भारतले नेपालभित्र बनाएको पिलर सशस्त्र प्रहरीले हटायो

सशस्त्र प्रहरीको सक्रियतामा नेपाल भारत सिमाना छुट्टयाउने दशगजा क्षेत्रमा अनाधिकृत रुपमा निर्मित दर्जनौ घरटहरा हटाइएको छ । सशस्त्र प्रहरी ११ नम्बर हेडक्वार्टरका प्रमुख एसपी रवनराज कर्णजितको नेतृत्वमा सदरमुकाम गौर देखी परोहा, ईशनाथ लगायत स्थानीय तहसँग टाँसिएका भारतीय सिमाना छुट्टयाउने दशगजा क्षेत्रमा दुबै देशका बासिन्दाले निर्माण गरेको तीन दर्जन घरटहरा हटाइएको हो ।

गत पुस ९ गते भारत सितामढी जिल्ला बैरगनियास्थित अधैसैनिक बल एसएसबीका कमाण्डेन्ट तपनकुमार दासको अध्यक्षतामा बसेको दुईपक्षीय बैठकले दशगजा क्षेत्रको अतिक्रमण हटाउने सहमति भएको थियो । सोही सहमतिअनुसार भारतीय अर्धसैनिक बल एसएसबी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गौर, ईशनाथ र परोहा नगरपालिकासँग जोडिएको सिमानामा भारतीय र नेपालीले निर्माण गरेको ३४ वटा घरटहरा हटाइएको सशस्त्रका एसपी रबिनराज कर्णजितले जानकारी दिए ।

त्यस्तै ईशनाथ नगरपालिका २ औरैयामा रहेका ३४८.१ र ३४८.२ नम्बरका भारतले नेपालतर्फ च्यापेर ठड्याएका पिलर र ५ वटा विद्युतपोल ३५ फिट भारततर्फ सारिएको एसपी कर्णजितले बताए । त्यसैगरी नेपाली र भारतीय नागरिकले दशगजा अतिक्रमण गरी खेती गर्दै आएको ५० बिगाहाभन्दा बढी जग्गा खाली गराइएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ । रातोपाटीबाट