राष्ट्रिय विभूतिको सम्मान खोसिनुपर्छ

पुस २७ गते एकथरी मानिसहरू पृथ्वीनारायण शाहलाई राष्ट्र एकताको निर्माताको रूपमा चित्रित गर्दै उनको गुणगानमा सम्पूर्ण शक्ति खर्च गर्न लाग्दछन् । उनले नेपाललाई एकीकरण गरे, त्यसकारणले उनको जन्मजयन्तीलाई ‘राष्ट्रिय एकता दिवस’ का रूपमा मनाउनुपर्छ भन्ने मूलतः राजावादीहरूको विशेष पहल हुन्छ ।

हामीलाई पढाइएका विभिन्न इतिहासले पनि उनी कहीँ कतै साँच्चै राष्ट्र निर्माता नै थिए कि ? भन्ने भान पर्न जान्छ। तर, खासमा कुरा के हो भन्दा इतिहास जहिले पनि जितेको मान्छेले नै लेख्ने हो। इतिहासमा राज्यसत्ताबाट उत्पीडित हामी हारेको मान्छेहरूको इतिहास चाहिँ प्रतिविम्बित नभएको हुनाले हामीलाई अहिलेसम्म सत्यसाँचो हो भनेर बुझाइएको इतिहास सत्य नभई भ्रम रहेछ । पृथ्वीनारायणले राज्य एकीकरण गरेको होइन रहेछ।

वास्तवमा पृथ्वीनारायणले सही अर्थमा नेपालको एककीरण गरेका होइनन्, उनले आफ्नो गोरखा राज्य विस्तार गरेका मात्र हुन् । उनले यहाँका आदिवासी जातिहरूमाथि आफ्नो उपनिवेश लादेर जबर्जस्त लादेका हुन्।

त्यसैले हामी उनका आलोचकहरू उनलाई राष्ट्रिय एकताको प्रतिक मान्न तयार छैनौं। उनी वास्तवमा जनहत्यारा थिए, हामीले त्यही रूपमा मात्र बुझेका छौं। हुनसक्छ भने उनलाई मराणोपरान्त ‘युद्ध अपराधी’ घोषणा गरियोस्, राष्ट्रविभूतिबाट उनको नाम हटाइयोस्, उसका शालिकहरू जुन-जुन स्थानमा छन् त्यो सबै हटाइयोस्।

के पृथ्वीनारायण शाहले अंग्रेजी साम्राज्यबाट बचाएकै हुन् ?

पृथ्वीनारायण शाहले नेपालका ससाना बाइसे-चौबिसे राज्य एकीकरण नगरेको भए, हाम्रो देश नेपाल, नेपाल नै रहने थिएन, हामी नेपाली भनेर बाँच्न पनि पाउने थिएनौ भन्ने भ्रम फैलाइएको छ। उनले एकीकरण नगरेको भए त्यतिबेलाका साम्राज्यवादी शक्ति अंग्रेजले सबै कब्जा गथ्र्यो भन्ने एउटा मनगढन्ते चित्रण यहाँ गर्ने गरिन्छ।

तर, त्यसका पछाडि कुनै ऐतिहासिक सत्यता छैन। मूल कुरा पृथ्वीनारायण शाहमा यो अंग्रेज साम्राज्यले नेपाल हडप्ला भन्ने चिन्ता भन्दापनि त्यतिबेला भारतका मुस्लिम मुगलराजाले हिन्दूमाथि निरन्तर आक्रमण गरेकाले त्यसलाई निस्तेज बनाउन र नेपालमाथि मुगल राजाहरूले गर्न सक्ने आक्रमणलाई टार्न र भारतदेखि नेपालको हिमावतखण्ड असली हिन्दूस्थान हिन्दूराज्य घोषणायो अभियान सुरु गरेका हुन् भन्ने देखिन्छ।

