वीरेन्द्रनगरमा कर्फ्यु जारी, बाहिर निस्कन बन्देज

कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा कर्फ्यु जारी गरीएको छ । जिल्ला सुरक्षा समितिको बैठकले मंगलबार बेलुका ६ः३० बजेदेखी भोली बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाउने निर्णय गरेको हो । सुरक्षा समितिको निर्णय अनुसार पुर्वमा ईत्राम खोला, पश्चिममा वाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५०० मिटर दक्षिण क्षेत्रसम्म कर्फ्यु जारी गरीएको हो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यु अवधिभर कसैलाई बाहिर हिडडुल नगर्न आग्रह गरेको छ । कर्फ्यु तोड्न खोज्नेलाई गोली समेत प्रहार गर्न सक्ने बताउँदै प्रशासनले सबैलाई घर जान आग्रह समेत गरेको छ ।

मंगलबार बिहान टिपरको ठक्करबाट एक युवकको ज्यान गएपछि वीरेन्द्रनगर बिहानदेखी तनावग्रस्त छ । घटनापछि आक्रोशित स्थानियहरुले सुरु गरेको आन्दोलनले उग्र रुप लिएपछि स्थानिय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

यसअघि भिडलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन भन्दा बढी रबरको गोली चलाएको थियो भने दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो । दोहोरो झडपमा दर्जन बढी प्रर्दशनकारीहरु घाइते भएका छन् ।

मंगलबार बिहान ट्रिप्परको ठक्करबाट बिरेन्द्रनगरमा एक जनाको ज्यान गएपछि माहोल तनावग्रस्त बनेको हो । वीरेन्द्रनगर ४ मुलपानी चोक नजिक मंगलबार बिहान भे १ ख २२४२ नम्बरको ट्रिप्परले टक्कर कालिकोट महावै गाउँपालिका ३ घर भैइ हाल वीरेन्द्रनगर बस्दै आएका केशर सिंहको मृत्यु भएको थियो ।