वडाध्यक्ष खड्काको शव आज नेपाल ल्याईदैं

भारतको बहराईचमा मृत अवस्थामा भेटिएका कोहलपुर वडा नं. १२ का वडाध्यक्ष कृष्ण बहादुर खड्काको शव आज नेपाल ल्याउने तयारी गरीएको छ । वडाध्यक्ष खड्का बुधबार राती बहराईचस्थित एक होटलमा मृत अवस्थामा भेटिएका थिए ।

भारतीय प्रहरीको सहयोगमा खड्काको शव नेपाल ल्याउने तयारी भईरहेको कोहलपुर नगरपालिकाका प्रेस संयोजक भिम रावतले जानकारी दिए । खड्काको मृत्युको कारण अझैं खुल्न सकेको छैन । बुधबार नै खड्काको शव नेपाल ल्याउने बताईएपनि पोष्टमार्टका लागि समय लाग्ने भएकाले आज शव नेपाल ल्याउने तयारी भईरहेको नेकपा कोहलपुर नगर समितिका अध्यक्ष बसन्ती अधिकारीले जानकराी दिईन ।

खड्काको शव ल्याउन नेपाली प्रतिनिधि टोली बहराईच पुगेको छ । मृत खड्का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके जिल्ला कमिटी सदस्य समेत हुन । मंगलबार सुर्खेतको मेहलकुना जाने भनी घरबाट हिडेका वडाध्यक्ष खड्का भारतमा मृत भेटिएका थिए ।