सुन्दरताको बयान : सत्यम्, शिवम्, सुन्दरम् !

आहा, यो फूल कति राम्रो ! आहा, यो केटी कति ‘ब्युटिफुल !’ वाह, यो केटा क्या ‘ह्यान्डसम !’ यो बच्चा कति ‘क्युट !’

आममानिसले आफ्नो जीवनमा यी कुरा धेरै पटक भन्छन् नै । यसमा आकर्षण, सुन्दरता, संवेदना, भावना र यौन सबै जोडिएर आउँछन् । सामान्य अर्थमा सुन्दरता र आकर्षण भन्नेवित्तिकै हरेक मानिसको मनमा एउटी महिलाको वा पुरुषको तस्बीर आइहाल्छ । कुनै प्राज्ञिक, वैज्ञानिक, कलाकार वा व्यवसायी, जे होस्, उसको मनमा पनि यस्तै तस्बीर आउँछ । यो शारीरिक आकर्षण र सुन्दरता दुवैसँग गाँसिएको हुन्छ ।

मानिसले सधैँ सुन्दरता खोजिरहेको हुन्छ । व्यक्ति विशेषमा वा कुनै विषयवस्तुमा जस्तैस् कला, साहित्य, संस्कृति, परंपरा, प्रकृति र आफैँमा सुन्दरता खोज्नु मानिसको मौलिक स्वभाव हो । सबैलाई लाग्छ कि यो सुन्दर होस्, त्यो सुन्दर होस् । अझ बढी उसको शरीर सुन्दर होस् र आफूलाई आवश्यक पर्ने हरेक कुरा सुन्दर हुन् ।

यस्तो कामना र इच्छा मानिस त के अन्य प्राणीमा पनि हुँदो हो सायद । मानव सभ्यताको सुरुदेखि नै सुन्दरताको खोजी भएको हुन सक्छ । पुरुषको कामना हुन्छ कि सुन्दर महिलासँग प्रेम र सम्बन्ध होस् । महिलालाई पनि त्यस्तै इच्छा हुन्छ कि एउटा इमान्दार र असल पुरुष आफ्नो जीवनसाथी होस् । त्यसैगरी आमाबुबालाई लाग्छ, मेरा सन्तानहरू सुन्दर अर्थात् राम्रा जन्मिऊन्, राम्रो पढून् र केही पुरुषार्थ गरेर देखाऊन् ।

यी सबै कामनाहरू सुन्दरतासँग जोडिएका हुन्छन् तर हामी धेरैलाई थाहा छैन कि सुन्दरता के हो र कस्तो कस्तो गुण वा विशेषता भएकालाई सुन्दर भनिन्छ ?

सुन्दरताका बारेमा व्याख्या, विवेचना र विश्लेषण गर्ने शास्त्रलाई सौन्दर्यशास्त्र भनिन्छ । सौन्दर्यशास्त्र दर्शनशास्त्रको एउटा अभिन्न अंग हो । यसमा संवेदना, भावना, गुण, मूल्य, कला, संस्कृति र सम्पूर्ण प्रकृतिका बारेमा अध्ययन र विवेचना गरिन्छ ।

कला, संस्कृति र प्रकृतिको पनि विवेचना सौन्दर्यशास्त्रले नै गर्छ । सौन्दर्यशास्त्र त्यस्तो शास्त्र हो, जसमा कलात्मक कृति, रचनाहरू आदिबाट अभिव्यक्त हुने अथवा तिनमा निहित सौन्दर्यको तात्त्विक, दार्शनिक र मार्मिक विवेचना गरिन्छ । यसका अतिरिक्त कुनै खास व्यक्ति र विषयवस्तुमा रहेका अनेक सकारात्मक गुण, क्षमता, बौद्धिकता र सामथ्र्यहरूको अध्ययन, व्याख्या र विवेचना पनि गरिन्छ ।

सुन्दरता त्यही हो, जसलाई देखेर, हेरेर, अनुभूत गरेर मनमा विशेष प्रकारको आनन्ददायी भावना उत्पन्न हुन्छ । त्यसैले सौन्दर्यशास्त्रलाई सौन्दर्य मीमांसा तथा आनन्द मीमांसा पनि भन्ने गरिएको छ । जुन विषयवस्तुबाट मानिसलाई आकर्षण, प्रेम, माया, आनन्द र सन्तोष पैदा हुन्छ, सुन्दरता पनि त्यसैमा लुकेको हुन्छ ।

जीवन र जगतका कुनै पनि विषयहरू जस्तैस् व्यक्ति, जनावर, वनस्पति, स्थान, वातावरण, परिस्थिति, कला, साहित्य र समाजका बारेमा हाम्रो मनमस्तिष्कमा मन लोभ्याउने वा आकर्षित गर्ने विशेष भावना उत्पन्न हुन्छ भने त्यो सुन्दर कुरा हो भन्ने बुझ्न सकिन्छ ।

विश्व चर्चित लेखकहरूले गहन अध्ययन र विश्लेषण गरी सुन्दरताका बारेमा आफ्ना तर्कहरू दिएका पाइन्छ । भारतीय लेखक रवीन्द्र रवि, बेनेदितो क्रोचे, मथुरानाथ शास्त्री, सुरेन्द्र चौधरी, चिनियाँ लेखक फेङ सुई, ल्यु सुन तथा पश्चिमी विद्वान् फ्रेडरिक नित्से, सोरेन किअर्केगार्ड, जर्ज विलियम, हेगेल, फ्रेडरिक एंगेल्स, कार्ल माक्र्सहरूले शौन्दर्यशास्त्रका बारेमा विस्तृत व्याख्या र विवेचना गरेका छन् ।

त्यसैगरी पूर्वीय चिन्तन परंपरामा अनेक दार्शनिकहरूले वेद, उपनिषद् र पुराणहरूमा सुन्दरताको परिभाषालाई ‘सत्यम्, शिवम्, सुन्दरम्’ भनेर निष्कर्ष निकालेका छन् । यस्तो विवेचना सैद्धान्तिक रूपमा आफ्नो ठाउँमा रहन्छ तर आममानिसको दैनिक जीवनका लागि हरेक पल सुन्दरताको महत्त्व व्यावहारिक रूपमा प्रस्फुटित भइरहेको हुन्छ ।

मानिसको सम्पूर्ण जीवन एक प्रकारले सुन्दर, राम्रो, आकर्षक, असल र मनपर्ने विषयवस्तुको खोजीमा बित्छ । यस्तो खोजीमा कसैले सबै कुरा पाउँछन् भने कसैले सोचेजस्तो नपाएर निराशा मात्र पाउँछन् । साथै, एउटै विषयवस्तु कसैलाई मनपर्छ भने अरूलाई मन नपर्न सक्छ ।

कुनै महिलालाई ‘तपाईं धेरै सुन्दर हुनुहुन्छ’ भन्यो भने उनको तयारी चाउचाउ जस्तै जवाफ हुन्छ, ‘म सुन्दर हैन, तपाईंको हेर्ने आँखा सुन्दर हो ।’

उनको यस्तो भनाइमा ती पुरुषलाई ‘तपाईं राम्रो हुनुहुन्छ’ भन्ने प्रष्ट भावना लुकेको हुन्छ । अब प्रश्न उठ्छ कि ती महिला सुन्दर हुन् कि पुरुषको आँखा सुन्दर हो ?

