवाद जारी राखिनु,

– राजा विरेन्द्रको वंशनाश पछि राजा बनेका ज्ञानेन्द्रको निरंकुशतालाई एकतर्फि युद्ध विरामद्वारा असफल पारिनु,

– नेपाली कांग्रेसले सैद्धान्तिक रुपमा जन्मजात मान्दै आएको ‘संबैधानिक राजतन्त्र’ पदावली आफ्नो विधानबाटै हटाउने परिस्थिति निर्माण गर्न सफल हुनु,

– सरकारको वागडोर सम्हालेका संसदवादी राजनीतिक पार्टीहरु संग कार्यगत एकता कायम हुनु,

– गाउँ गाउँबाट अर्धसामन्ति र अर्ध-उपनिवेशिक सत्ताका (राजनीतिक र आर्थिक) जरा साफ गरिनु,

– शसस्त्र युद्ध र शसक्त जनआन्दोलनको सफल फ्युजन हुनु आदि महान जनयुद्धका मुख्य विशेषता हुन ।

– यसरी अपवाद बाहेक जनयुद्ध र जनआन्दोलनका एकपछि आर्को मोर्चा सफल हुँदै जानुका पछाडी क्रान्तिकारी योद्धाहरुले प्रदर्शन गरेको सर्वोच्च त्याग र समर्पणको अद्वितीय प्रदर्शन नै थियो ।

युद्ध विराम, शान्तिवार्ता र बृहदशान्ति सम्झौता, १२ बुँदे समझ्दारी तथा शसक्त दोश्रो संयुक्त जनआन्दोलन सफलपार्न कुशल नेतृत्व र त्याग समर्पणले सुसज्जित र अनुशासित योद्धाहरुको कारण आजको परिस्थिति निर्माण भएको छ । यही थियो रक्तपात पुर्ण राजनीति अर्थात जनयुद्ध जसले आजको परिस्थिति पैदा गर्न सफल रह्यो । आमुल परिवर्तनकारी युद्धमोर्चामा शाहदत प्राप्त गर्नु भएका अमर सहिदहरु प्रति हार्दिक श्रद्धासुमन, हजारौंको संख्यामा बेपत्ता पारिएका योद्धाहरु तथा सयौंको संख्यामा घाईते जिवन विताईरहनुभएका घाईते योद्धाहरुमा ऐक्यवद्धता तथा उच्च आदर प्रकट गर्दछु ।

यतिवेला देश रक्तविहिन युद्धमा छ । आजको कार्यभार संघीय लोकतान्त्रिक गणतन्त्रको समुचित कार्यान्वयन तथा संविधानले उन्मुखता जनाएको समाजवादी आन्दोलनको आधार तयार गर्नु हुनपुगेको छ । हामी कम्युनिष्टहरु वैज्ञानिक समाजवादबाट मात्र जनताको आवश्यकता पुरा हुन्छन भन्ने विश्वस राख्दछौं । संघर्षको रुप फेरीएको हो संघर्ष सिद्धिएको छैन भन्ने हाम्रो मान्यता छ । यहाँ विराईएको बाटो ‘सामुहिक समर्पण, ब्यक्तिगत ब्रह्मलुट’ बाट मुक्त गरेर ‘सामुहिक निर्णय र ब्यक्तिगत जवाफदेहीता’ कायम गर्न जरुरी छ ।

अतः २५सौं जनयुद्द दिवसले नेतृत्व स्थापित हुनुको महत्व र ठोस स्थितिको ठोस विस्लेशण सहित जिवनको वाजि लागाउँदै लामवद्द हुने ताकत पैदा गर्न सक्ने नयाँ विचारको आवाश्यकता पुर्ति गर्न मार्गदर्शन गरोस । यही नै नेपालको राजनीतिक संघर्षहरुको सर्वोच्च संश्लेषणको रुपमा स्थापित युगान्तकारी जनयुद्ध र जनआन्दोलनका अमर शहिदहरु प्रतिको सच्चा श्रद्धान्जली तथा सम्मान हुनेछ । २५सौं जनयुद्ध दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ।