स्मृतिमा छोरी सुनिता सापकोटा (क. नमुना)

आफु बसिरहेको जंगल छोडेर सहज जिविकाको निमित्त अर्को जंगल खोज्दै हिड्ने गरेका हाम्रा आदिम मानवपुर्वजहरु जस्तै राष्ट्रीय सामन्ति अर्थ ब्यवस्थाको उपहार भनौं बसाईसराईले छाडेको थिएन । हाम्रो परिवार बर्दिया जमुनीबाट मैनापोखर शिफ्ट हुँदा सुनिताको उमेर भर्खर ४ बर्षको थियो। परिवारको तेश्रो सन्तानको रुपमा सानो उमेर स्वभावैले एक प्रकारको आन्तरिक संचार सहयोगिको जस्तो हुँदो रहेछ । शुरुमै विद्यालय भर्ना गरिसकिएकोले उसको काम भनेको बुवा, आमा, दाजु र दिदिले भनेको मान्नु, स्कुल जानु, आफु भन्दा सानो बहिनीसँग खेल्नु त छँदै थियो । जतिजति उमेर बढ्दै गयो समयक्रमसंगै जिम्मेवारी हेरफेर हुनेक्रम पनि शुरु हुँदै गयो । कहिले काँहि पसलमा बसेर आउने ग्राहकहरुलाई हामी (आमा, बुवा वा दिदि दाई जो सम्भव हुन्छ) संग जोडिदिनु पर्ने काम पनि थपिंदै गयो । सबैभन्दा कान्छो सदस्य भएकोले जति-जति ठुली हुँदै गयो त्यती-त्यती संचारशुत्रको जिम्मा बैनी गिता तिर सर्दै जानु स्वभाविक थियो । अब बा, आमा, दाई दिदिहरु सबैले अह्राएको काम गरिदिने, बैनी गिता तैयार भएपछि केही खुकुलो हुनु स्वभाविक थियो । घरको बनोट पेशागत आवश्यकतासँग पनि प्रत्यक्ष जोडिन मिल्ने गरी होमवर्क गर्न बस्दापनि ग्राहकसँग डिलिङ्ग हुनसक्ने खालको थियो । पसलमा अभिभावकहरुसँग हुने सबैखाले कुराकानी प्रष्ट सुनिन्थ्यो । राजनैतिक गफगाफ भएको बेला सबै छोराछोरी नजिकबाट सुन्ने, घुलमिल हुने वातावरण थियो । दाई-दिदि भन्दा ‘होमवर्क नजानेकाले सोध्न बसेको’ जस्तो निहुँ बनाउने र नजिक बसेर अभिरुचि पुर्वक राजनीतिक गफगाफ सुन्ने बानीको बिकास हुँदै गईरहेको थियो । क्रमशः कक्षाहरु उतिर्ण हुँदै जाँदा विद्यालयमा विद्यर्थी राजनीतिले आकर्षित गर्दै जाने र घरमा पनि एक प्रकारको वाम राजनीतिक पार्टीसँग जोडीएका ब्यक्तित्वहरुसँगको संचारशुत्रको काम जोडिनपुग्दा विद्यार्थि राजनीतिमा सकृय हुने अनुकुल तथा अनिवार्य स्थितिको विकास हुँदै थियो।

