फेरी बस पल्टीयो, १३ जनाको घटनास्थलमै मृत्यु

दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ फर्कर्दै गरेको तीर्थयात्री बस दुर्घटना भएको छ । बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सिन्धुपाल्चोकको मुरेस्थित पाँचकिलो नजिकै दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकको उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनाका १८ जना घाइतेलाई अस्पताल लगिएको छ । प्रहरीकाअनुसार मृतकको संख्या बढ्ने आशंका गरिएको छ ।

कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस भक्तपुर फर्किंदै गर्दा आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो । सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन ।

सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो । गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो । जसमा दर्जन बढीको ज्यान गएको थियो ।