हामीले के भन्न सक्छौँ भने ती दुवै सुन्दर हुन् । सुन्दरतालाई हेर्ने, बुझ्ने, बयान गर्ने र प्रतिक्रिया दिने शैली मात्र फरक हो । हरेक मानिसमा सुन्दरतालाई प्रकट र अभिव्यक्त गर्ने तरिका फरक फरक हुन्छ । मानिस, चरा, पुतली, जनावर, बच्चा, खेलौना, फूल, बिरुवा र प्राकृतिक वस्तुहरू आफैँमा सुन्दर हुन्छन् ।

सुन्दरतालाई कसरी आत्मसात् गरिन्छ भन्ने कुरा हाम्रो सौन्दर्य चेतनामा निर्भर हुन्छ । त्यसैले अंग्रेज कवि तथा नाटककार सेक्सपियरले पनि भनेका थिए, ‘सौन्दर्य हेर्ने मान्छेको आँखामा हुन्छ ।’ हामी थप्न सक्छौँ कि ‘जे कुरालाई बुझेर हेरिन्छ, त्यो निश्चित रूपमा सुन्दर हुन्छ ।’

जीवन र जगत् आफैँमा सुन्दर कुरा हो । हाम्रो यो जीवन न पहिले थियो, न पछि नै हुनेछ । यो एक पटक कुनै शक्ति वा ऊर्जाबाट प्राप्त भएको विश्वास गरिन्छ । अझ धरैले त यो ईश्वरको उपहार भनेर मान्छन् ।

गायिका कुन्ती मोक्तानले गाएको गीत जस्तै यो जीवन एउटा ‘सृष्टिकै अमूल्य उपहार….. मानिसको जुनीझैँ के छ र बराबर रु’ जस्तै हो । यसरी प्राप्त भएको यो जीवन एउटा अमूल्य उपहार हो । उपहार कहिल्यै नराम्रो हुँदैन, सुन्दर नै हुन्छ । प्रकृति प्रदत्त कुराहरू कहिल्यै नराम्रा हुँदैनन् ।

हामीलाई सुन्दर नलाग्नु त केवल हाम्रो भावना र संवेदनाले आफ्नै आँखाहरूलाई गलत सूचना दिएर यस्तो भएको हुन सक्छ । यस्तो भ्रमबाट बाहिर निस्किएपछि मात्र सुन्दरता खोज्न, बुझ्न, हेर्न र अपनाउन सकिन्छ ।

कसैको शरीर सुन्दर हुन्छ, कसैको मन र भावना सुन्दर हुन्छ । कसैको काम सुन्दर हुन्छ, कसैको निष्ठा र इमान्दारी सुन्दर हुन्छ । कसैको कलाकारिता सुन्दर हुन्छ तर हामीलाई चित्त नबुझ्नासाथ भनिदिन्छौँ, ‘छि ! यो के गरेको ? छि ! यो कस्तो नराम्रो ! यो कति नमीठो ! यो त निकै घीनलाग्दो छ’ आदिआदि ।

आफ्नोआफ्नो दृष्टिकोणअनुसार हाम्रा आखाँहरूले राम्रो वा नराम्रो देखिरहेका हुन्छन् । हाम्रो भावना र संवेदनाले कुनै विश्लेषण नगरी हाम्रै आँखाहरूलाई भ्रममा पारिरहेको हुन्छ । भ्रमबाट एकै क्षण भए पनि बाहिर आएर आँखा चिम्लिनुहोस्, सोच्नुहोस् र सुन्दरता खोज्नुहोस्, तपाईंले कहीँ न कहीँ आकर्षण, प्रेम, संवेदनशीलता, बौद्धिकता, नैतिकता र कलात्मकता पाउनुहुन्छ । ठीक त्यही समयमा तपाईं सुन्दरताको नजिक पुग्नुहुनेछ ।

जसले, जसरी, जुन कुरालाई सुन्दर माने पनि वा नमाने पनि यहाँ एउटा कुरा उल्लेख गर्नै पर्ने हुन्छ कि सुन्दरता भनेको ‘सत्यम्, शिवम्, सुन्दरम्’ हो, जसको अर्थ बौद्धिक सत्य, नैतिकतायुक्त ईश्वरीय शक्ति र कलात्मकताले भरिपूर्ण विषयवस्तु भन्ने हुन्छ । पूर्वीय दर्शन परंपराअनुसार सुन्दरता भनेको ‘सत्यम्, शिवम्, सुन्दरम्’ नै हो भन्न सकिन्छ ।