विद्यार्थी राजनीति प्रतिको आकर्षण

२०४६ फागुन ७ गते देखि बहुदलीय प्रजातन्त्र वहालीको माग राखेर नेपालमा हुन लागेको शान्तिपुर्ण संयुक्त जनआन्दोलनकै सेरोफेरोमा नेपाली कांग्रेसले मैनापोखरमा गरेको आमसभामा देखिएको विवादले विद्यार्थीहरुको दिमागमा एकखाले राजनीतिक एवं वैचारिक कौतुहल पैदा गरेकै थियो । फागुन ७ गते शुरु भएको संयुक्त जनआन्दोलनको राप काठमाण्डौबाट पश्चिमतिर सर्दै थियो । विद्यार्थीहरु लगायत सबै क्षेत्रका जनता आन्दोलित हुँदै थिए । पश्चिमबेल्ट जर्याक-जुरुक उठ्ने स्थितिको विकास हुँदै थियो । तर चैत्र २४ गते रातिदेखि लगाईएको कर्फ्यु आदेश जनताले अटेरी गरेपछि राजाबाट चैत्र २६ गते पञ्चायति संविधानबाट ‘निर्दलिय’ शब्द हटाउँदै वार्ताको आह्वान भयो । नेपाली काँग्रेस र वामोर्चाले राजासँग सम्झौता गरेर ४७ सौं दिनमा आन्दोलन टुङ्ग्याए ।

समाजवादी अग्रजहरुको “सबैभन्दा कम रुढीवादी, सिक्ने मामिलामा असाध्यै ईच्छुक तथा समाजका सबैभन्दा बढी सकृय एवं जिउँदो शक्ति भनेको युवाहरु हुन” भन्ने संश्लेषण जस्तै खासगरी वाममोर्चा र ‘संयुक्त राष्ट्रीय जनआन्दोलन’ ले अगाडी सारेका एजेण्डा र नाराहरु विचको अन्तरसंगै यसले प्रदान गरेको वैचारिक राजनीतिक दिशा बारे युवा विद्यार्थिहरुमा पनि के ? किन ? कसरी ? कसले ? कहीले र कहाँ ? जस्तो द्वन्द्वात्मक चासो (Debate) जगाएको थियो।

तिब्र जिज्ञाशाका बाबजुत देशमा फेरिएको राजनीतिक परिस्थितिले आकर्षित गर्नु स्वभाविकै थियो । अनेरास्ववियु (बाह्रौं रा.स) विद्यालयस्तरका विद्यार्थि कमिटीका विद्यार्थी मैतसिंह तामाङ, बसन्त, सम्झना, ज्योति, दिपक लगायत एउटै कक्षा समुह (Batch) का अगुवाहरु तथा सहयोगिहरु SLC बोर्डपरिक्षा दिएर बाहिरीई सकेको हुनाले २०४८ सम्म विद्यालय भित्रको विद्यार्थी राजनीतिमा सकृयता बढेको थियो । त्यतिनै बेला याँजनवादी क्रान्ति र युवाहरुको भुमिका” शिर्षकमा तत्कालिन मशालका महामन्त्री क. प्रचण्डको बिशेष लेख प्रकाशित भयो । नयाँजनवादी क्रान्तिको आवश्यकता बारे बुझ्नको लागि तथा मानव समाजको विकासक्रमसंगै प्रयोग हुँदै आएका बिभिन्न सत्ताहरु १. आदिम साम्यवादि काल, २. दास युग, ३. सामन्ति सत्ता, ४. पुजिवादी सत्ता र साम्राज्यवादको विकास तथा ५. समाजबादी सत्ताको अभ्यास र अवसान आदि बारे रुचि बढाउँदै लग्न थाले ।

लेखले परिवर्तनप्रति रुचिराख्ने युवा विद्यार्थीहरुलाई निकै आकर्षित गर्यो । सुस्तसुस्त, श्रीमतिलाई महिला भनेर र छोराछोरीहरुलाई विद्यार्थी तथा युवा भनेर सडक आन्दोलन र कतिपय कोठे भेलाहरुमा स्थानीय कमिटिका नेताहरुले बोलाउन थाले । अनौठो र असजिलो त के भयो भने नेतृत्वमा आफै बसेर छोराछोरीहरुलाई आन्दोलनमा नपठाए घोर अवसरवादी भईने र पठायो भने ब्यापार व्यवसाय चौपट हुने जटिल अन्तर्विरोधको सामना गर्नुपर्ने हुन आयो । जे जसरी भएपनि पसल नधान्ने हो भने परिवार धान्ने अर्को उपाय पनि त थिएन । यस्तै अन्योल र अकर्मण्यताको बिचबाट हिडिंदै थियो । चुनाब आईनै हाल्यो । म आफु उता चुनाबमा सक्रीय हुनैपर्ने स्थितले अत्यन्त कमलो उमेरमा ब्यवसायमा सामान्य हात बँटाउँदै आएको छोरो दिपकमाथि झन ठुलो बोझ थपिन गयो ।

सुनिता आफुले पढेको विद्यालयमा अनेरास्ववियु (बाह्रौं रा.स) सम्पर्क कमिटीमा रहेर अगुवाईको जिम्मेवारी सम्हाल्दा सम्हाल्दै SLC बोर्ड परिक्षाको तयारीको क्रम पनि नजिकियो । परिवर्तित संदर्भमा संगठनको नामको अगाडी कोष्ठमा रहेको पदावलीले विचारको प्रतिनिधित्व नगरेको भन्दै २०५० पौषमा बसेको राष्ट्रीय भेलाले (बाह्रौं रा.स) को सट्टा संगठनको विचार झल्कने पदावली जोडेर अ.ने.रा.स्व.वि.यु (क्रान्तिकारी) नामाकरण गर्ने निर्णय गर्यो । जिल्ला संगठनमा जोडिएर क्रियाशील हुँदा-हुँदै २०५० बैशाखमा परिवार फेरी बाँकेको कोहलपुरमा बसाई सर्यो । बाँके आएपछि महेन्द्र बहुमुखि क्याम्पसमा भर्ना भएसँगै बाँके कार्यक्षेत्र हुन पुग्यो ।

म स्वयं संयुक्त जनमोर्चा नेपाल बाँकेको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्ने, सुनिता विद्यार्थी राजनीतिमा सकृय हुने भएपछि परिवारमा एक प्रकारको अघोषित कार्यविभाजन भयो । पारिवारिक उपार्जन (पसल) को जिम्मा छोरा दिपकलाई सर्न थालेपछि उत्पादन मुख्य र पढाई सहायक हुन पुग्दा दिपकको पढाईको क्रम पनि रोकिन पुग्यो । राजनैतिक परिवर्तन भनिए पनि राजतन्त्रात्मक बहुदलीय ब्यवस्थाले विद्यार्थीहरुको हकहित लगायत आम शोषित पिडितहरुको जिवनमा खासै सकारात्मक उपलब्धि प्राप्त नहुने निश्चित थियो । तसर्थ परिवर्तनको नाममा जनतामा पर्न गएको भ्रमलाई चिरेर भ्रममुक्त पार्नु त छँदै थियो । यसविच अनेरास्ववियु (क्रान्तिकारी) बाँके महंगि तथा जनजिविकाको सवाललाई लिएर आन्दोलित थियो । बाँकेमा जोडिएर अभियानमा क्रियाशिल हुँदै गर्दा महान जनयुद्धको थालनीको २०५२ फागुन १ आईपुग्यो । शुरुमा नपत्याएको देउवा सरकारले वर्गसंघर्षको तिब्र विकास हुँदै गरेको रोल्पा रुकुम तिर बढी ध्यान दिएकोले यता हामी अर्धभुमिगत जस्तै जुट्दै थियौं । यसैविच अनेरा स्ववियु (बाह्रौं रा.स) को २०५२ बैसाखमा सम्पन्न तेह्रौं राष्ट्रीय सम्मेलनले क. कृष्णध्वज खड्काको नेतृत्वमा २७ सदस्यीय केन्द्रीय समिति चयन गर्यो । जसअनुसार मध्यपश्चिमबाट लेखनाथ पौडेल, सुनिता सापकोटा, सत्यपहाडि र ग्यामप्रसाद चालिसे केन्द्रीय समितिमा चयन हुनुभयो । साथै लगत्तै बसेको केन्द्रीय समितिको बैठकले सुनिता सापकोटा कैलाली, लेखनाथ पौडेल कञ्चनपुर, ग्यामप्रसाद चालिसे बर्दिया र सत्यपहाडी डोल्पा-जाजरकोट हुनेगरी कार्यक्षेत्र (शायद क. लेखनाथ पौडेल र सुनिता विच प्रेम अंकुरित हुँदै गरेको रहेछ र प्रेमलाई पुर्णतामा पुर्याउने कार्यक्षेत्र पाहिक पनि पर्यो होला !) ठोस गर्यो।कार्यक्षेत्रमा पुगेको दुई महिना नपुदै २०५२ असारमा विवाहको प्रस्ताब आयो । यता छोरो दिपक र मन्जु बस्नेत विचपनि विवाहको तयारी भएकै थियो । पश्चिम क्षेत्रीय ब्युरो ईन्चार्ज क. दिवाकर (पोष्टबहादुर बोगटी) संग छलफल पश्चात लेखनाथ पौडेल र सुनिता विच तथा दिपक र मन्जु विच दुईजोडीको असार २८ गते जनवादी विवाह सम्पन्न गरीयो।

