अमेरिकामा राप्रपा अध्यक्ष थापा, विभिन्न कार्यक्रममा सहभागी

बिहिबार देखि वाशिंगटन डिसीमा अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । क्यानाडाका पुर्व प्रधानमन्त्री तथा आईडियु (IDU) का अध्यक्ष स्टेफेन हार्परले सम्मेलनको उदघाटन गरेका छन । सम्मेलनमा विश्वका ५५ देशका विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको छ।

सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापा नेतृत्वको प्रतिनिधिमण्डलले भाग लिईरहेको छ । नेपाली प्रतिनिधि मण्डलमा राप्रपा का सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य लोकनाथ तिवारी सहभागी छन् ।

सम्मेलनमा प्रजातन्त्र, वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समिक्षा गरिनुका साथै परम्परागत मुल्य मान्यता र संस्कृतिको सम्बर्द्धनका समेत बिचार विमर्श हुनेछ। वाशिंगटन डिसीमा आजै आईडियु (IDU) का अध्यक्ष तथा क्यानडाका पुर्वप्रम स्टेफेन हार्पर र राप्रपा अध्यक्ष तथा पुर्व उपप्रम कमल थापाबीच शिष्टाचार भेट भएको छ । भेटका अवसरमा विश्वराजनीतिमा देखापरेका चुनौती र प्रजातन्त्रलाई सर्वसत्तावादी अतिक्रमणबाट जोगाउन अपनाउनुपर्ने साझेदारीका विषयमा विचारको आदानप्रदान भएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। यसै बीच अध्यक्ष कमल थापा र एसिया प्यासिफिक डेमोक्रेटिक युनियनका महासचिव ब्रुस एडवार्ड्स बिच पनि आजै शिष्टाचार भेट सम्पन्न भएको बर्तौलाले बताए । भेटघाटमा पार्टीका सहायक महामन्त्री प्रेम कुमार श्रेष्ठ र आमन्त्रित केन्द्रिय सदस्य लोकनाथ तिवारी सहभागी थिए ।