कोरोना भाइरसका बिरामी नाच्न थाले

कोरोना भाइरसको केन्द्रबिन्दु रहेको युहानका अस्पतालहरुमा उपचाररत बिरामी नाचगान लगायतका मनोरञ्जनात्मक गतिविधिमा सहभागि भई आफ्नो दुखाइ कम गर्ने प्रयास गरिरहेका छन् ।

युहानका विभिन्न अस्पतालमा उपचाररत बिरामी र क्वारेन्टाइनमा राखिएका शंकास्पद व्यक्तिहरुमा पर्न जाने मानसिक असरलाई न्यूनिकरण गर्न उपचारमा खटिएका डाक्टर तथा नर्सहरुले यस्तो उपाय अवलम्वन गरेको चिनिया सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चिकित्सकहरुले बिरामीको यो गतिविधिले आत्मबल बढउन उत्प्रेरणा मिल्नुका साथै स्वास्थ्यमा थप सुधार आउने विश्वास लिएका छन् । बिरामीहरुले पुस्तक अध्ययन गरेर आफुलाई तनावमुक्त बनाउने कोशिस गरिरहेको फोटोहरु सार्वजनिक भएका छन् ।

उपचारपछि खतरामुक्त भई वार्डमा सारिएका बिरामी र विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु एक आपसमा नाच्दै,हासी मजाक गरेर रोग प्रतिरोधात्मक शक्तिलाई बढाउन उत्साहित भएका छन् । अहिले युहानका बिरामी वेडबाट उठेर नाच्दै गरेको भिडियो चीनमा भाइरल भएको छ ।

युहानको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा पनि क्वारेन्टाइनको व्यवस्था गरिएको छ । चीनभर अहिले १ करोड ३० लाख मानिसहरु क्वारेन्टाइनमा बसिरहेका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले हालसम्म २ हजार ४ सय ७८ जना बिरामी निको भएको जनाकारी दिएका छन् । आयोगका अनुसार उपचाररत बिरामीको अवस्था पनि सामान्य बन्दै गएको छ । कोरोना भाइरस संक्रमणका कारण १ हजार १६ जनाको मृत्यु भइसकेको छ भने ४२ हजार ६ सय ३८ जना संक्रमित भएका छन् । एजेन्सीको सहयोगमा