वडाध्यक्ष खड्काले आत्महत्या गरेको खुलासा, ‘सुसाईड नोट’ भेटियो

भारतमा मृत अवस्थामा भेटिएका वडाध्यक्ष कृष्ण बहादुर खड्काले आत्महत्या गरेको खुलेको छ । भारतको बहराईचस्थित एक होटलमा मृत अवस्थामा भेटिएका कोहलपुर वडा नं. १२ का वडाध्यक्ष खड्काको शव नजिकै ‘सुसाईड नोट’ भेटिएको बाँके प्रहरीले जनाएको छ । अनुसन्धान गर्ने क्रममा होटलको कोठामा ‘सुसाईड नोट’ भेटिएको प्रहरीले जनाएको छ ।

खड्काले आर्थिक तनावका कारण आत्महत्या गरेको सुसाईड नोटमा खुलाएका छन । आफैले लेखेको भनिएको सुसाईड नोटमा खड्काले बैंकका कारण आफु आत्महत्या गर्न बाध्य भएको समेत उल्लेख गरेका छन । तिन महिना अघि समेत आत्महत्याको प्रयास गरेको खड्काले सुसाईड नोटमा खुलाएका छन ।

भारतीय प्रहरीको सहयोगमा खड्काको शव बिहबार नेपाल ल्याईएको छ । भारतीय प्रहरीका अनुसार खड्काले सल्फस नामक औषधि खाएर आत्महत्या गरेका हुन । रुपहिडियाबाट औषधि किनेर बहराईच पुगेका खड्काले होटलको कोठामा आफैले औषधि खाएर आत्महत्या गरेको सुसाईड नोटमा उल्लेख गरेका छन ।

बुधबार राती होटलमा खड्का मृत अवस्थामा भेटिएका थिए । पोष्टमार्टम पछि आज (बिहिबार) नेपाली प्रतिनिधि सहितको टोलीले खड्काको शव नेपाल ल्याएको हो ।

खड्का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके जिल्ला कमिटी सदस्य समेत हुन । मंगलबार सुर्खेतको मेहलकुना जाने भनी घरबाट हिडेका वडाध्यक्ष खड्का भारतमा मृत भेटिएका थिए ।

मृतक खड्काको भोली धार्मिक परम्परा अनुसार दाहसंस्कार गरीने परिवार स्रेतले जनाएको छ ।