पार्टी जनयुद्धमा जाने भएपछि सुनिता र लेखनाथ दुबै जना कार्यक्षेत्रमा फर्केको लगत्तै विद्यार्थी संगठनमा नरहने गरी जिल्ला पार्टी कमिटीमा संगठित भएर काम गर्न लागेको रिपोर्ट आएको कुरा क. दिवाकरले सुनउनुभएको थियो । हामी आ-आफ्ना कार्यक्षेत्रमा जुटिरह्यौं । म शुरुदेखि नै पश्चिम क्षेत्रीय ब्युरो हुँदै पछि पश्चिम कमाण्डमा रुपान्तरित कार्यालयमा (ब्यवस्थापकीय प्रमुखको रुपमा) कार्यरत थिएँ। संकटकाल घोषणा भएलगत्तै २०५८ मंसिर ११ गते एक्कासि क. लेखनाथ पौडेल (जुवाईं) लगायत ११ जना विद्यार्थी नेताहरुलाई कैलालीमा शाहीसेनाले नियन्त्रणमा लिएर मारेको खबर आयो । त्यति वेला सुनिता आफ्नो छोरि (सुलेखा) भर्खर तिन बर्षकी शिशु हुनाले हेरचाहको शिलसिलामा कोहलपुर दिदि भिनाजु (ज्योती-सुशिल पराजुली) को घरमा बस्दै आएकी थिईन । अचानक आएको अपृय खबरले मर्माहत त पार्ने नै भयो । तथापि एउटा युद्धरत क्रान्तिकारी पार्टीको कार्यकर्ताको हैसियतले धैर्यतापुर्वक शोकलाई शक्तिमा रुपान्तरण गर्ने उच्च स्पिरिट साथ ‘बुवा म कार्यक्षेत्रमा फर्कन्छु’ सम्पर्क मिलाई दिनुपर्यो भन्दै सुनिता भेट्न आएपछि कैलालीसंग सम्पर्क जोडीयो । वच्चि (सुलेखा पौडेल) लाई दिदि ज्योति र भिनाजु सुशिल परजुलीकै काखमा छाडेर कैलाली फर्किन् । कार्यक्षेत्रमा पुगेपछि कन्चनपुर जिल्ला कमिटीमा रहनेगरी कार्यक्षेत्र तोकिएको रहेछ । आफ्नो क्षेत्रमा कृयाशील रहँदा रहँदै २०५८ को अन्ततिर उपचारको निमित्त लखनउ आउँदा भेट भयो । आन्दोलनको समग्र विकासको क्रमसंगै स्थानीय नेतृत्वको पनि विकास भएकै थियो । अब अन्य जिल्लाहरुबाट यहाँको नेतृत्व लिईरहन पर्ने स्थितिको करिब करिब अन्त्य भएकोले यसपाली बाँके, बर्दिया वा दाङ मध्य कुनै एक जिल्लामा सरुवा हुने ईच्छा रहेको कुरा आमासंग भएको रहेछ ।