उनले गोर्खा राज्य विस्तार गर्नुको मूल उद्देश्य यसलाई असली हिन्दुस्थान बनाउने नै हो । तर, पछिल्लो समय हाम्रा राजावादी मित्रहरूले यसलाई नितान्त अंग्रेजविरुद्ध गरेको भन्ने गरेका छन् । यहाँ बुझ्नुपर्ने कुरा के हो भने पृथ्वीनारायण शाहको सेनाले नेपालको कुन ठाउँमा अंग्रेजहरूसँग युद्ध लडेको घटना छ ? यस्तो प्रश्न गर्दा इतिहासका घटना दिन सक्दैन, खाली एउटै घटना सिन्धुलीगढीमा अंग्रेज सेना एउटा यात्राको क्रममा काठमाडौंतिर आइराखेको बेलामा गोरखा सैनिकले अवरोध गरेको सम्मको कुरा उल्लेख गरेको पाइन्छ।

तर, त्यहाँ तोप पड्केको नि होइन, त्यहाँ बन्दुक पड्केको, मारकाट भएको होइन । अंग्रेजहरूले बाग्मती नदीमा बनाएको साँघु प्रकृति प्रकोपले गर्दा सबै भत्केकोले पार गर्न नसकेको मात्र हो । त्यसको अलवा गोरखा सैनिकहरूको अवरोधले नेपाल आउन सकेनन्, नेपाल अतिक्रमण हुन पाएन, पृथ्वीनारायण शाहका सेनाहरूले रोक्यो भन्नु सरासर गलत हो।

अंग्रेजका ती सेनाहरू नेपाल कब्जा गर्ने मनसाय लिएर आएका थिएनन् । अंग्रेजहरूले तराईको बारा, पर्सालगायत जिल्ला कब्जा गरेर बसेको भनिए पनि त्यहाँ युद्ध नै भएको इतिहासमा कही पाइँदैन। कुमाउ गडवाल लगायतका क्षेत्रमा त्यहाँका खस आदिवासीले युद्ध लडेका हुन् । पृथ्वीनारायण शाहले अंग्रेज सेनासँग लडेको सिन्धुलीगढी एउटा घटना बाहेक अरु कुनै छैन।

रसुवागढीमा चिनियाँ (भोट) सेनाहरूसँग लडाइँ भएको हो। भनेपछि, पृथ्वीनारायण शाहको मूल लडाइँ कहाँ कोसँग भयो भन्दा, त्यतिबेलाका बाइसे/चौबिसे राज्यका हाम्रा आदिवासी राजाहरूसँग नै भएको देखिन्छ । पश्चिम बझाङ बाजुराका भोटेहरूसँग उसले लडाइँ भएको देखिन्छ। बझाङ बाजुराका भोटेहरूसँग किन लडाइँ लडे भन्दा नुवाकोट, बझाङ, बाजुरा, भोट र भारतबीच व्यापारमा महत्त्वपूर्ण नाता थियो।

पृथ्वीनारायण शाहले त्यस राज्य जितेमा इटालीका केही व्यापारीहरू र भोटका ठूला व्यापारीहरूको केन्द्र काठमाडौंमा थियो त्यसमाथि अधिकार जमाउन पाउने र काठमाडौंका आदिवासी नेवारहरूलाई कमजोर बनाउन सकिन्छ भन्ने स्वार्थका कारण आक्रमण गरे।

घटनाक्रमले पृथ्वीनारायण शाहले भारतबाट हातहतियार ल्याएर यहाँका आदिवासी राज्यमाथि आक्रमण गरेको देखिन्छ। ती हतियार उनले अंग्रेजसँग नै किनेका हुन्। अंग्रेजले आफैलाई आक्रमण गर्ने हतियार किन दिन्थे पृथ्वीनारायण शाहलाईरु त्यसैले यो दाबी पनि सत्य होइन।

पृथ्वीनारायणको खास स्वार्थ

पृथ्वीनारायण शाहले किन यहाँका आदिवासी राज्यहरूमाथि आक्रमण गरे ? भन्ने प्रश्नको उत्तर दिनका निमित्त केही घटनाक्रमको अध्ययन गर्न जरुरी छ । उनले मूलतः काशी गएर त्यहाँ गोरखा राज्यलाई विस्तार गरेर हिन्दू राज्य बनाउँछु भनेर त्यहाँ ब्राम्हणहरूसँग अकुत पैसा, हातहतियार र गोलीगठ्ठा लिएर यता फर्केर युद्धको तयारी गरेका हुन्।

