बाँकेमा भ्रमण वर्षको उद्घाटन, जङ्गल सफारि सुरू

प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाँकेबाट भ्रमण वर्ष २०२० को औपचारीक उद्घाटन गरेका छन । बाँके राष्ट्रिय निकुञ्जमा हात्ति सफारी तथा जंगल सफारीको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले विधिवत रुपमा भ्रमण वर्ष २०२० को समुद्घाटन गरेका हुन ।

भ्रमण बर्ष २०२० को पहिलो दिन बुधबार मुख्यमन्त्री पोखरेल दम्पत्तीले बाँके राष्ट्रिय निकुञ्जस्थित खड्कवारमा हात्तिसफारी गरेका छन ।
कार्यक्रममा बोल्दै मुख्य मन्त्री पोखरेलले भ्रमण वर्ष सफल पार्नका लागि आन्तरिक पर्यटनहरुको उपस्थितीलाई बढाउनु पर्नेमा जोड दिए । भ्रमण वर्ष नेपाल सरकारको मात्र लक्ष्य नभइ सबै नागरिक र सरोकारवाला निकायहरुको पनि महत्वपुर्ण काम भएको पोखरेलले बताए ।

बाँके राष्ट्रिय निकुञ्ज नेपालकै सबै भन्दा कान्छो निकुञ्ज हो । विशेषगरी बाघ संरक्षणकालागि २०६७ सालमा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज ५ सय ५० बर्ग कि.मी. मा फैलिएको छ । बाँकेका साथै दाङ र सल्यानसम्म सिमाना फैलीएको यस निकुञ्जलाई बिशेष गरि बाघ संरक्षणकालागि महत्वपुर्ण मानिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए । भट्टराईका अनुसार स्थापनाकालमा बाँके राष्ट्रिय निकुञ्जमा ५ वटा बाघ रहेकोमा हाल त्यसको सँख्या बढेर २१ पुगेको छ ।