झरीको मारमा कोहलपुर महोत्सव, दर्शकको चाँप भने घटेन

‘तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव’ ले निरन्तर झरीको सामना गर्नुपरेको छ । महोत्सव संचालन भएकै दिनदेखी प्रतिकुल मौसमका कारण महोत्सव प्रभावित हुँदै आएको हो । यद्यपी महोत्सवलाई दर्शकले भने खुलेरै साथ दिएका छन । पौष २४ गतेदेखी सुरु भएको महोत्सवमा हालसम्म (माघ १ गतेसम्म) ७५ हजार बढि दर्शकले महोत्सव अवलोकन गरीसकेको कला साँस्कृति उपसमितिको सहसंयोजक विन्दु विसीले जानकारी दिईन ।

लगातारको वर्षाका कारण महोत्सव परिसर हिलाम्मे भएपछि आयोजकले दर्शकको शुविधालाई मध्यनजर गर्दै कार्पेट बिछ्याएको थियो । महोत्सव मुल गेटदेखी स्टल क्षेत्र हुँदै मञ्चसम्म कार्पेट विछ्याईएको महोत्सव आयोजक मुल समारोह समितिका संयोजक हेम बिक्रम जिसीले बताए । विगतका वर्षभन्दा आकर्षक भौतिक पुर्वाधार निर्माण गरीएपनि झरीका कारण केही समस्या देखिएको जिसीले दावी गरे ।

सोमबार, मंगलबार र बुधबार कोहलपुरमा घाम लागेपनि बुधबार रातीदेखीको झरीका कारण आज (बिहिबार) महोत्सव संचालनमा समस्या देखिएको जिसीले बताए । रातीदेखीको अविरल वर्षाले मञ्च अगाडीको फिल्डमा पानी जमेको भएपनि अन्य क्षेत्रमा भने खास्सै असर नगरेको जिसीले बताए । निसीका अनुसार अहिले महोत्सवस्थलमा थप भुस र वालुवा हाल्ने काम भईरहेको छ ।

करीब डेढ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा ब्यापारीक स्टलका साथै साँस्कृतीक तथा थारु संग्राहलयको समेत ब्यवस्था मिलाईएको छ । महोत्सव अवधिभर १ देखि डेढ करोडसम्म कारोवार गर्ने लक्ष्य राखिएको महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिका महासचिव सिएम उपाध्यायले जनाए । महोत्सवमा ब्यापारीक, होटल ब्यवसाय, हस्तकलाका सामग्री तथा घरेलु उत्पादनका ३०० स्टल राखिएका छन ।

महोत्सवमा स्थानिय स्तरमै उत्पादित वस्तु, विभिन्न जातीय खाना, बाल उद्यान, कृषि वन तथा उद्योग र पर्यटनलाई प्रवद्र्वन गर्न स्थानीय तथा स्वदेशी उत्पादनका विभिन्न स्टल, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । ‘मेहनत सृजना उत्पादन र वस्तु, मेरै नेपालको’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव माघ ५ गतेसम्म संचालन हुनेछ ।