पूर्वीय दर्शनमा भौतिकवादको अस्तित्व

मान्छे बढो बिचित्रको प्राणी हुँदो रहेछ । जे नगर्नु भन्यो त्यही गर्नुपर्ने, जे नमान्नु भन्यो त्यसैलाई मान्ने । गौतम बुद्धले मूर्ति पूजाको बिरोध गरे । संसारमा उनकै धेरै र ठूला मुर्ति पाइन्छन् । ज्ञान शास्त्रबाट होइन, ज्ञान आफै भित्रबाट पाइन्छ भने तर आज सबै बौद्धमार्गी उनका विचारलाई सुत्रका रुपमा बुझ्दछन् । बुद्धले जीवन जिउने कला सिकाए । तर, मानिस त्यसलाई धर्मको रुपमा बुझ्दछ । बुद्ध दर्शन कुनै धर्म होइन तर पनि यसलाई धर्म बनाइयो । बुद्धले जीवनको सम्बन्द्धमा गरेको व्याख्या आज पनि त्यतिकै सान्दर्भिक छ ।

बुद्ध अघिका चार्वाक (लोकायत), महावीरलाई पनि मानिसले धार्मिक गुरुको रुपमा बुझ्दै आएका छन् । चार्वाक, महावीर, बुद्ध, पतञ्जली लगायतका भारत बर्षमा जन्मिएका पूर्वीय दार्शनिक भौतिकवादी थिए । उनीहरु आज कुनै एक सम्प्रदायका मात्र बनेका छन् । त्यसमा पनि उनीहरुको भौतिकवादी दृष्टिकोणका आधारमा होइन धार्मिक पुरुषका रुपमा व्याख्या गरिएको छ । भारतमा हुर्किएका यी दार्शनिक दृष्टिकोण संसारमा पहिलो भौतिकवादी दृष्टिकोण भएपनि बुद्ध बाहेक अरुको प्रभाव कमजोर छ । यसरी भौतिकवादको उत्पत्ति र बिकासको सुरुवात पूर्वीय दर्शनमा भएको भएपनि हामिहरुमा भौतिकवादी दृष्टिकोणको केन्द्र युरोपलाई मात्र स्वीकार्ने अज्ञानता कायम नै रहेको छ ।

बुद्धले जीवनका सम्बन्धमा जसरी व्याख्या गरेका छन् । त्यसैगरी मार्क्सले जगतको वैज्ञानिक व्याख्या गरेका छन् । बुद्ध र मार्क्स दुबै भौतिकवादी दृष्टिको भएका दार्शनिक हुन् । बुद्धले जीवन बदलेर जगत बदल्ने बिचार प्रकट गरेका छन् । माक्र्सले समाज रुपान्तरणको कुरा गरेका छन् । बुद्धले साढे २५ सय बर्षअघि भने, जेमा गति छ त्यसको अस्तित्व छ, जेमा गति छैन त्यसको अस्तित्व छैन । मार्क्सले पदार्थ गतिशील छ मात्र भनेनन् गतिको नियम बाहेक जगतका सबै चिज गतिशील छन् भने । मार्क्सले समाज विकासको अन्तिम चरण वैज्ञानिक साम्यवाद भनेका छन् । जहाँ मानिसको चेतनाको स्तर अति उनन्त हुन्छ । मार्क्सले भनेको वैज्ञानिक साम्यवाद बुद्धको निर्वाण प्राप्त व्यक्तिहरुको समाजमा धेरै हदसम्म समानता पाउन सकिन्छ । तर बुद्ध र मार्क्सवीचको भेद भनेको अन्तिम लक्ष्यमा पुग्ने बाटो हो । बुद्धले शान्तिपूर्ण रुपमा मानिसलाई रुपान्तरण गर्नु पर्नेमा जोड दिएका छन् भने मार्क्सले क्रान्तिका माध्यमबाट अन्तिम लक्ष्यमा पुग्न सकिने बताएका छन् ।