उनले त्यही हातहतियार र गोलीगठ्ठाको प्रयोग तथा आफ्ना सैनिकलाई तालिम दिएर यहाँका आदिवासी तामाङ, थारु, भोटे, नेवार, किरातलगायतको निर्मम हत्या गरेर राज्य हत्याए।

पृथ्वीनारायणका युद्ध अपराध

नुवाकोट आक्रमणपछि उसको गिद्धेनजर काठमाडौंमा पर्‍यो। तत्कालीन कीर्तिपुर, भक्तपुर र कान्तिपुर (तथा ललितपुर) माथि यसले आक्रमण गरे। त्यो समयमा उसले त्यसरी आक्रमण गर्दा युद्ध नियमको पालना गरेको भए, त्यसलाई स्वाभाविक मान्न सकिन्थ्यो। तर, उसले त्यसो गरेको पाइँदैन।

यसले युद्धको नियमानुसार कीर्तिपुरमा आक्रमण गर्दा उसको सेना प्रमुख कालु पाण्डे मारिए। त्यस युद्धमा उसका ५० हजार सैनिक मारिए, त्यसपछि उसले आफ्नो भाइलाई युद्ध मैदानमा पठाए, उसको पनि आँखा नै फुटाइदिए, उनी पटक-पटक विफल भए।

त्यसपछि उसले काठमाडौं उपत्यका भित्रिने सम्पूर्ण नाका बन्द गरिदिए । उनका सेनाले काठमाडौंका नेवारहरू नुन र खानेकुरा बोकेर हिँडेको देखेमा गोली हानेर मार्ने आदेश दिएर आफ्नो क्रुर रूप प्रमाणित गरेका छन् । पृथ्वीनारायण शाहले षडयन्त्रपूर्वक लगाएको नाकाबन्दीका कारण हजारौं नेवाःहरू भोकले मरे ।

अन्त्यमा यसले कीर्तिपुर प्रवेश गर्ने नाकामा बस्ने एउटी युवतीसँग मित साइनो लगाएर उसैको माध्यमबाट छलकपटपूर्ण तरीकाले उसका सेनालाई कीर्तिपुर प्रवेश गराउन सफल भए र, उक्त राज्यलाई आफ्नो अधीनमा लिए।

उसले जब कीर्तिपुरमाथि कब्जा जमाए, त्यसपछि पहिले युद्धमा हारेको प्रतिशोध साँध्न उनले त्यहाँका जनताको नाक कान काटेको प्रसङ्ग इतिहासकार बाबुराम आचार्यले नै उल्लेख गरेका छन्। उनका अनुसार पृथ्वीनारायण शाहले त्यस समयमा कीर्तिपुरका जनताको ९ धार्नी नाक कान काटेका थिए।

एक जना मान्छेको कान र नाकको वजन कति हुन्छ ? ९ धार्नी नाक कान पुर्‍याउन कति मान्छे मारिए ? कति निर्दोषको हत्या गरियो ?त्यसका आधारमा पृथ्वीनारायण शाह कति क्रुर र हिंस्रक थिए भन्ने अनुमान लगाउन सकिन्छ।

अहिलेको ललितपुर र भक्तपुरका मल्ला राजाहरूले पनि जात्रा मनाइरहेका बेला आक्रमण गरे। त्यो पनि अमानवीय र युद्घको नियमविपरीत नै थियो। दुस्मनले कुनै जात्रा, पर्व, उत्सव वा शोक मनाइरहेका बेला आक्रमण गर्नु युद्धको नियम विपरीत कार्य नै हो।

इतिहासका घटनाले पृथ्वीनारायण शाहले तामाङमाथि आक्रमण गर्दा बजाङ, बाजुराका भोटे मार्दा, बाँके बर्दियाका मुस्लिम मार्दा वा पूर्वका किराँत, लिम्बूवान मार्दा समेत षडयन्त्रपूर्वक र छलकपटपूर्ण तरीकाले मारेको पुष्टि गरेको छ।

