ग्र्यामी अवार्डको मनोनयनमा नेपाली कलाकार

सन् १९९९ देखि सन् २००५ सम्म काठमाण्डूका पशुपतिनाथ मन्दिर र बौद्धमा रातको एकान्तमा बाँसुरी बजाउँदा मनोज सिंहले भविष्यबारे सोचेका थिएनन्।

उनका लागि सङ्गीत साधना थियो भने ‘बाँसको डुङ्ग्री’ आध्यात्मिक चिन्तनलाई मूर्त रूप दिने साधन।

उनी केही वर्षदेखि अमेरिकाको सान फ्रान्सिस्कोमा बस्दै आएका छन्। आफू सम्मिलित समूह सङ्गीतमा विश्वकै सर्वश्रेष्ठ पुरस्कार मानिने ग्र्यामी अवार्डको मनोनयनमा परेपछि यी ४१ वर्षीय बाँसुरीवादकको चर्चा चुलिएको छ।

‘देवा’ नामक साङ्गीतिक एल्बममा सिंहसँगै जर्मनीकी देवा प्रेमाल र इङ्ल्यान्डका मिटेनले काम गरेका छन्। विगत १५ वर्षदेखि यी तीन जनाले साङ्गीतिक समूहकै रूपमा काम गर्दै आएका छन्।

यसबाहेक ‘बेस्ट न्यू एज एल्बम’ विधामा मनोनयनमा परेको उक्त एल्बममा भारतका प्रसिद्ध शास्त्रीय सङ्गीतकार रविशङ्करकी छोरी अनुष्काशङ्करले पनि सितारवादन गरेकी छन्।

सङ्गीतमा पहिलो पाइला

आठ वर्षको हुँदा बाँसुरीतर्फ आकर्षित भएका सिंहको रुचि शास्त्रीय सङ्गीतमा झन् बढ्दै गयो।

पशुपतिक्षेत्रस्थित किराँतेश्वर सङ्गीत आश्रम हुँदै रेडियो नेपाल र नेपाल टेलिभिजनको कार्यक्रममा सहभागी हुन पाउँदा उनलाई थप ऊर्जा थपिए जस्तो अनुभूति हुन्थ्यो।

आश्रमलाई प्रतिनिधित्व गर्दै पशुपतिक्षेत्रमा हुने भजनकीर्तन कार्यक्रममा उनी निरन्तर सहभागी हुन्थे।

सङ्गीतप्रतिको रुचिकै कारण उनी प्रस्तर र सुकर्मजस्ता समूहसँग आबद्ध रहे। एक पटक उनी फोक-रक साङ्गीतिक समूह १९७४ एडीसँग पनि आबद्ध भए।

सम्झी बस्छु….., बाँच अनि बाच्न देऊ….., गुराँसै फुल्यो…. र पिँजडाको सुगा जस्ता कैयौँ चर्चित गीतमा उनले बाँसुरी बजाएका छन्।

सिंह १९७४ एडीको सदस्यका रूपमा आबद्ध हुँदा उक्त साङ्गीतिक समूह नेपालमा स्थापित भइसकेको थियो। अनि ब्यान्डसँगै उनको चर्चा पनि चुलिँदै थियो।

साङ्गीतिक रूपमा भिन्न प्रकारका समूहसँग आबद्ध हुँदा आफूले भिन्न काम गर्ने अवसर पाएको उनी बताउँछन्।

‘मलाई ग्र्यामीजस्तो प्रसिद्ध अवार्डमा मनोनयनमा पर्नुमा आध्यात्मिक विश्वासको समेत भूमिका छ जस्तो लाग्छ’ सान फ्रान्सिस्कोमा रहेका सिंहले बीबीसीसँगको कुराकानीमा भनेका छन ।

‘अहिले पनि नेपाल आउँदा पहिले म पशुपति जान्छु, त्यसपछि किराँतेश्वर अनि बौद्धनाथ गएर मात्रै घर जान्छु।’

‘ती स्थानमा बाँसुरी बजाउँदा अहिले पनि अर्कै आनन्द अनुभूति हुन्छ। ममाथि ईश्वरको कृपा भए जस्तो लाग्छ र ग्र्यामीको मनोनयनमा पनि यसको भूमिका छ भन्ने लाग्छ।’ वीवीसीबाट साभार