तरकारी खेतीबाट आत्मनिर्भर बन्दै भरैयाका किसान

कोहलपुर कोहलपुर नगरपालिका-१३ भरैयाका किसानहरु तरकारी खेतीबाटै आत्मानिर्भर बन्न थालेका छन् । तरकारी गोडमेल, मलजल गर्नुकासाथै सिँचाइको ब्यवस्थापनमै उनिहरुको दिन बित्ने गरेको छ । सामुहीक तरकारी खेती गर्दै आएका यहाँका कृषकहरुले सागर कृषि सहकारी समेत खोलेका छन् ।

कृषिलाई नै मुख्य पेशा बनाएका यहाँका स्थानियहरुले सिजनमा न्यूनतम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन । परम्परागत रुपमा धान खेती गर्दै आएका यहाँका कृषकहरु आम्दानी बढि हुने देखिएपछि तरकारी खेतीमा जुटेका हुन । धान खेतीमा मेहनत धेरै, उपलब्धी कम हुने भएकाले तरकारी खेती सुरु गरेको स्थानिय नर बहादुर बुढा मगर बताउँछन ।

पहिलेको तुलनामा पछिल्लो समय तरकारी उत्पादन निकै बढेको बताउँदै मगर भन्छन, ‘ग्राहकहरु घरमै आएर तरकारी किनेर लैजान्छन ।’

वि.स. २०४० सालमा भरैया झरेका मगरले पहिले धान र गहुँ मात्र लगाउँथे । त्यसबाट मात्र लाउन खान नपुगेपछि वि.स.२०५१ सालदेखि तरकारी खेति सुरु गरेका मगरले अहिलेसम्म कुनै निकायबाट सहयोग नपाएको भन्दै गुनासो गरे । प्रदेश र स्थानिय सरकारले कृषिमा थुप्रै बजेट छुट्याएको खबर सुनेता पनी मगरले अहिलेसम्म अनुदान पाएका छैनन् । यद्यपी वार्षिक दुईदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएका मगरले सोही रकमबाट घर परिवार पाल्दै आएका छन ।

अर्का किसान शेर बहादुर वलीले पनि एक दशकदेखी तरकारी खेति गर्दै आएको सुनाए । विभिन्न निकायबाट कृषि सम्बन्धि तालिम लिएका वली नेपालमै तरकारी खेतिबाट मनग्य आम्दानी गर्न सकिने बताउँछन ।

‘हामी चार भाई मिलेर ३५ कठ्ठामा तरकारी खेति सुरु गरेका छौं’ वलीले भने, ‘वार्षिक दुई लाख लगानी गरेर उब्जीएको तरकारीबाट १५ लाख बराबर आम्दानी हुने गरेको छ ।’

कृषि पेशाबाटै २२ जनाको घर खर्च र बालबालिकाको पढाई खर्च चलाईरहेका वलीलाई उनका भाई तिलक वली, एकराज वली र शसिराम वलीले तरकारी खेतीमा साथ दिदै आएका छन । उनीहरुका अलावा परिवारका सबै सदस्यहरु फुर्सद भएसम्म खेतमै भेटिने गरेका छन ।

समयमै विउ र मल उपलब्ध नहुँदा सोचेजती उत्पादन गर्न नसकीएको वली बताउँछन । कोहलपुर नगर कृषि शाखाको वितरण प्रणाली प्रति असन्तुष्ट देखिएका वलीले भने, ‘कृषकको आवश्यकता पहिचान गरेर विउविजन वितरण गरे राम्रो हुने थियो, तर त्यसो हुँदैन ।’

सरकारी मार्फत यहाँका किसानहरुले अटो समेत खरीद गरेका छन । गाँउमा उत्पादन हुने तरकारी अटो मार्फत बजारसम्म पुग्ने भएकाले यहाँका कृषकहरुले बजारीकरणको समस्या झेल्नुपरेको छैन । यद्यपी बाहिरबाट आयातीत विषादीयुक्त तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था यथावत नै रहेको कृषकहरु बताउँछन । भारतीय बजारबाट सस्तो मुल्यमा ल्याएका तरकारीका कराण गाँउमा उत्पादीत अर्गानीक तरकारीले उचित मूल्य पाउन नसकेको उनिहरुको गुनासो गरे ।