पूर्वका लिम्बुवान सेना काङ्सोरेसँग लडाइँ गर्दा पटक-पटक उसको सेना पराजित भएपछि अन्त्यमा किपट नखोस्ने सम्झौता गरेको थियो।

उनले बौद्ध धर्मग्रन्थहरू जलाएको, पृथ्वीनारायण शाहको राज्य स्वीकार गरिसकेका मल्ला राजालाई कुपन्डोलको बाग्मती पुलमा गोली हानेर हत्या गरेको, इतिहासमा नलेखिएका थुप्रै घटना पनि छन्।

उनले हनुमानढोकामा रहेको मन्दिरमा काठमाडौंका नेवारलाई भोज खुवाउने भनेर भेला पारेर टन्न जाँड रक्सी खुवाएर मातेपछि त्यही मन्दिरमा मुनिबाट पराल लगाएर आगो लगाएको घटना, तामाङ राजा लामा रिन्जेनलाई मित लगाउनका लागि सुनकोशी किनारमा बोलाएर निशस्त्र रहेको बेला जाँडरक्सी खुवाएर मातेपछि एकदिन पहिले बालुवामुनि लुकाएर राखेको हतियार निकालेर कत्लेआम हत्या गरेको घटना, यस्ता थुप्रै उनले गरेको जघन्य अपराधका घटनाको फेहरिस्त छ।

अहिले हामीले १० वर्षे जनयुद्धकालमा १७ हजार मानिस मारिए भनेको सुन्दा हाम्रो आङ सिरिङ्ग हुन्छ। इतिहासमा नलेखिएका कारण यो कुरा बाहिर आएको छैन। तर, हामी अनुमान लगाउन सक्छौ की पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गर्ने क्रममा कमसेकम ५/६ लाख मानिस मारे।

त्यसको सङ्केत अहिलेको नेपाली सेनाको म्युजियममा राखिएको विभिन्न चित्र र दस्तावेजबाट भन्न सकिन्छ। ती दस्तावेजमा यहाँका आदिवासी तामाङ, भोटे, नेवार, थारु, किरात, लिम्बू, मगरलगायतलाई मारिएको प्रस्टै उल्लेख छ। एउटा मानिसको शक्ति आर्जन गर्ने मोहले त्यति धेरै मान्छेको ज्यान गएको कुरामा किन बहस नगर्ने ?

पृथ्वीनारायण शाहको तस्बिरमा थुक्ने सन्दर्भ

पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाइरहँदा हामीले विगत सातवर्षदेखि हनुमानढोकाको दरबार स्क्वायरदेखि उनको कालो कर्तुत तथा जघन्य अपराधको भण्डाफोर गर्दै आएका छौं।

अर्को एउटा तथ्य म यहाँ उल्लेख गरौं, पृथ्वीनारायण शाहलाई थुक्ने हामी पहिलो होइनौं। कीर्तिपुरका बासिन्दाले शाह वंशीय राजाले उसका पुर्खामाथि गरेको अन्याय, अत्याचारको विरोधमा धेरैपहिलेदेखि थुक्दै आएका छन्। उनीहरुले कीर्तिपुरमा रहेको एउटा ढुंगालाई शाह वंशको प्रतिक मानेर उकालो जाँदा पनि र ओरालो आउँदा पनि त्यस ढुंगालाई थुक्ने गर्दछन्।

त्यतिमात्र होइन उनीहरूले त्यस ढुंगामाथि उभिएर सेतोदरबारतर्फ फर्केर तीनपटक थुकेर आफूभित्रको आक्रोश पोख्ने क्रम लामो समयदेखि हालसम्म कायम छ।

त्यसकारण, यी सबै तथ्यले पृथ्वीनारायण शाह एक युद्ध अपराधी, क्रुर शासक, हिंस्रक तथा षडयन्त्रकारी र युद्ध पिपासु भएको कुरा प्रमाणित हुन्छ। अतः त्यस्ता युद्ध अपराधीलाई राष्ट्रिय विभूतिको सम्मान सुहाउने कुरा होइन, उसलाई दिइएको त्यो सम्मान खोसिनुपर्छ र उनलाई युद्ध अपराधी घोषणा गर्नुपर्छ।

पृथ्वीनारायण शाहका ‘नव अवतार’ ?

