नेपालमै बन्दैछ, गिनिजबुकधारीको पहिलो संग्राहलय

गिनिजबुकमा नाम लेखाउने कीर्तिमानीको संग्रहालय आजसम्म बनेको छैन । संसारमै नभएको संग्रहालय नेपालमा बनाउन उल्टो मोटरसाइकलयात्री चित्र कार्कीले प्रयास थालेका छन् । उल्टो मोटरसाइकल चलाएर मेची-महाकाली गरी गिनिजबुकमा नाम लेखाएका कार्कीले संसारकै पहिलो कीर्तिमानी संग्रहालय बनाउन लागिपरेका छन् ।

‘गिनिजबुकमा नाम लेखाउनेले पाएका प्रमाणपत्र संग्रहालयमा राखिन्छन् । जीवितमात्रै नभएर, उपलब्ध भएसम्म दिवंगत कीर्तिमानीको प्रमाणपत्रसमेत राखिन्छन्,’ उनले जानकारी गराए, ‘जीवित र दिवंगतकाको आफन्तसँग सम्पर्क गरेर ती सामग्री संकलन गरिनेछ । संग्रहालयमा राख्ने भनेपछि अवश्य दिनुहोला । कीर्तिमानीको प्रमाणपत्र संग्रहालयमा राखिनु उहाँहरूका आफन्तका लागि पनि गौरवको विषय हो ।’

संग्रहालयका लागि धेरैभन्दा बढी जग्गा चाहिन्छ । कम्तीमा पनि पाँच रोपनी त चाहियो । आकर्षक संग्रहायलसहित सुन्दर बगैंचा, पार्किङस्थल, चमेनागृह, अध्ययन कक्षसम्म निर्माणको परिकल्पना गरिएको छ । ‘त्यतिमात्रै होइन, धेरै विधामा कीर्तिमानी राखेकाको मूर्ति बनाउनु त छँदै छ,’ उनले थपे, ‘मूर्ति नै मूर्तिको बगैंचासमेत बनाउनुपर्छ । संग्रहालय प्रवेशद्वार त्यत्तिकै आकर्षक हुनेछन् । नेपालकै ठूलो खुकुरी आकृतिको प्रवेशद्वार बनाइनेछ । प्रवेशद्वार पुग्नेले एकपटक फोटोसम्म त खिचोस् ।’

संग्रहालय बनाउन यत्ति नै लगानी चाहिएला भनेर उनले हिसाब–किताब गरेका छैनन् । तर, संग्रहालय देखाएरै लगानी फिर्ता गर्न सकिनेमा उनी ढुक्क छन् । संग्रहालयमा दुई कक्ष हुनेछन् । पहिलो, राष्ट्रिय कक्ष । दोस्रो, अन्तर्राष्ट्रिय कक्ष । नेपालबाट गिनिजबुकमा नाम लेखाउने सम्बन्धित कीर्तिमानीको प्रमाणपत्रलगायत अन्य सामग्री नेपाल कक्षमा राखिनेछन् । नेपालबाहिरका कीर्तिमानीको अन्तर्राष्ट्रिय कक्षमा राखिनेछन । नागरीकखबरबाट