भौतिकवादी दृष्टिकोण राख्नेहरुबाट पनि बुद्ध दर्शनलाई जसरी धर्मको रुपमा बुझिँदैछ । मार्क्सवादलाई पनि त्यही रुपमा बुझिँदै गएको छ । कतिपय कम्युनिष्ट पार्टी वा तिनका नेतालाई गतिको मार्क्सवादी नियम स्वीकार्न चाहँदैनन् । उनीहरु मार्क्सवादलाई सुत्रको रुपमा व्याख्या गर्दै आएका छन् । भौतिकवादी बन्ने नाममा पश्चिमा जगतमा विकास भएका विज्ञान, बिचार, सिद्धान्त, संस्कृति सबैलाई नक्कल गर्दै आएका छन् । युरोप अमेरिकामा विकास भएका सबै कुरा सत्य हुन्, पूर्वमा बिकास भएका सबै विचार, सिद्धान्त गलत हुन् भन्ने चिन्तनको बिकास गराइएको छ । विज्ञानले सत्य भनेको तथ्य सधैभरि सत्य नहुन सक्दछ । मार्क्सवादी नियमले सिद्धान्त पनि गतिशील हुन्छ । तर हामी कहाँ भौतिकवादी दृष्टिकोण भएको कम्युनिष्ट होइन, कम्युनिष्ट पार्टीमा खरो ढंगले लागे उ कम्युनिस्ट भयो । विचार सिद्धान्त नबुझे पनि हुन्छ । आज मार्क्सवादी वा कम्युनिष्ट हुनलाई मार्क्सवाद नपढे वा नबुझे पनि हुने भएको छ । जसरी हिन्दू हुनलाई हिन्दू धर्मका आचरण नभए पनि हुन्छ । हिन्दू हुनलाई वेद, मुसलमान हुनलाई कुरान, क्रिश्चियन हुनलाई वाईवल नपढे पनि हिन्दू, मुसलमान, क्रिश्चियन हुन सकिन्छ । त्यसैगरी कम्युनिष्ट हुनलाई मार्क्सको पुँजी पढिरहनु वा बुझिरहनु पर्दैन ।

भौतिकवादको नाममा मुर्ति पूजाको तीब्र आलोचना गरिन्छ । मार्क्सले धर्मलाई अफिमको नशा हो भने । संसारभरका कम्युनिष्टले यसैलाई दोहोर्याउँदै धर्म र मुर्ति पूजाको बिरोध गरेका छन् । मार्क्सले धर्मलाई अफिमको नशा भनेर गलत गरेका छैनन् । तर त्यसको व्याख्या गर्ने कम्युनिष्टले मार्क्सवादलाई धर्मका सुत्रझैं पकडेका छन् । हाम्रा कम्युनिष्ट नेताले शिव, कृष्ण, बिष्णु, ईन्द्रका मुर्ति पूजा गर्न छाडे । तर माक्र्स, लेनिन, स्टालिन, माओ लगायतका मुर्तिको पूजा गरिन्छ । यो एउटालाई छाड्ने अर्कोलाई पकड्ने काम भयो । मन परेकालाई पकड्ने मन नपरेकालाई छाड्ने वा बिरोध गर्ने शैली के मार्क्सवाद संगत होला ? हामी कहाँ आधुनिक बन्ने नाममा पसिनाले निथ्रुक्कै भिझ्ने गर्मीमा पनि घाटीमा टाई लगाएर आधुनिक र विद्धान बनेको भ्रम पाल्ने पनि धेरै छन् । युरोपको जाडो ठाउँमा चिसोबाट जोगिन घाटिमा बाँधिने चिज आजको टाई हो । जाडो ठाउँ वा जाडो समयमा टाई लगाउनु सान्दर्भिक होला । आधुनिक बन्ने नाममा चर्को गर्मीमा टाई लगाएर चन्दनको बिरोध गर्नुको कुनै तुक छैन ।