यसो भनिरहँदा अर्को अचम्म लाग्ने कुरा उल्लेख गर्न सान्दर्भिक छ, हिजो जनयुद्धको बेला राजाका शालिक तोड्ने माओवादीहरू आज सिंहदरबार प्रवेश गरेपछि राजतन्त्र व्युताउँने र नेपाललाई हिन्दूराज्य कायम गराउने अभियानमा छन्। सबै पहाडे ब्राम्हण चाहे प्रचण्ड, केपी ओली, माधव नेपाल वा शेरबहादुर सबै सत्तामा पुगेपछि जति क्रान्तिकारी भएपनि शासन सत्ता टिकाइराख्ने खेलमा लाग्दा रहेछन्।

मूलतः उनीहरु पहाडे ब्राम्हणले सत्ता टिकाइराख्नका लागि नेपालमा राजतन्त्र हुनुपर्ने र हिन्दूराज्य हुनुपर्ने सोच्दा रहेछन्। यसको ज्वलन्त उदाहरणका रूपमा केशरजंग रायमाझीलाई लिन सकिन्छ। आफूलाई कम्युनिस्ट भन्ने उनी राजा मान्न तयार भए । आर के मैनाली, सीपी मैनालीहरू राजा मान्ने भए ।

पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता मोहनचन्द्र अधिकारी विश्व हिन्दु महासङ्घको सदस्यता लिएर नेपाललाई हिन्दू राज्य बनाउने अभियानमा छन्। गणतन्त्र नेपालका प्रथम महिला राष्ट्रपति विद्या भण्डारी पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गर्न जान्छन्। निरङ्कुश शासक ज्ञानेन्द्र शाहलाई छोरीको विहेमा निम्तो दिन्छन् र गेटमा उभिएर श्रद्धापूर्वक पुष्पगुच्छा अर्पण गर्छन्।

कीर्तिपुरबासीले पृथ्वीनारायण शाहको सेना प्रमुख कालु पाण्डेको शीर चन्द्रागिरीमा गाडेका थिए किनभने गोरखाबाट देखिने चन्द्रागिरीमा आफ्ना सेनाप्रमुखको टाउको गाडेको स्थान हेरेर सधै गोरखालीलाई पीडा होस् । तर आज त्यही ठाउँमा पृथ्वीनारायण शाहको शालिक बनाइएको छ । त्यो कीर्तिपुरबासीको भावनासँग खेलबाड गरिएको हो ।

गगन थापा, कृष्ण सिटौलाजस्ता कांग्रेसमा आफूलाई क्रान्तिकारी सम्झने नेताहरूपनि राजतन्त्रको वकालत गरिरहेका छन् । यसले के पुष्टि गर्छ भने आन्दोलनका बेला आदिवासीका मुद्दा उठाउने तर सिंहदरबार पसेपछि ‘खोलो तर्‍यो, लौरो बिर्सियो’ भनेजस्तै सत्ता टिकाउने खेलमा लागिरहेका छन्।

नेपालमा हिजो पञ्चायतविरुद्ध लड्ने बेला लोकतन्त्रको माला जप्ने कांग्रेस होस् वा माक्र्सवादी-लेनिनवादीको माला जप्‍ने कम्युनिस्ट भनौ वा पछिल्लो समय सङ्घीयता र गणतन्त्रको नाममा जनयुद्ध लड्ने माओवादीहरू, उनीहरू सबैको चिन्तन एउटै हो। उनीहरूमा नश्लीय चिन्तन अहिलेसम्म कायम छ । उनीहरू २१ औं शताब्दीका पृथ्वीनारायण शाहका ‘नवअवतार’ हुन् । नेपालन्युजबाट

लेखक शेर्पा समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य हुन्।