आन्टि चिया बन्छ ?

आन्टि चिया बन्छ ?

‘बन्छ नि बाबू कति ओटा बनाउने हो र ?’
एउटा बनाउनुस न Black Tea !

‘ए हस बस्दै गर्नुस है त ।’
हस…….अनि सुन्नुस न एउटा सुर्य पनि दिनुस है ।

‘हामी चुरोट बेच्दैनौ नि बाबू, तिमी जस्तै जवान केटा हरु सबै मेरै छोरा जस्तै हुन ! म मेरा छोरा हरु कुलत मा फसेको कसरी हेर्न सक्छु र ।’

म छक्क परे, काठमाडौ भित्रका अधिकाङ्स होटलहरुमा चिया पसलहरुमा चुरोट पाइन्छ, अझ भनौ चुरोट भएन भने पसल नै चल्दैन, तर यहाँ चुरोट नै छैन, अझ भनौ बेच्ने गरेकै छैन रे !

‘बाबू छोरा चुरोट खाने नै भए उ तल्लो पसलमा पाइन्छ, गएर ल्याउ’ भन्दै मलाई पसल देखाई दिनु भयो ।

घरबाट केही टाढा भएकाले घरको यादले नसताउने त कुरै भएन, त्यही माथी चिया साउनिले छोरा भनेर सम्बोधन गरे पछि चुरोट किन्ने आट नै आएन, मैले चिया मात्र पिउने निर्णय गरे ।

उहाँ चिया मेरो टेबलमा राखी दिदै…..
करेशामा रोपेका धनियाका स-साना मुठा बनाउदै बोल्न लाग्नु भयो ।

‘तिमी जस्तै छोरो थियो, कुलतमा फस्यो, चुरोट चुरोटबाट बिस्तारै गाजा, साथी भाइको सङतले हरेक कुरा खान थाल्यो,
नखा भनेर धेरै सम्झाई बुझाई गरौं, एक्लो छोरो रिसाएनी माया लाग्ने, उस्का हर चाहाना पूरा गरि दिन नाई नास्ती गरेनौ, हुर्किदै गयो, उस्ले चाहेका कुरा मनखुसी गर्दै गयो ।

अनि अहिले चै उस्ले चुरोटहरु खान छोड्यो र आन्टी ?

‘अहिले उस्ले चाहेर पनि खान सक्दैन
हाम्ले खाउ बाबू भनेर भन्न पनि सक्दैनौं
साझ ममि ढोका खोल न भन्छ कि झै लाग्छ
यो मोबाईल मा ममि म आज आउदिन साथिकै मा बस्छु है भन्दै फोन गर्छ कि झै लाग्छ,
कहिलेकाहीँ झुक्किएर उस्लाई पनि खाना बसाल्छु’

म केही बोल्नै सकिन,
चिया पिइ रहे,

‘यहाँ चिया पिउन आउने १०/१५ जना ले चुरोट छोडी सके बाबू भन्दै धनियाका मुठ्ठा पखाल्न भित्र छिर्नुभयो ।

धनियाका मुठ्ठा पखाल्न छिर्नु भयो कि छोराका यादले झरेका आँसु पखाल्न छिर्नु भयो मैले पत्तो पाउन सकिन ।

सामाजिक सञ्जालबाट