चन्दन लगाउने प्रचलन दक्षिण भारतमा विकास भएको मानिन्छ । गर्मी समयमा मष्तिस्कलाई ठण्डा र तेजिलो बनाउन चन्दनको प्रयोग गर्ने परम्परा विकास भएको हो । चन्दन वासनेदार पनि भएकाले यसको प्रयोग वैज्ञानिक मान्न सकिन्छ । तर आज आफूलाई धार्मिक देखाउन चन्दन लगाउने गरिन्छ । अर्कातर्फ चन्दन लगाउने रुढिवादी विचारको ठहरिने, ऊ चन्दने हुने अवस्था छ । दक्षिण भारतमा अहिले पनि निधार भरी चन्दन लगाउने परम्परा छ । तर धर्मका नाममा ठाडा, तेर्सा धर्के चन्दनको टिका लगाउने चलन बढेको छ । निधारमा लगाएको चन्दनको टिकाका आधारमा कुन धर्म सम्प्रदायको हो भन्ने छुट्याउन सकिने अवस्था छ । चन्दन लगाएर जसरी धार्मिक व्यक्ति बन्न सकिँदैन, त्यसैगरी टाई लगाएर पनि आधुनिक बन्न सकिदैन । त्यस्तै मार्क्सवादी हुन कम्युनिष्ट पार्टीमा लागेर मात्र हुँदैन, मार्क्सवाद पढ्न, बुझ्न र त्यसलाई व्यबहारमा लागु गर्न जरुरी हुन्छ । सत्य कुराको बोध हुन नसक्दा अन्धविश्वास उत्पन्न हुने हो । टाई लगाएर आधुनिक वा शिक्षित बने भनि ठान्नु र चन्दन लगाएर धार्मिक हुन्छु भन्नुमा कुनै भेद छैन । टाई लगाउने आधुनिक अन्धबिश्वासी हुन भने चन्दन लगाउने पुराना अन्धबिश्वासी हुन् । भौतिकवादी दृष्टिकोण नराख्नेले टाई र चन्दनको अर्थ नबुझ्नु स्वभाविक हुन सक्दछ ।

मार्क्सवादी दृष्टिकोणका आधारमा पूर्वमा विकास भएको भौतिकवादी दृष्टिकोणलाई स्वीकार्न नेपाल र भारतका कम्युनिष्ट पार्टी र तिनका कार्यकर्तालाई निकै कठिन हुन्छ । नेपालमा त सबै पश्चिमा मुलुकमा विकास भएको विचार, सिद्धान्तदेखि भौतिक बस्तु राम्रो भन्ने स्कुलिङ हुदै आएको छ । कम्युनिष्ट स्कुलिङ यसमा सबैभन्दा अघि छ । अझ क्रान्तिकारीले त पुरानो सबैलाई अस्वीकार गर्नुपर्ने अर्थमा बुझिदै आएको छ । नेपालका कम्युनिष्ट पार्टी अलग-अलग मान्यतामा स्थापित र सञ्चालित भए पनि सबैले भौतिकवादी दृष्टिकोण अपनाउने बताउँछन् । मार्क्सवादलाई बुझ्ने कुरामा आ-आफ्नै तरिका भएपनि द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणलाई सिद्धान्तत स्वीकार्ने कुरामा कसैको बिमति छैन । भौतिकवाद भनेको जगतलाई ठीक-ठीक ढंगले बुझ्नु र बदल्नु हो । जगतलाई ठीक ढंगले बुझ्ने, व्याख्या गर्ने र बदल्न नसक्ने मार्क्सवादी हुन सक्दैन । नेपाल र भारतका कम्युनिष्ट पार्टीले पूर्वमा विकास भएको भौतिकवाद, त्यसले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक रुपमा पर्ने प्रभावका बारेमा विश्लेषण गर्नुपर्दछ । पश्चिमा समाज भन्दा पूर्वीय समाजको मानवीय विकास प्रक्रिया केही अन्तर छ । यसलाई ठीक ढंगले बुझ्न हाम्रो समाजका बिभिन्न आयामलाई बुझ्नुपर्दछ । यो नै सच्चा भौतिकवादी दृष्टिकोण हुन सक्दछ । अन्यथा आज जसरी बौद्ध दर्शनलाई धर्म रुपमा मात्र बुझिदै छ मार्क्सवादलाई पनि धर्मको रुपमा नबुझएला भन्न सकिँदैन ।