वर्षालाई दर्शकको चुनौती, भोलीको आकर्षण प्रमोद खरेल

बिहिबार दिनभरी कोहलपुरमा झरी पर्यो । कोहलपुर महोत्सव संचालन भईरहँदा झरी परेपछि दर्शकहरु छाता ओढेरै महोत्सव हेर्न पुगेका छन । आफ्ना मनपर्ने कलाकारलाई हेर्न दर्शहरु छाता ओढेरै भएपनि महोत्सवमा पुगेका हुन ।

महोत्सवको आठौं दिन बिहिबार चर्चित लोकदोहोरी गायक पशुपती शर्मा र हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलले कोहलपुरका दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका छन । प्रतिकुल मौसमका वावजुत कोहलपुर आईपुगेका शर्माले गित गाईरहँदा दर्शकहरु पानीको तालमा झुमेका थिए । सिमसिमे पानीले महोत्सवको माहोल झनै रोचक बनाएको थियो ।

त्यसैगरी कमेडी किङ्गको उपाधि पाएका राजा राजेन्द्र पोखरेलले खुलेरै हाँस्न बाध्य पारे । समसामयीक घटनाक्रमका बारेमा पोखरेलको टिप्पणी हेर्न लायक थियो । यस क्षेत्रकै चर्चित गायीका टिका पुन र पशुपती शर्माले दोहोरी झनै हेर्न लायकको थियो ।

पौष २४ गतेदेखी सुरु भएको महोत्सवमा हालसम्म (माघ १ गतेसम्म) ७५ हजार बढि दर्शकले महोत्सव अवलोकन गरीसकेको कला साँस्कृति उपसमितिको सहसंयोजक विन्दु विसीले जानकारी दिईन ।

शुक्रबार (भोली) प्रमोद खरेल आउने

महोत्सवको नवौं दिन शुक्रबार आधुनिक गायक प्रमोद खरेलले कोहलपुरको माहोल तताउने भएका छन । महोत्सव आयोजकका अनुसार शुक्रबार प्रमोद खरेल, बिन्दु परियार लगाएतका राष्ट्रिय कलाकारहरु कोहलपुर आउने भएका हुन । प्रतिकुल मौसमका वावजुत कलाकारहरु कोहलपुर आउन राजी भएको महोत्सवको कला साँस्कृति उपसमितिका संयोजक रामु लम्सालले बताए ।