२०५९ मा असार २९ गते म पक्राउ परेको थाहा पाएपछि आमालाई भेट्ने, उपचारको फलोअप पछि कार्यक्षेत्र सरुवा गराउने हेतुले निस्कँदै गर्दा सुनिता सहित ३ जनालाई २०५९ असोज २४ गते शाही सेनाले पक्राउ गरेछ । उनिहरु वास बसेको सेल्टरवालाले नै शाही सेनालाई सुटुक्क रिपोर्ट पुर्याएकाले उनिहरु पक्राउ परेका रहेछन । ‘पक्राउ पछि २६ गते नजिकै रहेको झलारी प्रहरी चौकिले तिन फायर गरेको आवाज सुनिएको थियो, वहाँहरुलाई नै मारेको आशंका छ’ भन्ने त्यहाँको पार्टीको रिपोर्ट थियो । प्रहरी चौकिले पक्राउ गरेकोरमारेको सार्वजनिक नगरेकोले वेपत्ताहरुको लिष्टमा नाम राखेर सबै वेपत्ता योद्धाहरुको सार्वजनिकिकरणको लागि तमाम आन्दोलनहरु भए । तत्कालिन शाहीसत्ताले त सुनेन सुनेन, योद्धाहरुकै ऊच्चउत्सर्गको जगमा स्थापित संघीय लोकतान्त्रिक गणत्त्र नेपालको नेकपाको सरकारबाट समेत आशातित पहल देखिएको छैन । साढुभाई-सालीले छोरीलाई आश्रय दिएकै कारण ठुलो छोरी र जुवाईं ज्योती-प्रकास पराजुलीले तत्कालिन शाहीसेनाको मेजर अजितको बर्बर कोपभाजनबाट बल्लतल्ल छुट्कारा मिल्यो । संघर्षशील परिवारको सदस्यको नाताले हामी वाबु छोरीलाई मात्र नभएर सिंगोपरिवार शाहीसत्ताको टार्जेटमा थियो नै । मलाई नभेटे पछि छोरो दिपकलाई सताउने, पक्राउ गरेर बेपत्ता पार्ने तथा सम्पति कब्जा गर्ने (जो अद्यब्धि कब्जामा नै छ) जस्तो घोर अमानवीय यातना दिनथाल्यो । यातना दृष्टिले मभन्दा छोराले बढी खप्न वाध्य भयो ।

जेहोस हामी मृत्युलाई मुक्तिको रुपमा ग्रहण गर्ने बुझाईले ओतप्रोत कफन ओढेर निस्केकै थियौं । संयोगले हामीलाई उछिन्दै परिवर्तनको निमित्त जिवन उत्सर्ग गरेका हजारौं सहिद, वेपत्ताहरुको लाममा सामेल भएर भौतिक रुपमा छोरी जुवाँईं दुवैजना (दम्पति) हाम्रो विचमा रहनु भएन । तथापि निशानीको रुपमा आमाकै अनुहारको फोटोकपि जस्तै छोरी (नातिनी सुलेखा पि.सि) हामी विच नै छिन ।

परिणामतः सामन्तवादको जरो उखेलिएर आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल संस्थागत भएको छ । यदाकदा परिवर्तित उल्लासपुर्ण समारोहमा भागलिंदै गर्दा पर बाटो तिर आउँदै गरेको तिम्रै झल्को दिने पहिरनले सज्जित आकृतिले भ्रमित भएर झझल्किंदा गह्रुंगो छाति लिएर गहँभरी आँसु टलपलाउन खोजे पनि न्यापुर्ण समतामुलक समाज निर्माणको बाटोमा प्रदर्शित सहास र उच्चउत्कर्षले जिवन पर्यन्त गर्विलो ईतिहास रचेको प्रति गर्वानुभुति सहित जारी यात्राकै विचबाट हार्दिक श्रद्धाञ्जली एवं गहीरो स्मृत्याञ्जली !!